शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, आगामी तीन दिन यस्तो हुनेछ मौसम

बिहीबार, ०६ माघ २०७८, १६ : १४
बिहीबार, ०६ माघ २०७८

मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशभर आंशिक बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

यस्तै, शुक्रबार दिउँसो देशभर आंशिक बदली रहने, हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उसका अनुसार राति देशभर आंशिक बदली रहने, पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप