शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिविरमार्फत ४६२ अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता

बुधबार, ०५ माघ २०७८, २१ : ५९
बुधबार, ०५ माघ २०७८

खोटाङको साकेला गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ताको दोस्रो त्रैमासिक किस्ता वितरण गरेको छ । शारीरिक अशक्तताका कारण बैंकसम्म पुग्न कठिनाइ बेहोरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको सुविधाका लागि गाउँपालिकाले ५ वडाको ६ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर सबै खालका सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

गत २८ पुसदेखि ५ माघसम्म सञ्चालन गरिएको भुक्तानी शिविरबाट ४६२ जना लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । 

गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८–७९ मा दोस्रो त्रैमासिक किस्ता पाउने लाभग्राहीको संख्या १ हजार २११ रहेको छ । उनीहरूका लागि १ करोड १३ लाख ५६ हजार ९०७ रुपैयाँ रकम निकासा भएको थियो । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दै आएको छ । चालु आर्थिक वर्ष गत असोजमा बैंकमार्फत प्रथम त्रैमासिक किस्ता वितरण गरेको गाउँपालिकाले दोस्रो त्रैमासिक किस्ता भने वडामा पुगेर वितरण गरेको हो ।

एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असीम इङ्नामकै सहभागितामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक किस्ता वितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ताका लागि हिँडेर बैंकसम्म पुग्न नसक्ने, बैंकमा पुगेर घण्टौंसम्म लाइनमा उभिनुपर्ने, आउजाउ गर्दा समय लाग्ने झन्झटबाट सामाजिक सुरक्षाभत्ताका लाभग्राही लाभान्वित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

३५० ज्येष्ठ नागरिकलाई लट्ठी     

त्यस्तै साकेला गाउँपालिकाले ७० देखि ७५ वर्ष उमेर समूहका ३५० ज्येष्ठ नागरिकलाई लट्ठी वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता वितरणका लागि वडा–वडामा सञ्चालन गरिएको शिविरमार्फत महिला विकास शाखाको आयोजनामा ज्येष्ठ र अशक्त नागरिकलाई लट्ठी वितरण गरिएको हो ।

महिला विकास शाखाको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७८-७९ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लट्ठी वितरण गरिएको महिला विकाश शाखा प्रमुख निर्मला रिजालले बताइन् । गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का लगायतले ज्येष्ठ नागरिकलाई लट्ठी वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप