आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पानीमाथि वडा कार्यालय,बोटिङको आनन्दसँगै सेवा प्रवाह

बिहीबार, ०६ माघ २०७८, १८ : ००
बिहीबार, ०६ माघ २०७८

रुपन्देहीको तिलोत्तमा  नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

तिलोत्तमा नगरपालिकाले-११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । 

वडा कार्यालयको एक समारोहका  बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो ।

करिब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का सम्झौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदिप वनले जानकारी दिए ।

यसले सेवा प्रवाह मात्र नभै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख  वासुदेव घिमिरेले बताए । ‘अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्’ उनले भने । 

वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकहरुको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा  कार्यालय भवन  निर्माण गरिएको हो । ‘कार्यालयमा आउने सेवाग्राहरूबाट आन्तरिक पर्यटनको पनि प्रवर्द्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङ समेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्‍याउँछ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप