बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

बिहीबारको बैठकले मिति तोक्न सिफारिस गर्ने
मङ्गलबार, ०४ माघ २०७८, ११ : ३४
मङ्गलबार, ०४ माघ २०७८

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको बुझियो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ,’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले रातोपाटीलाई जानकारी दिए । 

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ । आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिस अनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार आयोगले सिफारिस गरेको मिति आसपासमै सरकारले मिति निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप