शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

सोमबार, ०३ माघ २०७८, ०६ : २०
सोमबार, ०३ माघ २०७८

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ । टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।

प्रहरी प्रवक्ता (डीआईजी) मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेको बताए । प्रहरीका अनुसार बोक्सीको आरोप लगाउने तथा झारफुकको बहानामा कुटपिट गर्ने ३५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । 

केही दिनअघि काठमाडौैँमा पनि यस्तै घटना भएको छ । टाउको दुख्ने समस्या भएपछि झारफुक गराउन झाँक्री (माता)सँग गएकी १४ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भयो । नागार्जुन नगरपालिका–१, रानीवनमा आफूलाई माता बताउने उमा शाही ठकुरी कहाँ उपचारका लागि लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको थियो ।

टाउको दुःखेको उपचार हुने सुनेर मृतककी आमा राधिका श्रेष्ठले पुस ३ गते छोरी रोशनीलाई झारफुकका लागि भन्दै माता ठकुरीकै घरमै छोडेर आइन् । पुस २४ गते एक्कासि माताले छोरी बेहोस भएको खबर गरेपछि रोशनीलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगे पनि अस्पताल पु-याउनुभन्दा पहिला नै बालिकाको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

महानगरीय प्रहरी परिसर स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले आरोपी मातालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । “पोस्टमार्ट रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिन्छ,” उनले भने । मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले धामीझाँक्रीबाट उपचार गराउँदा भयावह परिणाम आउने गरेको बताउँदै सार्वजनिक नभएका डरलाग्दा घटना थुप्रै हुनसक्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप