शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको आम्दानी बढ्यो, खर्चमा उतारचढाव : अर्थ मन्त्रालय

सोमबार, ०३ माघ २०७८, १७ : २४
सोमबार, ०३ माघ २०७८

अर्थ मन्त्रालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था रहेको र समग्र खर्चमा भने उतारचढाव देखिएको उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को सचिवालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक आम्दानी तथा खर्चको तुलनात्मक विश्लेषण गर्दै आम्दानी बढाएको जनाएको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कूल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो । यस्तै, चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो ।   

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था करिब उस्तै देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४.४० भएको थियो । चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म भएको पूँजीगत खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो ।\

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएका  कारण पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ । समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो । 

यस्तै, चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको मन्त्रालयले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप