शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटन अस्पतालमा ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ लागू, स्वास्थ्यकर्मी संक्रमित भएपछि थपियो चुनौती

बुधबार, ०५ माघ २०७८, १३ : ४५
बुधबार, ०५ माघ २०७८

पाटन अस्पतालमा ७० भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार संक्रमणलाई मध्यनजर गर्दै पहिलो, दोसो लहरमा जस्तै तेस्रो लहरमा पनि अस्पतालले इन्सिडेन्ट कमान्ड सिस्टम अर्थात् विपत व्यवस्थापन प्रणाली लागू गरेको छ ।

अस्पतालले विपत् व्यवस्थापन सम्बन्धि पूर्वतयारी गरेकाले आत्तिई हाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । डा शाक्यले भने, ‘कुनै कुनै  वार्ड १५ जना काम गर्छन् । जसमा ८/९ जना कोरोना संक्रमित भएपछि कामको भार भने थपिएको छ ।’

हाल पाटन अस्पतालमा ५० जना कोरोना संक्रमित भर्ना भएका छन् । त्यसो त संक्रमण दर न्यून हुँदा पनि पाटन अस्पतालमा ३० जनासम्म संक्रमित बिरामी भर्ना हुने गरेको डा. शाक्यले जनाए । १० दिनसम्म होम आइसोलेशनमा बसेका त्यहाँका स्वास्थ्यकर्मीमा ज्वरो, रुघाखोकी, शरीर दुख्ने लक्षण देखिएपनि स्वास्थ्यमा गम्भीर समस्या भने नदेखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको तयारी

निर्देशक डा. शाक्यका अनुसार संक्रमित बिरामीको दर बढेमा बेड सङ्ख्या बढाउँदै लैजाने योजना छ । पाटन अस्पतालमा बिरामीका लागि आवश्यक औषधिको स्टोर, पिपिई, स्वास्थ्य पूर्वाधार, अक्सिजन तयारी अवस्थामा राखिएको छ । अस्पतालकै अक्सिजन प्लान्टबाट ठूलो सिलिन्डरको दैनिक २५० देखि ३२० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।

कोभिडको दोस्रो महामारीमा बिरामीका लागि पाटनमा २३० बेड छुट्याइएको थियो भने अहिले १३० बेड छुट्याइएको छ । कोभिड बिरामी बढेमा बेड सङ्ख्या बढाउने अस्पतालको योजना छ । निर्देशक शाक्यका अनुसार हाल संक्रमित भएका ७० जना भन्दा बढी स्वास्थ्यकर्मी अबको १० दिन आइसोलेशनमा बसेपछि अस्पतालमा फर्किन्छन् । त्यसपछि संक्रमित भएका अन्य टोलीलाई होम आइसोलेशनमा पठाइने छ ।

जनशक्तिको अभाव भएमा दोस्रो लहरमा जस्तै एउटा स्वास्थ्यकर्मीले धेरै काम गर्ने मोडालिटीदेखि सिनियर विद्यार्थीलाई समेत काममा खटाउने योजना बताएको डा. निर्देशक डा.शाक्यले बताए । उनले भने, ‘पुराना स्वास्थ्यकर्मी र नयाँ स्वास्थ्यकर्मीलाई कोभिड वार्डमा काम गर्न तालिम दिइरहेका छौं ।’

नन्कोभिड वार्ड निरन्तर 

स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि कोभिड र ननकोभिड वार्डको सेवा प्रवाहमा असर पर्न सक्ने अन्य अस्पतालहरुले बताइरहँदा पाटन अस्पतालले भने कुनै असर नपर्ने जनाएको छ । अघिल्ला महामारीमा जस्तै कोभिड र नन्काभिड बिरामीलाई निरन्तर सेवामा अस्पतालको तयारी रहेको निर्देशक डा. शाक्य बताउँछन् । संक्रमितको दर तीब्र रुपमा फैलिदा पनि अस्पतालमा नन्कोभिडमा उपचार गर्ने बिरामीको सङ्ख्यामा कमी आएको छैन । दैनिक नन्कोभिड वार्डमा झण्डै ४ सय बिरामी भर्ना भएका छन् भने ओपिडीमा दैनिक १२ देखि १५ सय बिरामी आउने आउने गरेको अस्पतालले जनाएको छ ।

पाटन अस्पतालको बेड क्षमता ६५० हो । प्रायः सबै बेडमा बिरामी भरिएका छन् । पाटन अस्पतालमा साता दश दिनयता पीसीआर गर्ने आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिन अघिसम्म दैनिक ६०÷६५ जनाले मात्रै गर्ने गरेकोमा हाल दैनिक ४ सय भन्दा बढी पीसीआर गर्न आएका छन् । त्यसमध्ये ७५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको निर्देशक डा. शाक्य बताउँछन् । 

खोप केन्द्र सञ्चालन गर्न गाह्रो

कोरोना विरुद्धको खोपको खोप केन्द्र अस्पतालमा राख्दा संक्रमणको जोखिम भएको अस्पतालको भनाइ छ । पाटन अस्पतालमा दैनिक २२ सय भन्दा बढी मानिस आवतजावत गर्ने भएकाले खोप केन्द्र सञ्चालन गर्दा संक्रमणको जोखिम उच्च भएको अस्पतालले जनाएको हो । खोप केन्द्र सञ्चालन सम्बन्धमा सरकार र अस्पतालबीच समन्वय नहुँदा समस्या सिर्जना भएको निर्देशक शाक्य बताउँछन् । 

पाटन अस्पतालमा ५० जना कोभिडका बिरामी भर्ना भएका छन् । ती विरामी कोभिडसँगै अन्य रोगका कारण पनि अस्पताल भर्ना भएको पाइएको छ । कोभिडकै कारण सिकिस्त भई आइसीयूमा भर्ना हुने ज्यादै न्यून रहेको एक किसिमले सुखद खबर भएको डा शाक्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप