शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रलाई फेरि धक्का, रिलिज तयारीका फिल्म मारमा

बिहीबार, ०६ माघ २०७८, ११ : २३
बिहीबार, ०६ माघ २०७८

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ लागु गरेको छ । आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि आदेश जारी भएको हो, जसअनुसार कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ ।

कोरोना संक्रमण बढेको भन्दै सरकारले फेरि मन्त्रिपरिषदमार्फत माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरपछि बिस्तारै तङ्ग्रिने अवस्थामा रहेको फिल्म क्षेत्र सरकारको यो निर्णयले फेरि थलिन पुगेको छ भने फिल्मकर्मीमा निराशा छाएको छ ।

रिलिज स्थगित

हालै प्रदर्शनमा आएका र मिति तोकेर प्रचार प्रसार थालेका फिल्म स्मार्ट लकडाउनका कारण मारमा परेका छन् । यही कारण कतिपय फिल्मको रिलिज स्थगित भएको छ ।

गत पुस ३० गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट–३’ को प्रदर्शन रोकिएको छ । माघ १५ सम्म हल बन्द गर्ने सरकारको निर्णयसँगै फिल्मको प्रदर्शन स्थगित भएको हो । फिल्म हल बन्द गर्दा आफ्नो फिल्मलाई धेरै नोक्सान भएको निर्देशक निकेस खड्काले बताए । ‘फिल्मले राम्रो समीक्षा र उल्लेख्य दर्शक पाइरहेको थियो । हल बन्द भयो,’ निर्देशक खड्काले भने, ‘फेरि हल खुल्ने बितिक्कै फिल्म लाग्छ ।’

फिल्मबाट निर्देशकको रुपमा उनले पनि राम्रो प्रतिक्रिया पाएका थिए । ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतको अभिनय छ ।

त्यस्तै, निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट ‘पोस्टपोन्ड’ गरेका छन् । कोरोना संक्रमण दर तीव्र भएसँगै सरकारले हल बन्द गरेकाले १९ माघमा प्रदर्शन हुने तय भएको फिल्मको रिलिज हाललाई स्थगित गरिएको उनले विज्ञप्तिमार्फत जनाएका छन् । फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।

त्यसो त केही दिन अगाडि ‘प्रेमगीत ३’ को रिलिज पनि स्थागित गरिएको थियो । कोरोना संक्रमण बढेसँगै फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । १३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसार समेत सुरु गरेको फिल्मको रिलिज स्थगितले आफूलाई थप आर्थिक भार पर्ने सेनको भनाइ छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा लगायतको मुख्य भूमिका छ ।

फिल्म रिलिजमात्र होइन, सुटिङ पनि स्थगित गरिएको छ । अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ पनि स्मार्ट लकडाउनका कारण रोकिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले बताए । ‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायांकन फेरि स¥यो,’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको जानकारी गराएका छौं ।’

फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतको अभिनय रहनेछ । बलिउड अभिनेता सुनिल सेट्टीको पनि यसमा अभिनय रहने चर्चा छ ।

‘पर्ख र हेर’को अवस्थामा निर्माता/निर्देशक

प्रदर्शन मिति तोकेका केही फिल्म कोरोनाको तेस्रो लहरका कारण स्थगित भए पनि केही भने ‘पर्ख र हेर’को अवस्थामा छन् । समयमै कोरोना नियन्त्रण भयो र माहोल बन्ने भन्दै केही निर्माता रिलिज मिति तोकिएका फिल्मको प्रचार प्रसार गरिरहेका छन् । फिल्मी माहोल बने चैत ४ मै ‘चिसो एष्ट्रे’ फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ । सोही कारण पनि प्रचार प्रसारका लागि उक्त फिल्मको एक गीत हालै सार्वजनिक गरिएको छ । महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्म कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा बनेको हो ।

त्यस्तै अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ पनि पर्ख र हेरको अवस्थामा छ । केही दिन अगाडि टिजर सार्वजनिक गर्दै फिल्मले वैशाख १ रिलिज मिति तोकेको थियो ।

अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्म ‘कौसिद’ले पनि टिजर सार्वजनिक गरेर प्रचार प्रसार थालेको छ । कुमार भास्करको निर्देशन रहेको फिल्मको रिलिज मिति कोरोनाकै कारण तोक्न सकिएको छैन । निर्देशक भास्करले फिल्म प्रदर्शनको तयारी भइरहेको बताए । फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षितविक्रम राणालगायतको अभिनय छ ।

२८ माघ रिलिज मिति तोकिएको फिल्म हो ‘मन्त्र’ । कोरोना सामान्य भयो र फिल्म हल खुल्यो भने निर्धारित समयमै फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको छ । कोरोनाको कारणले ‘मन्त्र’ युनिट पर्ख र हेरको अवस्थामा रहेको प्रचारप्रसार संयोजक रघुनाथ सापकोटाले बताए ।

फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैतमा आउने फिल्म हो । फिल्मले प्रचार प्रसार समेत थालिसकेको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ समय अनुकुल रहे निर्धारित मितिमै प्रदर्शन हुने निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । महँगो लगानीमा निर्माण भएको फिल्मको निर्माता हिराल जोशी र बिक्रम डि जोशी हुन् । फिल्मको रिलिज मिति पाउन पनि निकै गाह्रो भएको भन्दै मिति सार्न हतारो नगर्ने निर्माण युनिटको भनाइ छ । फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्कीलगायतको अभिनय छ ।

फागुन २७ रिलिज मिति तोकिएको फिल्म हो ‘आकासे खेती’ । फिल्म फष्टलुकको पनि गीत धमाधम सार्वजनिक गर्दै प्रचार प्रसार भइरहेको छ । गौरव पहारी, विल्सन विक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, निता ढुङ्गानालगायतको अभिनय रहेको फिल्म उदय सुब्बाले निर्देशन गरेका हुन् । निर्देशक सुब्बा माहोल बने फागुनमै ‘आकासे खेती’ रिलिज हुने बताउँछन् ।

अस्ट्रेलियामा निर्माण भएको फिल्म ‘पर्पला’ ले पनि केही दिन अगाडि फष्टलुक सार्वजनिक गर्दै प्रचारप्रसार थालेको छ । थ्रिलर जनरामा निर्माण भएको फिल्म अस्ट्रेलियामा बस्ने नेपालीको जीवनमा घटेका केही घनाक्रमबाट प्रेरित छ । लेखक तथा निर्देशक मनोज अधिकारी रहेको फिल्मलाई कलाकार भानुप्रतापले बनाएका हुन् । महोल बने फिल्म फागुन/चैतमा रिलिज गर्ने निर्माता भानुप्रताप बताउँछन् । ‘पर्पला’ का मुख्य कलाकार अभिनेता पुकार गौतम र निखिला बुढाथोकी हुन् ।

सुटिङमा समस्या छैन

स्मार्ट लकडाउनका कारण फिल्म रिलिज स्थगित भए पनि छायांकनमा भने खासै अवरोध पुगेको छैन । स्मार्ट लकडाउनमै केही फिल्म छायांकन भइरहेका छन् भने केही मुर्हूत गरेर फ्लोरमा निस्कने तयारी गर्दैछन् ।

अभिनेत्री निशा अधिकारी ४ वर्षपछि फिल्म सेटमा फर्किएको ‘म’ काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्ममा निशाको अलावा नरेन खड्का, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी लगायतको अभिनय रहनेछ ।  फिल्म पुस ११ गतेबाट फ्लोरमा छ । फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

त्यस्तै अभिनेता दयाहाङको मुख्य भुमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’ को छायांकन भोजपुरका विभिन्न स्थानमा भइरहेको छ । नवीन सुब्बाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ र पशुपति राईको मुख्य भूमिका छ । फिल्मको सुटिङ अझै केही दिन जारी रहने अभिनेता दयाहाङ राईले बताए ।

फिल्म ‘लाखे’को पनि काठमाडौमै धमाधम सुटिङ भइरहेको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्मको हरि मल्ल ठकुरी कार्यकारी निर्माता हुन् । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउतलगायतको मुख्य भुमिका रहनेछ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्म गत २७ गते कमलादी गणेश मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको थियो ।

फिल्म ‘मीरा’ को केही दिनमै छायांकन सुरु हुँदैछ । रोशन कुमारको निर्देशन रहने फिल्मको मंगलबार गुहेश्वरी मन्दिरमा शुभमुहूर्त भएको थियो । फिल्ममा रजिना अर्याल, रमेश क्षेत्री, प्रेम बस्याललगायतको अभिनय रहनेछ । स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फिल्म फ्लोरमा निस्कने निर्देशक रोशनकुमारले बताए ।

यी केही उदाहरण हुन् । यस्ता अरु फिल्म पनि छन्, जो फ्लोरको तयारी गर्दैछन् । हलहरु बन्द गर्ने सरकारको निर्णयले सुटिङ गर्न हुने हो वा होइन भन्ने अन्यौलका कारण कतिपय अलमलमा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने सरकारले फिल्मको सुटिङ रोक्ने विषयमा कुनै निर्णय नगरेको बताए । ‘स्वास्थ्य मापदण्ड अपनाएर फिल्म छायांकन गर्न सकिनेछ,’ दाहालले भने, ‘२५ जनाको मापदण्ड पूरा गरेर सुटिङ गर्न सकिनेछ । कोरोनाका लागि मन्त्रिपरिषदले गरेका निर्णय भने पालना गर्नुपर्नेछ ।’

थोरै युनिट राखेर फिल्म छायांकन गर्न सबैमा दहालले अनुरोध गरे ।

हल व्यवसायी निराश

कोरोनाको पहिलो र दोस्रो लहरले लामो समयदेखि बन्द रहेका फिल्म हल गत दसैँ अर्थात् असोजमा खुलेको थियो । हल खुलेसँगै केही नेपाली फिल्म रिलिज भए पनि हलमा दर्शक फर्काउने काम भने गत पुस २ मा रिलिज भएका दुई विदेशी फिल्म ‘पुष्पा’ र ‘स्पाइडर म्यान : नो वे होम’ले गरेका थिए ।

त्यसपछि रिलिज भएका फिल्म ‘चुरीफुरी’, ‘कठपुतली’ ले राम्रो दर्शक पाए । गत शुक्रबार रिलिज भएको ‘चपली हाइट ३’ ले पनि राम्रो दर्शक पाइरहेको थियो । यसले हलवालामा पहिले झैं फिल्म क्षेत्र फर्किने उत्साह भरेको थियो। त्यो उत्साह धेरै दिन टिक्न सकेन । सरकारले हल बन्द गर्ने निर्णय गरेसँगै हल व्यवसायी निराश बनेका छन् ।

माघ १५ गतेसम्म हल बन्द गर्नु पर्दा आर्थिक नोक्सानी भए पनि यसलाई आफूहरुले सामान्य रुपमा लिएको चलचित्र प्रदर्शक संघका उप–महासचिव गोपालकाजी कायस्थले बताए । ‘माघ १५ गतेसम्म हल बन्दमात्र भयो भने केही फरक पर्दैन,’ कायस्थले भने, ‘हामी फेरि पहिलेको लयमा फर्किसकेका छौं । बन्द लम्बियो भने तनाव हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप