शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरू जिल्ला भ्रमणमा

सोमबार, ०३ माघ २०७८, २१ : ५२
सोमबार, ०३ माघ २०७८

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले चुनाव प्रचार थालेका छन् । उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशका विभिन्न जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार युवराज शर्मा,  राजेन्द्र लक्ष्मी गैरे  र तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन् । सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेलगत्तै गठबन्धनका उम्मेदवारको टोली पाल्पा पुुगेको छ । मंगलबार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट गर्ने, माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ पुग्ने उनीहरुको कार्यक्रम छ ।

यस्तै माघ ८ गते कपिलबस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनले जनाएको छ । पत्रकार सम्मेलनमा काँग्रेसबाट उम्मेद्वार भएका शर्माले आफू वीपीबाट प्रभावित भएर २०३० सालमा काँग्रेस बाँकेको सचिव भएर राजनीति सुरु गरेको बताए ।

यस्तै नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गर्दै उम्मेदवार बनाएको उल्लेख गरिन् । अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूूले राजनीतिमार्फत समाजमा रहेका विभेद र सामाजिक न्याय स्थापित गर्न लागिपरेको बताए ।

उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफूहरुसँग एक हजार भन्दा बढी मतान्तर रहेकाले सजिलै जित्ने बताए ।

पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट काँग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्रीले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई प्रेस विज्ञप्तिमार्फत अपिल गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरी २९६ जना मतदाता छन् । लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप