शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको आन्तरिक विवादको असर पर्सा जिल्लामा देखियो

उपेन्द्र यादवले बनाएको अध्यक्षलाई हटाएर अन्सारीलाई बनाइयो
सोमबार, ०३ माघ २०७८, १९ : ४८
सोमबार, ०३ माघ २०७८

जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद जिल्लासम्म पुगेको छ । आज पर्सामा जिल्लामा पार्टीका जिल्ला अध्यक्षबाट हटाएर अब्दुल रहिम अन्सारीलाई बनाइएको हो । 

पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष वासुदेव यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर अन्सारीलाई जिल्ला समन्वय तदर्थ समितिको अध्यक्ष बनाएको छ । तीन वर्षसम्म अध्यक्ष रामनरेश यादवले पार्टीको हितमा काम नगरेको आरोप लगाउँदै हटाइएको छ । 

अध्यक्षको जिम्मेवारी पाएको दिनदेखि पदाधिकारी तथा जननिर्वाचित प्रतिनिधिलाई कुनै किसिमको वास्ता नगरी कुनै पनि बैठकमा नबोलाई बारम्बार मानमर्दन गर्ने रवैया गर्दै आएको र एकलौटी ढंगले, तानाशाही प्रवृतिले बैठक नगरी आफूखुसी सम्पूर्ण निर्णय गर्दै आएको आरोप अध्यक्ष रामनरेश यादवमाथि लगाइएको छ । 

रामनरेश यादव जिल्ला अध्यक्ष सम्हालेदेखि नै पार्टीबाट थुप्रै कार्यकर्ता तथा नेताहरू अन्य पार्टीमा गइसकेको र अझै जाने क्रम जारी रहेको अन्सारीले दाबी गरे । रामनरेश यादवले जिल्ला पार्टी समितिमा गरेका गतिविधिबारे पार्टीको प्रदेश कमिटी तथा केन्द्रीय नेतृत्वलाई पटक पटक जानकारी गराइसकेको अन्सारीले बताए ।

बहुमत सदस्यहरूको हस्ताक्षरसहित रामनरेश यादवलाई बैठक बोलाउन पटक पटक आग्रह गरेपनि बेवास्ता गरेको अन्सारीको आरोप रहेको छ । पार्टीको बैठक पनि नबोलाउने, संगठनलाई पनि ठिकठाक ढंगबाट चलाउन नसक्ने भएका हुनाले पर्सा जिल्ला समन्वय तदर्थ समितिका उपाध्यक्ष वासुदेव यादवको अध्यक्षतामा बैठक बसी रामनरेश यादवलाई हटाएर अन्सारीलाई बनाइएको छ । 

पार्टीको विधानको परिच्छेद १० को धारा ५८ को (१) अनुसार निर्वाचित समिति नभएको ठाउँमा एक तह माथिको समितिद्वारा मनोनयन वा सम्बन्धित तहको भेलाद्वारा पार्टीका तदर्थ समितिहरू निर्माण गरिनेछ । जसको अवधि सामान्यता ६ महिनाको हुनेछ । आवश्यकता अनुसार ६ महिना बढाउन सकिन्छ तर कुनै पनि अवस्थामा यो अवधि एक वर्षभन्दा बढीको हुने छैन भनी विधानमा उल्लेख भएको हुनाले रामनरेश यादव तदर्थ समितिको अध्यक्ष भएको एक वर्षभन्दा बढी भइसकेको छ । त्यही भएर उनलाई हटाएर अर्को तदर्थ समिति गठन गरिएको अन्सारीले बताए । 

रामनरेश यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले तदर्थ समितिको अध्यक्ष बनाएका थिए । सांसद प्रदीप यादव कारबाहीमा परेपछि उपेन्द्र यादवले रामनरेश यादवलाई अध्यक्ष बनाएका थिए । अहिले प्रदीप यादवलगायतका नेताहरू मिलेर रामनरेश यादवलाई हटाएर प्रदेश २ का प्रदेश सभा सदस्य रहेका अन्सारीलाई अध्यक्ष बनाइएको छ । 

अहिले केन्द्रमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको बीचमा आन्तरिक द्वन्द चलिरहेको छ । त्यसैको असर पर्सा जिल्लामा देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप