शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश नामकरणले शहीदको सपना साकार भयो: मुख्यमन्त्री लालबाबु राउत

शहीद परिवारलाई ३/३ लाख रुपैयाँ प्रदान
बुधबार, ०५ माघ २०७८, १८ : ३०
बुधबार, ०५ माघ २०७८

मधेस आन्दोलनका क्रममा शहीद परिवारलाई मधेस सरकारले जनही ३/३ लाख रुपैयाँ प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मधेस सरकारले बलिदानी दिवस मनाउने क्रममा सो रकम शहीद परिवारलाई वितरण गरेको हो ।

बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसका अवसरमा शहीद परिवार तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गठन गरेको मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३/३ लाख रुपैयाँ र सम्मानपत्र पनि वितरण गरेका थिए ।

यस अवसरमा मधेस आन्दोलनका ५९ जना शहीदका परिवारलाई ३/३ लाख रुपैयाँका दरले प्रदान गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस आन्दोलनका जिउँदो शहीदका रूपमा रहेका पर्साका मन्सी पटेलसहित घाइते तथा अंगभंग भएकाहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो । घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको मन्त्री साहले बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको भन्दै उनले यस प्रदेशको नाम पनि मधेस रहेको बताए । उनले मधेस आन्दोलनका क्रममा शहीद भएकाहरूको सपना मधेस प्रदेश रहेको उल्लेख गर्दै उनले शहीदको सपना पूरा भएकोमा खुसी समेत व्यक्त गरे ।

उनले मधेस आन्दोलनका शहीद परिवारलाई सरकारले रोजगारको व्यवस्था समेत मिलाएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘रोजगारबाट वञ्चित रहेका परिवारलाई भरणपोषण बापत मधेस  सरकारले मासिक २१ हजार रुपैयाँ दिने व्यवस्था गर्न लागेका छौँ ।’

मधेस सरकार मधेस आन्दोलनको भावना अनुरूप अघि बढ्दै आएको उल्लेख गर्दै  मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समावेशी समानुपातिक व्यवस्था त्यसकै उपज रहेको बताए । आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं  मधेसी सहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको यस कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु  यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य मनिष सुमन सहितको वक्ताहरूले बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप