ad
x
कोरोनाभाइरस

‘घाँटी दुखे, ज्वरो आए पीसीआर गर्दा राम्रो, ओमिक्रोन हुन सक्छ’

‘ओमिक्रोनले लिन्छ ज्यान, लापरवाही नगरौं’

person explore access_timeमाघ ५, २०७८ chat_bubble_outline0

कोरोनाको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण द्रुत गतिमा बढिरहेको छ ।  आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो या कोभिड संक्रमण छुट्याउन सकिरहेका छैनन् । अल्का अस्पतालका चिकित्सक डा. रक्षा गौतम रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नुपर्ने बताउँछिन् । ओमिक्रोनको संक्रमण ४÷५ दिन रहन्छ भनेर लापरवाही गर्न नहुने उनको भनाई छ । प्रस्तुत छ, अल्का अस्पतालकी चिकित्सक डा. गौतमसँग गरिएको कुराकानीः


अहिले अस्पतालमा मौसमी रुघाखोकीको बिरामीको चाप कस्तो छ ?



मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका विरामीको चाप धेरै बढेको छ । गत दुई सातादेखि हाम्रो अल्का अस्पताल ओपिडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ ।



मौसमी फ्लु अनि ओमिक्रोनमा भाइरस संक्रमण उस्तै उस्तै खालको लक्षण देखिन्छ । कसरी छुट्याउने र कस्तो अवस्था भए पीसीआरका लागि जाने ?



चिसोले हुने रुघाखोकीमा बिरामीलाई ज्वरो आउँदैन । सामान्य जिउ दुख्ने, रुघाखोकी एक दुई दिनमा आफै ठिक भएर जान्छ ।  फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो ।  सबै  फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुएन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो ।



इन्फ्लुएन्जा र कोभिड फ्लुमा ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो । बिरामीको प्याटर्न हेर्दा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण कोभिडमा मात्रै देखिरहेको छ । अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षण अलि बढी हामीले ओपिडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो, टन्सिल नै भयो कि भनेर आउनुहुन्छ, हामीले पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो भन्ने अवस्था छैन, पीसीआर गर्नैपर्छ ।



मौसमी फ्लुको उपचार कसरी गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ?



मौसमी परिवर्तनले हुने कमन कोल्ड, जसमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधी प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलन मनतातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने, मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । डाक्टरकोमा गइहाल्नु पर्दैन ।



फ्लुमा चाहीँ दुई, तीन दिन ज्वरो आउँछ । पारासिटामोलको प्रयोग गर्दा पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ, छाती भारी भइराखेको छ, खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्दा अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै कमजोर हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपिडी ल्याएर डाक्टरसँग परामर्श लिनुपर्छ ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट कस्तो लापरवाही हुन्छ ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?

दुइथरी बिरामी छन् । पहिलो रुघा लाग्ने बित्तिकै आउँछन् जँचाउन । त्यसमा हामीले खासै गर्नुपर्ने हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ, रेस्ट गर्नु भन्छौँ । अर्को चाहीँ विरामी धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन, उहाँहरु अस्पताल । सास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दीर्घ रोग लागेका बिरामी हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी अस्पताल आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

संक्रमणमा हाम्रो अस्पतालमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?

कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । त्यस्तै, लक्षण सबै मिल्छ कोभिडसँग तर आरटी पीसीआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ । पोजेटिभ बिरामीमा पनि यदि माइल्ड छ, सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, औषधीहरु दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरीरमा पुगेको छैन भन्ने शंका लाग्ने बित्तिकै बिरामीलाई भर्ना गरेर, क्रिटिकल केयर तथा छाती रोग विशेषज्ञ र फिजिसियन हामी तीन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । पहिलाको जस्तो महामारीको अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि  अवस्था छैन ।

विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यक सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

राम्ररी हात धुने बानी बसालौं । स्यानिटाइजर लगाउने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा सदैव ख्याल गरौं । पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन, त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो, केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामी नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौँ । लापरवाही नगरौं ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।