‘मधेस’ मा अन्य जिल्ला पनि थप्नुपर्ने माग, सत्ता पक्ष भन्छ– बिउ जोगाइयो !
प्रदेश २ को नाम अब ‘मधेस प्रदेश’ भएको छ । सोमबार प्रदेशसभाको दुईतिहाई बहुमतले मधेस प्रदेश नाम राख्ने निर्णय गरेसँगै यसको समर्थन र विरोधमा क्रिया–प्रतिक्रिया आइरहेका छन् । कतिपयले यो निर्णयको विरोधमा मुख्यमन्त्री र सांसदहरूको पुत्लासमेत दहन गरेका छन् । सत्ता पक्षले चाहिँ मधेसको बिउ जोगाएको दाबी गरेको छ ।
प्रदेशको नामका लागि मतदान हुँदा ९९ मत खसेको थियो । त्यसमध्ये ८० मत मधेसको पक्षमा खस्यो । सत्तारुढ जसपा, माओवादी र लोसपाका ६२ सांसदहरू ‘मधेस’को पक्षमा थिए । तर, गोप्य मतदान हुँदा ‘मधेस प्रदेश’को विपक्षमा रहेका काँग्रेस, एमाले र एकीकृत समाजवादीबाट समेत १८ मत मधेसको पक्षमा थपियो । काँग्रेस र एमाले ‘मिथिला–भोजपुरा’ नाम राख्ने पक्षमा थिए भने एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ प्रस्ताव गरेको थियो ।
संविधानतः तराईका ८ वटा जिल्लालाई समेटेर बनेको प्रदेश २ लाई ‘मधेस’ नामकरण गरिएकोमा सिके राउतको जनमत पार्टीले आपत्ति जनाएको छ । त्यसैगरी मधेस आन्दोलनमा क्रियाशील कतिपयले तराईमा २२ जिल्ला ‘मधेस’ भएको बताउँदै आठ जिल्लालाई मात्रै मधेस भनिएकोमा गुनासो गरेका छन् । मधेसमा अरू जिल्लालाई पनि समेटिनुपर्ने उनीहरूको माग छ ।
सुशील कर्ण मधेस आन्दोलनका अगुवा युवा आन्दोलनकारी हुन् । मंगलबार उनको समूहले जनकपुरमा प्रदेशसभाका सदस्यहरूको पुतला जलाएका छन् । २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउने मागसहित ‘एक मधेस एक प्रदेश’का लागि मधेस आन्दोलन भएको बताउँदै उनी ८ जिल्लालाई मात्रै मधेस प्रदेश भनिएकोमा चित्त दुखेको बताउँछन् ।
नेपाली काँग्रेस हुँदै नेपाल सद्भावना पार्टीमा लामो समय राजनीति गरेर अहिले स्वतन्त्र बसेका खुशीलाल मण्डललाई पनि आठवटा जिल्लालाई मात्र मधेस घोषणा गरेकोमा चित्त बुझेको छैन । उनले भने, ‘मधेस प्रदेशकै लागि मोरङ, सुनसरी, झापा, कैलाली, कञ्चनपुर, बाँके, कपिलवस्तुमा बलिदानी दिएका थिए, तर आज आठवटा जिल्लालाई मात्र मधेस घोषणा गरेकोमा अरू जिल्लावासीलाई पीडा भएको छ ।’
उनले थपे, ‘आज मधेस प्रदेश हुँदा खुशीयालीमा आठवटा जिल्लामा बिदा दिइएको छ, लड्डु बाँडिएको छ । तर, तराई मधेसका अरू जिल्लावासीसँग कुनै मतलब छैन ।’
अब अरू जिल्लालाई पनि मधेस प्रदेशमा गाभ्न आन्दोलन हुनुपर्ने मण्डल बताउँछन् । उनी भन्छन्, ‘यो सुरुवात हो, अन्य जिल्लालाई पनि मधेस प्रदेशमा गाभ्नका लागि आन्दोलन गर्नुपर्छ ।
मधेस आन्दोलनको समयमा सक्रिय रहेका कपिलवस्तुका रामकुमार गुप्ताको पनि मधेस प्रदेशले चित्त दुखेको छ । उनी भन्छन्, ‘म स्वयं मधेस प्रदेशका लागि आन्दोलनमा होमिएको थिएँ । कपिलवस्तुमा पनि धेरैले शहादत दिएका थिए । अहिले मधेसलाई ८ जिल्लामा मात्र सीमित गरेको सुन्दा दुःख लागेको छ ।’
झापादेखि कञ्चनपुरसम्मका जनताले मधेस प्रदेशका लागि आन्दोलन गरेको तर केही दलको षड्यन्त्रपूर्ण निर्णयले आठवटा जिल्लालाई मात्र मधेस प्रदेश बनाएको भन्दै यसमा आपत्ति रहेको जनमत पार्टीका महासचिव चन्दन सिंह बताउँछन् । उनी भन्छन्, तराई मधेसका २२ वटै जिल्लालाई मधेस प्रदेश बनाउनुपर्ने भन्दै आएका छौँ र त्यसका लागि संघर्ष गरिरहेका छौँ ।’
गोरखापत्रका पूर्वप्रधान सम्पादक सीताराम अग्रहरीले पनि मधेस प्रदेश घोषणाले धेरैलाई दुखी बनाएको प्रतिक्रिया दिए । उनले भने, ‘बिराटदेखि अवधसम्मका नागरिकले मधेस र मधेसीका नाममा आन्दोलन गरेर र शहादत दिएका थिए, ती मैथिल पनि थिए, भोजपुरा, अवधी र सप्तकोशीपारीका विराटपुत्र थिए ।’
अग्रहरीको प्रश्न छ, ‘के अब सप्तकोशीपारीका या नारायणीपारिका १२ जिल्लाका मधेसीहरू मधेसी रहेनन् ? मधेस के अब ८ जिल्ला मात्र रह्यो ?’
मध्यमधेस सर्वोत्तम विकल्प रहेको बताउँदै अग्रहरीले मधेस विद्रोह लहानभन्दा अघि सर्वप्रथम नेपालगञ्जबाट शुरु भएको बताए । उनले भने, ‘यो नबिर्सौँ, परतन्त्र मधेसीको मुद्दा बोकेर राजा त्रिभुवन समक्ष अनसन गर्ने मधेसवादका आदि अभियन्ता रघुनाथ ठाकुर र क्रान्तिकारी नेता, कवि श्यामलाल मिश्र सप्तकोसी पारीका थिए ।’
मधेसको बिउ जोगाइयो : दीपेन्द्र झा
आठ जिल्लालाई मात्रै मधेस प्रदेश बनाइएको भन्दै चित्त दुःखाउनेहरुलाई सम्झाउँदै मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा रातोपाटीसँग भन्छन्, ‘अहिले बिउ जोगाउनु नै मुख्य कुरा हो । आज एउटा मधेस भयो भने भोलि अर्को थरुहट पनि हुन सक्छ । कमसेकम अहिले भइराखेको कमसेकम पहिचान जोगाऔँ भनेर मधेस नामकरण गरिएको हो ।’
अधिवक्ता झाले अगाडि थपे, ‘कुनै अप्सन नहुँदाखेरि धेरै खराबमध्ये कम खराब विकल्प रोजिएको हो । त्यसकारणले मधेसको बिउ जोगाइएको हो । मधेस नाम नराखेको भए त पुरै पहिचानै जान्थ्यो । पुरै बिउ नै जान्थ्यो । कमसेकम अहिले एउटा बिउ त जोगियो नि । अब यो फक्रन्छ र यसमा अरू पनि जोड्दै जान सकिन्छ ।’