शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा कोरोनालाई मौसमी फ्लूजस्तै व्यवहार गर्न माग बढ्दै

बिहीबार, ०६ माघ २०७८, १३ : ०४
बिहीबार, ०६ माघ २०७८

जापानमा कोभिड १९ को महामारीलाई एन्डेमिक (महामारीको अन्त्य) को रूपमा लिन दबाब बढ्न थालेको छ । मानिसहरू महामारीको प्रतिबन्धबाट वाक्क भएको अवस्थाका साथै खोपको उपलब्धता सहज र मृत्युदर कम हुँदै गएको अवस्थामा अब सामान्य जीवनमा फर्कनुपर्ने आवाज चर्को रूपमा उठ्न थालेको हो ।
तथ्याङ्कलाई आधार मान्ने हो, ओमिक्रोनबाट पहिलेका भेरियन्टको तुलनामा कम जोखिम रहेको देखाइरहेको अवस्थामा टोकियोका गभर्नरदेखि पूर्व प्रधानमन्त्री सिञ्जो अबेसम्मले भाइरसको कानुनी मान्यतालाई घटाउन सङ्केत गरेका छन् । यो परिवर्तनले कोरोनाभाइरसलाई सामान्य रुघाखोकी (फ्लू) जस्तै मान्यता दिनेछ ।

यो बहस जापानमा मात्र नभएर विश्वभर नै भइरहेको छ, विशेष गरेर पश्चिमा मुलुकहरूमा । हालै मात्र एक रेडियो अन्तरवार्तामा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युरोपले अब भाइरसलाई जीवनको एक हिस्साको रूपमा मान्नुपर्ने बताएका थिए । ओमिक्रोन व्यापकरूपमा फैलिरहे पनि भारतदेखि बेलायतसम्मले लकडाउन फर्कन आनाकानी गरिरहेका छन् ।

महामारी सुरु भएपछि एसियाली मुलुकहरूमा लकडाउनका कडा नियमहरू लागू गरिएका थिए । तर, जापानमा भने कहिले आधिकारिक रूपमा लकडाउन लागू गरिएन । किनभने त्यहाँको संविधानमा सङ्कटको बेलामा आपत्कालीन उपाय अवलम्बन गर्न दिँदैन । सङ्क्रमण बढिरहँदा पनि जापानले चीनजस्तै कडा नियम लागू गरेन । जापानमा मात्र व्यवसायको समय कम गर्न र खोप लगाउन आग्रह मात्र गरिएको थियो ।

कोभिडको तहलाई कम गर्ने हो भने जापानका बिरामीहरूलाई स्वास्थ्य स्रोतको पहुँचमा तत्कालै प्रभाव पर्नेछ । किनभने जापानका धेरै अस्पतालमा सङ्क्रामक रोगको उपचारका लागि उपकरण नहुँदा बिरामीहरूले उपचार पाइरहेका थिएनन् ।

यसका बाबजुद प्रधानमन्त्री फुमियो किसिडाले अझै सावधानी अपनाउन आग्रह गरेका छन् । गत हप्ता मात्र उनले ओमिक्रोनलाई एन्डेमिक करार गरेर तह घटाउन अहिले नै चाँडो हुने पत्रकारहरूलाई बताएका थिए ।

मंगलबार जापानमा ३० हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । यसमध्ये गम्भीर बिरामीको सङ्ख्या १८ जना मात्र रहेको राष्ट्रिय सञ्चार माध्यम एनएचकेले जनाएको छ । यता सर्वसाधारण पनि भाइरसलाई जापानबाट बाहिर नै राख्न चाहन्छन् । गत नोभेम्बरमा सरकारले विदेशीलाई देशमा प्रवेश गर्नबाट रोक्ने निर्णय गर्दा गरिएको सर्वेक्षणमा ९० प्रतिशत जनताले उक्त निर्णयलाई समर्थन गरेका थिए ।

यसका बाबजुद कोरोनाभाइरसको तह घटाउनका लागि आवाजहरू बिस्तारै मुखर हुन थालेका छन् । उक्त आवाजमा पूर्वप्रधानमन्त्री अबे सबैभन्दा हाई प्रोफाइल व्यक्ति हुन् । ‘हामीले किन अब यो वर्ष कोरोनाभाइरसको कानुनी अवस्था नबदल्ने ?, उनले भने, ‘हामी ओमिक्रोनका बारे सावधान हुनुपर्छ तर यदि औषधी र खोपले रोगलाई गम्भीर बन्नबाट रोक्न सक्छ भने त्यसलाई मौसमी फ्लू जस्तै किन व्यवहार नगर्ने ?’ -अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप