शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८’ सुरु

बुधबार, ०५ माघ २०७८, १७ : ५५
बुधबार, ०५ माघ २०७८

रुपन्देहीको शंकरपुरमा राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा मंगलबारबाट उक्त कार्यशाला सुरु भएको हो ।

नृत्य निर्देशक नविन्द्र राईको साकेला नृत्य नृत्य प्रशिक्षणसहित सुरु भएको कार्यशालामा ओम प्रकाश बस्नेतले राजवंशी समुदायको हुदु दुरा नृत्य पनि सिकाएका थिए ।  कार्यशालाको मंगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानून, महिला बालबालिका, जेष्ठ नागरिक तथा संस्कृति मन्त्री रमा घर्तीमगरले उद्घाटन गरेकी थिइन् । 

८ माघसम्म चल्ने कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले बताए । उनका अनुसार कार्यशालामा ७ वटै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकारहरुले सहभागी भएका छन् । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफुहरुले नेपाल भरका नृत्यकारहरुलाई एकै थलोमा ल्याएको बताइन् । 
सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफुले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे । उनले आफ्नो प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता उपयोगी मुलक कार्य गर्ने बताए ।  

यस्तै प्रदेश ३ बाट भक्तपुरको राजारानी नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत हुनेछ । प्रदेश ३ बाटै सुरेन्द्र देसार ललितपुरको धिमे, घिन्तामै नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यशालामा गोरे गुरुङ, बमबहादुर गुरुङ, राजबहादुर गुरुङको समुहले गण्डकी प्रदेशबाट कृष्ण चरित्र, सोरठी, घाटु र कौडा नृत्यको कार्यपत्र प्रस्तुतिसँगै नृत्य प्रशिक्षण दिनेछन् ।

यो कार्यशालामा सुदूरपश्चिम प्रदेशबाट छलिया, हुड्केली नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुति कार्यक्रम रहेको सहजकर्ता राजेश थापाले जानकारी गराएका छन् । यसैगरी कर्णाली प्रदेशबाट सरँग्या, पैंस्यारु र ट्याम्कुली नृत्य प्रशिक्षणसँगै यी नृत्यको कार्यपत्र प्रस्तुत गरिने भएको छ । लुम्बिनी प्रदेशबाट अनु रजकले थारु समुदायको बड्की र झर्रा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप