बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टाटाले अब नेपाली बजारमा टिगोर ईभी पनि भित्र्याउने

मङ्गलबार, ०४ माघ २०७८, १८ : १७
मङ्गलबार, ०४ माघ २०७८

टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । 
टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।

यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी समेत सार्वजनिक भएको छ । जुन गाडीले सार्वजनिक भएको छोटो समयमा नै भारतीय बजारमा निकै लोकप्रियता कमाउन सफल भएको छ । त्यसो टाटा टिगोर ईभी जिपट्रोन प्रविधिमा आएको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य ११ लाख ९९ हजार भारु तोकिएको छ । तर, अब छिट्टै नेपालमा पनि टाटा टिगोर ईभी ल्याउने तयारी गरेको कम्पनीले यसको नेपाली बजार मूल्य भने कति पर्ने अहिले नै बताएको छैन ।
टाटा टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । जसमा परिपक्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।

जिपट्रोन प्रविधिमा आधारित टिगोर ईभी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकसहित उपलब्ध हुनेछ । जसले गाडीलाई जुनकुनै मौसममा पनि सहजै चलाउन सकिने कम्पनीको भनाई छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिने कम्पनीले बताएको छ । यसरी चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशत भन्दा माथि चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

उत्कृष्ट पावर पिकअपका साथ आउने टिगोर ईभी आकर्षक लुक्समा समेत आउने कम्पनीले बताएको छ । भारतमा जस्तै नेपाली बजारमा पनि टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंग विकल्पमा उपलब्ध हुन सक्छ भने डुअल–टोन विकल्पमा उपलब्ध भए सनरुफमा कालो रंगमा आउने कम्पनीले बताएको छ । 

यस्तै गाडीको इन्टेरियर पार्टस्मा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ । त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि रहने कम्पनीले जानकारी दिएको छ । 

सुरक्षा फिचर्समा कम्पनीले टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समेत समावेश भएर आउने बताएको छ ।
टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।
नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितीबारे कम्पनीले कुनै घोषणा गराएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप