शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको तल्लो दर्जामा ३ पद थप्ने निर्णय कार्यान्वयनमा

पदक बापतको २ नम्बर हट्यो
सोमबार, ०३ माघ २०७८, २२ : ०५
सोमबार, ०३ माघ २०७८

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार राजपत्रमा प्रकाशित भएसँगै निर्णय कार्यान्वयनमा आएको हो । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको छ । विद्येयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र बरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।

प्रहरी कार्यालय सहयोगीलाई ५ ग्रेड स्तरोन्नती गर्ने मन्त्रिपरिषद्को निर्णय पनि कार्यान्वयनमा आएको छ । ५ वर्षमा एक ग्रेड स्तरोन्नती गरेर २५ वर्षभन्दा धेरै समय जागिर खाएमा प्रहरी सहायक निरीक्षक (असई) बराबरको तलब र पेन्सन दिने निर्णय राजपत्रमा प्रकाशन गरिएको छ ।

अहिले कायम हवल्दार भन्दा तल सहायक हवल्दार र माथि बरिष्ठ हवल्दार तथा इन्सपेक्टर भन्दा तल वरिष्ठ प्रहरी नायव निरीक्षक (बरिष्ठ सई) दर्जा थप गर्ने निर्णय गरिएको छ । संशोधित नियमावली अनुसार प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया तत्काल शुरु गर्नुपर्नेछ । जनपदतर्फ ३ पद थपेर कार्यालय सहयोगीलाई ५ तह स्तरोन्नती गर्दा वार्षीक १९ करोड व्ययभार थपिने अर्थ मन्त्रालयको निष्कर्ष छ ।

विभुषणको नम्बर हट्यो

संविधान दिवस र गणतन्त्र दिवसमा राष्ट्रपतिबाट पाउने पदक बापतको नम्बर प्रहरी कर्मचारीको बढुवाको बेला जोड्ने प्रावधान हटाउने निर्णय पनि कार्यान्वनयमा आएको छ । अलङ्कार, विभूषण र पदक पाएका प्रहरीले बढुवा हुँदा थप दुई नम्बर पाउने गरेका थिए । सो नम्बर काट्ने मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशन गरिएको छ ।

नम्बरका कारण पदक लिनका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले बढुवामा पदक बापतको नम्बर काट्न प्रस्ताव गरेको थियो । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्– ‘पदक आफैंमा पहिचान भएको हुनाले दोहोरो पहिचान आवश्यक देखिएन् भनेर सो प्रस्ताव गरिएको थियो ।’

बढुवामा ज्येष्ठताको आधारमा थप नम्बर दिनेगरी नियमावली संशोधन गरिएको छ । अब, प्रत्येक वर्षको दुई–दुई नम्बर सिनियर प्रहरीले पाउँनेछन् । अहिले प्रहरी कर्मचारीले कार्यसम्पादन मूल्याङ्कन बापत ४० नम्बर, भौगोलिकता बापत ८ नम्बर, शैक्षिक योग्यता बापत १० नम्बर र ज्येष्ठता बापत २० नम्बर पाउने व्यवस्था छ ।

ज्येष्ठता बापतको २० नम्बरलाई बढाएर २२ बनाउन प्रस्ताव गरिएको छ । तालिम बापत ७ दशमल ५ नम्बर चुनौती बापत ५ नम्बर र बढुवा समितिले ७ दशमलव ५ नम्बर दिन पाउने व्यवस्था छ । भौगोलिकता बापतको नम्बर तराई र पहाडमा काम गरेको आधारमा पाइन्छ । चुनौति बापतको ५ नम्बर प्रहरी महानिरीक्षकले हरेक वर्ष दिने व्यवस्था प्रहरी नियमावलीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप