शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा विकास बैंकहरुको नाफा २ अर्ब ५४ करोड, धेरै कमाउनेमा मुक्तिनाथ

बुधबार, ०५ माघ २०७८, १२ : ५८
बुधबार, ०५ माघ २०७८

चालू आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब माथि कमाइरहँदा यता विकास बैंकहरुले भने २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा कुल १७ विकास बैंकहरुले २ अर्ब ५४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । 

जुन अघिल्लो महिना, कात्तिक मसान्तसम्मको भन्दा १७.७६ प्रतिशतले बढी हो । गत कात्तिक मसान्तसम्म विकास बैंकहरुले कुल २ अर्ब १५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । साढे २ अर्ब बढी नाफा कमाउँदै गर्दा यता विकास बैंकहरुमा नै धेरै नाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक बनेको छ । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा ४६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यस्तै, दोस्रोमा गरिमा विकास बैंकले ३४ करोड ३३ लाख रुपैयाँ कमाएको छ भने तेस्रोमा ज्योति विकास बैंकले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकले भने नोक्सानी ब्यहोरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यता फाइनान्स कम्पनीहरुले भने समीक्षा अवधिमा कुल ५५ करोड नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये बेस्ट फाइनान्सले सबैभन्दा बढी १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गुडवील फाइनान्सले ७ करोड ७५ लाख र आईसीएफसी फाइनान्सले ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप