मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत् भएको चिनजान : १३ वर्षीया बालिकामाथि ब्ल्याकमेल र बलात्कार

सामाजिक सञ्जालमा बालबालिकाको उपस्थिति कति सुरक्षित ?
मङ्गलबार, ०४ माघ २०७८, ११ : ०६
मङ्गलबार, ०४ माघ २०७८

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट पक्राउ गर्‍यो । एक नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल ललितपुरको पाटनस्थित सुन्धारामा बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्दा भने सौगात महर्जन भन्ने ठानेको थियो । किनभने युवकले आफ्नो नाम सौगात महर्जन रहेको बताएका थिए र एक बालिकालाई डर धम्की देखाई भेट्न बोलाई जवरजस्ती करणी गरेर फरार भएका थिए ।

फेसबुकबाट भएको थियो चिनजान  

बूढानीलकण्ठमा बसोबास गरिरहेकी एक १३ वर्षीय बालिकालाई करिब २ महिना अगाडि फेसबुकमा सौगात महर्जनको नामबाट फ्रेण्ड रिक्वेष्ट आयो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकी ती बालिकाले पनि उक्त फ्रेण्ड रिक्वेष्ट स्वीकार गरिन् । सामान्य कुराकानी हुँदा ती बालिकालाई पनि रमाइलो नै लाग्यो र उनले ती युवकसँग कुराकानी गरिरहिन् ।

कुराकानीकै क्रममा बालिका र ती व्यक्ति ज्यादै नजिक बनिसकेका थिए । अनि एकदिन ती व्यक्तिले बालिकालाई आफ्नो यौन अङ्गहरु देखाउन आग्रह गरे । बालिकाले आफू सानै भएको भन्दै यौन अङ्ग देखाउन अस्वीकार गरिन् । तर ती व्यक्तिले आफ्नो पनि यौन अङ्गहरु देखाउने भन्दै बालिकालाई यौन अङ्गहरु देखाउन बारम्बार दबाब दिइरहे ।

बारम्बार दबाब आइरहेपछि ती बालिकाले आफ्नो यौन अङ्गहरु देखाउन थालिन् र नग्न भएर भिडियो च्याटमा कुराकानी गर्न थालिन् । यो क्रम केही दिन चलिरह्यो । त्यसपछि ती व्यक्तिले बालिकालाई आफूसँग यौन सम्बन्ध राख्न आग्रह गरे । तर बालिकाले ती व्यक्तिको प्रस्ताव अस्वीकार गरिन् ।

जब बालिकाले सौगात महर्जन नाम गरेका व्यक्तिको यौन प्रस्ताव अस्वीकार गरिन्, त्यसपछि ती व्यक्तिले बालिकासँग ब्ल्याकमेल सुरु गरे । बालिकासँग भएको अश्लील संवाद, कुराकानी र नग्न भिडियो बालिकालाई नै पठाएर आफूसँग भेटघाट नगरे ती सबै फोटो र भिडियो भाइरल बनाइदिने धम्की दिए । बालिकाले पठाएको नग्न फोटो र भिडियोहरु ती व्यक्तिले सेभ गरेर राखेका थिए । त्यतिमात्र नभएर फेसबुकको भिडियो च्याटमा भएका कुराकानी स्क्रिन क्याप्चर गरेर राखेका रहेछन् । अनि त्यही फोटो र भिडियो आफूसँग रहेको भन्दै आफूसँग भेटघाट नगरे ती फोटो र भिडियो स्कुलका साथीभाइ, परिवारका सदस्य आदिलाई पठाइदिने र फेसबुकमै भाइरल गरिदिने धम्की दिए ।

फेसबुकमै चिनजान भएको, कहिल्यै नदेखेको र नभेटेको व्यक्तिले ब्ल्याकमेल सुरु गरेपछि बालिका आत्तिइन् । एकपटक भेट्ने तर भेटेपछि सबै फोटो र भिडियो डिलिट गरिदिने शर्त राखिन् । ऊ बालिकाको उक्त शर्त मान्न तयार भयो र एकपटक भेटघाट मात्रै गर्ने अनि सबै फोटो र भिडियोहरू डिलिट गरिदिने बतायो ।

त्यसपछि बालिका ती व्यक्तिलाई भेट्न तयार भइन्, त्यो पनि साँझको समयमा ।

.... अनि भयो जबरजस्ती करणी

बालिकासँग ती व्यक्तिको मोबाइल नम्बर थिएन । न ती व्यक्तिको फोटो नै फेसबुकमा राखिएको थियो । भिडियो च्याटमा कुराकानी गर्दा पनि ती व्यक्ति सकेसम्म आफ्नो अनुहार देखाउन चाहँदैनथे । तर पनि आफ्नो ‘इज्जत जोगाउन’ बालिकालाई ती व्यक्तिसँग भेट्नैपर्ने बाध्यता थियो । बाध्य भएपछि बालिकाले ती व्यक्तिलाई गत पुस २७ गते बूढानीलकण्ठस्थित आफ्नो घर नजिकै बोलाइन् । २०/२१ वर्षको जस्तो देखिने एक व्यक्ति बालिकालाई भेट्न आइपुगे । तर ती व्यक्तिको अनुहार पनि उनले राम्ररी चिन्न सकिनन् ।

सडक छेउमै भेट गर्न खोज्दा उक्त युवकले सडक छेउमा भेट गर्न मानेन । बरु बूढानीलकण्ठ नजिकै बन्दै गरेको एक घरमा पछाडि लिएर गयो । अनि त्यहीँ ती बालिकामाथि आफ्नो यौन हर्कत देखाउन थाल्यो । ती युवकले सुरुमै बालिकाको संवेदनशील अङ्गहरु सुमसुम्याउन थाल्यो । अनि बालिकालाई जवरजस्ती करणी गर्‍यो । बलिष्ठ २१ वर्षको व्यक्तिले करणी गर्दा १३ वर्षीय बालिकाले प्रतिकार गर्न सकिनन् र चुपचाप रहनुबाहेक अरु विकल्प रहेन ।

जब युवकले करणी गरे, त्यसपछि बालिकाले आफ्नो नग्न फोटो र भिडियो डिलिट गर्न भनिन् । युवकले त्यस समय अब गरिदिन्छु भनेर त्यहाँबाट निस्किए । तर जब बालिका र ती युवक दुवै आ–आफ्नो घर पुगे, त्यसपछि फेरि सुरु भयो ब्ल्याकमेल । एकपटक भेट गरेपछि फोटो र भिडियो डिलिट गर्ने पूर्व शर्त युवकले मानेन । बरु एकपटक फेरि भेटघाट गरेपछि मात्रै उक्त फोटो र भिडियो डिलिट गरिदिने बतायो । अर्कोपटक भेट नगरे साथीभाइ र परिवारका अन्य सदस्यलाई ती फोटो र भिडियो पठाइदिने धम्की दिन थाल्यो ।

युवकले झन् झन् ब्ल्याकमेल सुरु गर्न थालेपछि बालिका झनै बढी डिप्रेसनमा पुगिन् । विद्यालयमा पनि उदास भएर बस्न थालेपछि बालिकाकी साथीले कारण सोधिन् । बालिकाले साथीलाई आफ्नो समस्या र अवस्थाबारे सबै बताइन् । ती युवकको कारण आफू धेरै तनावमा रहेको बताइन् । बालिकाको यो कुरा साथी हुँदै बालिकाकै घर परिवारमा पनि पुग्यो । सुरुमा घरमा केही नबताएकी बालिकाले जब घरमा दाइ लगायतले यसबारे सोधपुछ गरे, बालिकाले सबै विषय बेलिबिस्तार लगाइन् ।

त्यसलगत्तै बालिकाको दाइ पीडित बालिकालाई लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा आएर घटनाका सम्बन्धमा उजुरी गरे । १३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेर फरार भएको भनेपछि महाराजगञ्ज प्रहरीले पनि सक्रियता देखायो । अनि खोजी भयो, सौगात महर्जनको ।

पीडित बालिकासँग उक्त युवकको फोटोसमेत थिएन । अँध्यारोमा मात्रै देखेकी हुनाले बालिकालाई युवकको अनुहार पनि याद थिएन । तर पनि फेसबुकमा तिनै युवक सौगात महर्जनसँग उनी कुराकानी गरिरहेकी थिइन् ।

प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले बालिकालाई नै फेसबुकमा कुराकानी गर्न लगाएर प्रहरीले आरोपीको मोबाइल नम्बर माग्ने कोशिस गर्‍यो । तर चलाख आरोपीले मोबाइल नम्बर दिन अस्वीकार गर्‍यो । बरु भिडियो कलमै कुराकानी गर्ने, भेट गर्ने बतायो । त्यसपछि प्रहरीले खोजी गर्‍यो सौगात महर्जनको ।

युवकले प्रयोग गर्ने सौगात महर्जन नामको फेसबुक आइडीमा पनि अरु कुनै डिटेल्स थिएन । उसले न त कुनै पोष्ट नै गरेको थियो । प्रोफाइल पिक्चरमा पनि ‘आखिर मजा त दुवैलाई त हो नि’ जस्ता अश्लील शब्दहरु प्रयोग गरिएको थियो र प्रोफाइल पिक्चरमै यौन आशक्ति देखिने प्रकृतिको थियो । प्रहरी त्यही फेसबुक आइडी प्रयोग गर्ने युवकको खोजीमा जुट्यो र, विविध विधि प्रयोग गरेर उजुरी आएको २४ घण्टाभित्रै प्रहरी आरोपी युवकसम्म पुग्न सफल भयो ।

ललितपुरको पाटन सुन्धारा पुगेर प्रहरीले सौगात महर्जन नाम बताउने सुजन श्रेष्ठलाई पुस ३० गते पक्राउ गर्न सफल भयो । वास्तवमा आफूलाई सौगात महर्जन भनेर चिनाइरहेका व्यक्ति थिए, पनौती नगरपालिका १ का २१ वर्षीय सुजन श्रेष्ठ । नाबालिकालाई करणी गरी फरार भएका व्यक्ति अन्ततः पक्राउ पर्‍यो र यतिबेला महानगरीय प्रहरी बृत्त महाराजगञ्जको हिरासतमा छ । सौगात महर्जन नाम बताउने सुजन श्रेष्ठमाथि यतिबेला प्रहरीले अनुसन्धान गरिरहेको छ ।

युवकले चलाउँथे ५ वटा नक्कली फेसबुक

१३ वर्षीय बालिकालाई ब्ल्याकमेल गरी करणी गरी फरार भएका सुजन श्रेष्ठ पनौतीको मध्यमवर्गीय परिवारका व्यक्ति हुन् । सुजन जमलमा रहेको एक होटलमा काम गर्थे भने ललितपुरको पाटनमा बस्दै आएका थिए । प्रहरी अनुसन्धानका क्रममा सुजनले ५ वटा फेसबुक चलाएको पाइएको छ । सुजनले विभिन्न किशोरी तथा युवतीसँग कुराकानी गर्न ५ वटा नक्कली फेसबुक बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा आरोपी श्रेष्ठले ती सबै फेसबुक किशोरी तथा महिलासँग अश्लील कुराकानी र भिडियो च्याट गर्न बनाएको र त्यसको एकमात्रै उद्देश्य यौन आवश्यकता पूरा गर्ने रहेको बताएका छन् । यी युवकसँग अन्य कति किशोरी र युवती पीडित बनेका छन् भन्ने सम्बन्धमा छानबिन भइरहेको र अनुसन्धानकै क्रममा रहेकाले यसबारे थप केही बताउन नमिल्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

प्रवक्ता मैनालीले भने, ‘एक १३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरी फरार भएका २१ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरी ल्याएका छौँ । युवकले बालिकालाई ब्ल्याकमेल गरी करणी गरेको पाइएको छ ।’

उनीहरुको भेट फेसबुकमार्फत् भएको पत्ता लागेको र सामाजिक सञ्जालको माध्यमबाटै बालिकामाथि अपराध भएको पाइएको उनले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न मिल्ने अवस्था नरहेको उनले प्रस्ट पारे । उनले भने, ‘यो अनुसन्धानकै क्रममा छ ।’

काठमाडौं प्रहरी प्रमुख भन्छन्– अभिभावकले मोनिटर गरौं

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी बालबालिकाले इन्टरनेटको प्रयोग गर्दा अभिभावकले मोनिटर गर्नैपर्ने बताउँछन् । आफ्ना बालबालिका कोठाभित्र छन् भनेर ढुक्क हुन नसकिने भन्दै अपराधको ट्रेण्ड र तरिकामा धेरै परिवर्तन आइसकेको उनको भनाइ छ । एसएसपी गिरी भन्छन्, ‘मेरा बालबालिका त कोठाभित्रै छ भनेर ढुक्क हुन सकिने अवस्था छैन । बालबालिकाहरु साइबर हमला, पोर्नोग्राफी आदिको सिकार भइरहेका हुन सक्छन् । कतिपय बालबालिका पीडित बनिरहेका हुन सक्छन् भने कतिपय अपराधतिर लागेका पनि हुन सक्छन् । जुन बालबालिका घरभित्रै कोठामा चुक्कुल लगाएर बस्छन्, उनीहरुमाथि थप निगरानी राख्नुपर्ने हुनसक्छ ।’ उनीहरुले डिजिटल डिभाइस र इन्टरनेटमा के गरिरहेका छन् भन्नेबारे अभिभावकले जानकारी राख्नैपर्ने उनको भनाइ छ ।

काठमाडौं प्रहरी प्रमुख गिरी बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश नै दिन नहुने बताउँछन् । बालबालिकालाई उनीहरुमै निर्भर रहने गरी सामाजिक सञ्जालको प्रयोग गर्न दिँदा त्यसले अपराध निम्त्याएको धेरै घटना रहेको भन्दै उनले बालबालिकालाई सकेसम्म सामाजिक सञ्जालको प्रयोगबाट टाढै राख्नुपर्ने बताए । उनी भन्छन्, ‘बालबालिकाले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप आदि चलाउन जान्यो भनेर मक्ख हुने अवस्था छैन । बरु त्यसैले उनीहरु गलत बाटोमा गइरहेका हुन सक्छन् । सकेसम्म बालबालिकालाई यस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नै दिनु हुँदैन । दिनै परे पनि अभिभावकको उपस्थितिमा मात्रै चलाउन दिनुपर्छ ।’

अभिभावक वेपर्वाह भइदिँदा यस्ता धेरै अपराधका घटना भएको उनले बताए । त्यस सम्बन्धमा अभिभावक जिम्मेवार भएनन् भने ठूलो दुर्घटना निम्तिन सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप