शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजार ३८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

प्रोटोकल पालना गर्न सर्कुलर
बिहीबार, ०६ माघ २०७८, ०६ : ५६
बिहीबार, ०६ माघ २०७८

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । त्यस्तोमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन् । 

अहिले, सशस्त्र प्रहरीमा २ सय २१ जनामा सङ्क्रमण देखिएको छ । सशस्त्र प्रहरीका डिआईजी तथा प्रवक्ता मन्दिप श्रेष्ठ पनि कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा छन् । 

नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सिमानामा पूर्व सावधानीका लागी अनिवार्य मास्क लगाउन र नेपाल प्रवेश गर्नेहरूका लागी सूचना दिने गरी मास्क लगाउनेबारे फ्लेक्स बोर्ड राखेको छ । सबै जिल्लाका स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर जतिसक्दो चाँडो खोपको व्यवस्थापन गर्न देशभरका कमान्डरहरूलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । 

त्यस्तै, तत्काल नयाँ तालिम सञ्चालन नगर्न र सरकारले तोकेको ‘कोभिड प्रोटोकल’ पालना गर्न आन्तरिक सर्कुलर गरिएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ । बलम्बुस्थित एपीएफ अस्पतालले नयाँ भेरियन्टको लक्षण र त्यसबारे बच्ने उपायबारे पनि लिखित परिपत्र गरेको छ । 

५०४ जना प्रहरीमा सङ्क्रमण पुष्टि 

सुरक्षा संगठनमध्ये सबैभन्दा धेरै कोरोना सङ्क्रमण नेपाल प्रहरीमा फैलिएको छ । तेस्रो लहर सुरु भएसँगै बुधवार साँझसम्म ५ सय ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । नेपाल प्रहरी अस्पतालमा मात्र ६० जना स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

पूर्व सावधानीका लागी प्रहरीले ड्युटीमा हुने बाहेक अरूलाई भिडमा नजान र अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न आन्तरिक सर्कुलर गरेको छ । ‘ड्युटी परेको समयमा प्रोटोकल पालना गरेर परिचालित हुन् र अरू समयमा भिड हुने ठाउँमा नजान सर्कुलर गरेका छौँ’ प्रहरी प्रवक्ता केसीले भने–‘चलिरहेका आधारभूत तालिमहरू बाहेक एडभान्स लेभलका नयाँ तालिम सञ्चालन गर्दैनौँ ।’ 

अहिले जारी रहेका एडभान्स लेभलको तालिममा पनि २५ जना सम्मको सङ्ख्या र अनिवार्य स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गरिएको केसीले बताए । सबै तालिममा प्रोटोकल पालना गरेर प्रशिक्षार्थीलाई आवासीय व्यवस्था गर्न सर्कुलर गरिएको छ । 

३१३ सैनिक आइसोलेसनमा 

नेपाली सेनामा ३ सय १३ जना सैनिकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा कोरोना पुष्टि हुने सैनिकको सङ्ख्या बढेपछि जंगी अड्डाले थोरै जनशक्तिबाट सैनिक गतिविधि सञ्चालन गर्न मातहतलाई सर्कुलर गरेको छ । 

नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यका सहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको थियो । सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको छ । 

पहिलो र दोस्रो लहरमा जे पूर्व तयारी थियो अहिले त्यसैलाई निरन्तर गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । उनले भने–‘थोरै जनशक्तिबाट अफिस सञ्चालन गरेका छौँ,डब्लुएचओ र नेपाल सरकारले तयार गरेको प्रोटोकल पालना गरेर काम गरेका छौ. ।’ 

सङ्क्रमित ३ सय १३ सैनिकहरूलाई हस्पिटल, क्वारेन्टिन र होम आइसोलेसनमा राखिएको सैनिक प्रवक्ता सिलवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप