शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन अखिल क्रान्तिकारीको माग

बिहीबार, ०६ माघ २०७८, १२ : १६
बिहीबार, ०६ माघ २०७८

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले  माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन् । 

‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड–१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं ।’

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँका दरले, आन्तरिकतर्फको हवाइइन्धनमा प्रतिलिटर रु. ५ र अन्तर्राष्ट्रियतर्फको हवाइइन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर मूल्य बढाएको थियो । 

यस्तै क्रान्तिकारीले कोभिड–१९ सङ्क्रमित भएका र नभएकाहरुलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन नगर्न माग गर्दा प्रहरी दमन भएको भन्दै विरोध समेत गरेको छ । ‘हिमालयन ह्वाइट हाउसलगायत कलेजहरुमा समेत यस्ता गतिविधिहरु भएको हुँदा अविलम्ब त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत सबै विश्वविद्यालय मातहतका कलेजहरुमा सञ्चालन गरिने परीक्षाहरुमा कोभिड र ननकोभिडका परीक्षार्थीहरुलाई छुट्टाछुट्टै स्थानमा राखी स्वास्थ्य मापदण्ड पालना गराई परीक्षा दिने र असक्त बिरामी परी परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुको सवालमा पुनः परीक्षाको व्यवस्था मिलाउनसमेत जोडदार आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप