शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल

बिहीबार, ०६ माघ २०७८, १२ : ४५
बिहीबार, ०६ माघ २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । आज कुराकानी गर्दै उनले भने, ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैंठकमा लैजान्छौं ।”

जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ । कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ । 

पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ । सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए । अस्पताल परिषरमा कुरुवा घर समेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताए ।

महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्शा, प्राविधिक (नापी कर्मचारी) को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो ।

महानगर प्रमुख दाहालले भने, “यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्न सहयोग पुग्ने छ ।”  शिक्षक अस्पतालपछि शिक्षाण अस्पताल हुने उनको भनाइ छ । अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ । भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिए ।

उनले भने, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।” शिक्षा मन्त्रालयले डा.बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए ।

उनले भने– ‘अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।’ समितिले जग्गा हेर्नु पूर्व पेशागतसँग सङ्गठनसङ्ग छलफलसमेत गरेको दवाडीले जानकारी दिए । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए । दवाडीका अनुसार चार लाख भन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । 

नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्व शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्नेछ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए ।

नमूना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरुवा घरसमेत हुने बताए । चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन् । केन्द्रियस्तरको भरतपुर अस्पताल र मेडिकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुरलाई मेडिकल सिटीको रुपमा लिने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप