ad
x

प्रेरक प्रसङ्ग : सम्मान गर्न जान्नेले नै सम्मान पाउँछन्

person explore access_timeमाघ ६, २०७८ chat_bubble_outline0

प्राय हामीलाई के लाग्छ भने आफूलाई सबैले राम्रो भनून्, सहयोग गरून्, सम्मान गरून्, माया, स्नेह र सद्भाव राखून् तर के बिर्सन्छौं भने अरूले त्यस्तो भनिदिन वा अरूबाट त्यस्तो व्यवहार पाउन आफूले पनि अरूप्रति गर्नुपर्ने व्यवहार त्यस्तै हुनुपर्छ । अरूबाट माया पाउन आफूले पनि अरूलाई माया गर्नुपर्छ, माया गर्न सक्नुपर्छ । सम्मान पाउन सम्मान गर्नुपर्छ, सम्मान गर्न सिक्नुपर्छ, सक्नुपर्छ । सयोग, सद्भाव र सहकार्यको अवस्था पनि त्यस्तै हो । सहयोग हात बढाए जड प्राणी पनि सहयोग गर्न तत्पर हुन्छन्, तत्पर भइरहेका हुन्छन् । अन्यथा नजिककै आफन्तहरूसमेत मुन्टो बटारिरहेका हुन्छन्, बटार्न पुगिरहेका हुन्छन् । सहयोग हात बढाएकैले बाँदर र बाघभालुले समेत सहयोग गर्ने गरेका उदाहरण धेरै छन् ।


संसार पैँचो हो, जे दिइएको छ त्यही फिर्ता पाइन्छ । पिठो दिए पिठै पाइन्छ चिनी दिए चिनी नै पाइन्छ । पिठो लिनेले चिनी फिर्ता फिर्ता गर्दैनन्, दिँदैनन् । स्नेह, सयोग, सद्भाव र सम्मान दिने गरेको भए त्यही पाइन्छ, घृणा र तिरस्कार गर्ने गरिएको भए त्यही नै फिर्ता हुन्छ । प्रकृतिको नियम नै के छ भने जे रोपिएको छ त्यही फल्ने गर्छ । अमृत रोपे अमृत नै फल्छ बिष रोपे बिष नै फल्छ । 



धेरै पहिलेको कुरा हो, एकपटक एउटा केटाले आमासँग झगडा गरेछ । रिसको झोकमा आमालाई भन्नु पनि भनेछ, नभन्नु पनि भनेछ । अति भएपछि आमाले पनि रिसाएर गाली गरिछिन्, हुन सक्छ एकदुई थप्पड पनि लगाइन् होला । बच्चा ज्यादै सरारती भएपछि आमाहरूले गर्ने त्यही हो । किनकि उनीहरूलाई बच्चा बिग्रन्छ कि भन्ने डर हुन्छ । जे होेस् आमाले पनि गाली गरेपछि केटो रिसले चूर भई जङ्गलतिर लागेछ र अनकन्टार स्थानमा पुगेर भनेछ–



‘मलाई तिमी मन पर्दैन ।’



सुनसान जङ्गलमा उताबाट त्यस्तै जबाफ आएछ–



‘मलाई तिमी मन पर्दैैैन ।’



केटोले थप रिसाएर भनेछ–

‘तिमी खराब छौ ।’

उताबाट पनि त्यस्तै जबाफ आएछ–

‘तिमी खराब छौ ।’

केटोले अझ रिसाएछ भनेछ–

‘तिमी को हौ मलाई खराब भन्ने ?’

उताबाट पनि त्यसै भनिएछ–

‘तिमी को हौ मलाई खराब भन्ने ?’

त्यसपछि केटोलाई रिस थामिनसक्नु भएछ र यसलाई आज ठीक नपारी छाड्दिन भन्दै घरमा गएर आमासँग लठ्ठी माग्न थालेछ । यतिबेलासम्म उसले आमासँगको झगडा बिर्सिसकेको थियो किनकि त्योभन्दा बढी रिस आफूलाई जिस्क्याउने जङ्गलको केटासित उठिसकेको थियो । छोराको व्यवहार देखेर आमालाई शङ्का लागेछ र कारण बुझ्न खोज्दै  भनिछिन्–

‘केही छैन बाबु ! एकछिन पर्ख, लठ्ठी पाउनेछौ तर पहिले यो त बताऊ लठ्ठी किन चाहियो ?’

छोराचाहिँले मुरमुरिँदै भनेछ–

‘किनकि पर जङ्गलमा एउटा बदमास केटो छ, उसलाई तह नलगाई भएको छैन ।’

आमाले आश्चर्य मान्दै भनिन्–

‘किन नि ?’

त्यसपछि छोराले दुःखित हुँदै भन्यो–

‘किन भन्ने खोइ । मैले जे भन्यो त्यही भनेर जिस्क्याइरहेको छ, त्यसैले ।’

आमाले बुझिहालिन् जङ्गलमा कोही थिएन । उसले जे भनेको थियो त्यही कुरा सुनसान स्थानमा उताबाट पनि फर्केको आभास भएको थियो । त्यसपछि उनले छोरालाई सम्झाउँदै भनिन्–

‘बाबु ! शत्रुताबाट शत्रुता मेटिन्न, झन् बढ्छ । एकपटक माया गर्छु भनेर हेर त उसले पनि त्यस्तै भन्नेछ ।’

छोराले सशङ्कित हुँदै भनेछ–

‘होइन आमा ! केटो निकै बदमास छ, उसले पनि त्यस्तै भन्छ भनेर कसरी पत्याउने ?’

त्यसपछि आमाले उसलाई लिएर गइछिन् र अघिकै स्थानमा बसेर भन्न लगाइछिन्–

‘मलाई तिमी मन पर्छ ।’

नभन्दै उताबाट पनि त्यस्तै आवाज आयो–

‘मलाई तिमी मन पर्छ ।’

फेरि आमाले छोरालाई भन्न लगाइछिन्–

‘तिमी असल मानिस हौ ।’

उताबाट पनि त्यस्तै आवाज आयो–

‘तिमी असल मानिस हौ ।’

आमाले फेरि भन्न लगाइन्–

‘म तिमीलाई माया गर्छु ।’

उताबाट पनि त्यस्तै भनिएको सुनियो–

‘म तिमीलाई माया गर्छु ।’

छोराको अनुहारमा खुसी देखेर आमाले फेरि भन्न लगाइन्–

‘तिमीलाई साथी बनाउन चाहन्छु ।’

उसले पनि त्यस्तै भन्यो–

‘तिमीलाई साथी बनाउन चाहन्छु ।’

त्यसपछि आमा छोरा दुवै खुसी हुँदै घर फर्केछन् । यो एउटा दृष्टान्त हो । वास्तवमा हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ ।

भाइबहिनीहरूले लङ्काका राजा रावण र विभीषणको नाम सुनेकै हुनुपर्छ । नसुनेका भए पनि अरूलाई सोधेर सुन्न सक्छौ । उनीहरू दाजु भाइ दिए । रावण दाजु थिए विभीषण भाइ । रावण घमण्डी र अहङ्कारी थिए । कसैलाई पनि गन्दैनथे, कसैमाथि पनि राम्रो व्यवहार गर्दैनथे तर अरूले भने आफूलाई राम्रो व्यवहार गरून् भन्ने चाहन्थे । यसमा जोजसले अन्यथा गर्थे उनीहरूलाई सजाय दिन्थे । कतिको ज्यान लिन्थे कतिलाई देश निकाला गर्थे । आफूले भने बमोजिम नगरेको भन्दै आफ्नै भाइ विभीषणलाई समेत देशबाट निकाला गरेका थिए । जोजसले मान्थे त्यो पनि केबल देखावटी मात्र थियो । अगाडि पर्दा डरले माने जस्तो गर्थे पछाडि पर्ने बित्तिकै यस्तो र त्यस्तो भनेर कुरा काट्ने गर्थे । उनकै श्रीमती मन्दोदरीसमेत उनको पक्षमा हुन सकेकी थिइनन् ।

यस्तै खराब व्यवहारका कारण त्यति ठूलो पराक्रमी भएर पनि उनले रामको हातबाट दण्डित हुनुपरेको थियो तर विभीषण भने सज्जन थिए । सबैको भलो र उन्नति चाहन्थे । अरूको ईष्र्या गर्न त जानेकै थिएनन् । सकेसम्म सबैको सहयोग गर्थे नसके पनि असहयोग चाहिँ गर्दैनथे । त्यसैले आफ्नै दाजुले देश निकाला गरेका भए पनि उनकै शत्रु रामले शरणमा लिएर उनको रक्षा गरेका थिए ।

अब त भाइबहिनीहरूलाई पनि अरूबाट माया, स्नेह, सहयोग र सम्मान पाउन आफूले पनि कस्तो व्यवहार गर्नुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भयो होला होइन ?

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।