प्रदेश २ : नामकरणबारे मतदानमा जाने निष्कर्षसहित विशेष समितिले बुझायो प्रतिवेदन

प्रदेश २ को नामकरण र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानबाट छिनोफानो गरिने भएको छ । सभामुख सरोजकुमार यादवको नेतृत्वमा रहेको समितिले प्रदेशको नाम र स्थायी राजधानीका लागि ६ बुँदे निष्कर्षसहित प्रदेशसभामा प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदनमा माघको पहिलो सातामै मतदानमा जान प्रदेशसभालाई सुझाव दिइएको छ । यसका अतिरिक्त गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतका व्यवस्थापन मिलाउन पनि भनिएको छ ।
समितिले प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका विभिन्न प्रस्तावमा सहमति जुटाउने प्रयास गरेको थियो । समितिले प्रतिवेदनमा प्रदेशको नामका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेसमा मतदान गर्न सुझाव दिएको छ ।
त्यस्तै स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्तावलाई समितिले ३ वटामा झारेको छ । स्थायी राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव गरिएको छ । सो प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको जनाइएको छ ।
त्यसैगरी दोस्रो प्रस्तावमा वीरगञ्ज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरादेखि निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने प्रस्ताव गरिएको छ । तेस्रोमा वीरगञ्ज महानगरपालिकालाई राजधानीका लागि प्रस्ताव गरिएको छ ।
आइतबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक एक घण्टा ढिलो सुरु भएको थियो । सोमबार प्रदेशको नाम र स्थायी राजधानीको निर्क्यौल गर्न मतदान प्रकृया अगाडि बढाउन आवश्यक तयारीसमेत आइतबार नै गरिएको छ ।
दलहरु आ–आफ्नै अडानमा
विशेष समितिको प्रतिवेदन प्रदेशसभामा पेस भएपछि प्रदेशसभा सदस्यहरुलाई सो प्रतिवेदनमाथिको छलफलमा सहभागी गराइएको थियो । प्रतिवेदनमाथिको छलफलमा राजनीतिक दलहरु आ–आफ्नै अडानमा देखिए ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्न दलहरुबिच मतैक्यता रहे पनि केही प्रदेशसभा सदस्य भने राजधानी वीरगंज हुनुपर्ने अडानमा छन् । जसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मधेस हुनुपर्ने वकालत गरे भने नेपाली काँग्रेसका सदस्यहरुले मिथिला भोजपुरा र नेकपा एमाले तथा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम जानकी हुनुपर्ने अडान दोहो¥याए ।
केही प्रदेशसभा सदस्यहरुले भने मध्यमधेस नाम हुनुपर्नेमा जोड दिए । प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ प्रदेशसभामा सभामुखसहित १०४ जना छन् । दुई तिहाइको संख्या पु¥याउन कम्तीमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
मधेसको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ प्रदेशसभा सदस्य छन् । सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउने छन् । सभामुखलाई छोड्ने हो भने मधेस प्रस्तावको पक्षमा ६२ जना प्रदेशसभा सदस्य छन् । एक प्रदेशसभा सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीले मधेसमै समर्थन गरेकाले त्यो मत जोड्दा मधेसको पक्षमा ६३ मत पुग्छ भने दुई तिहाइका लागि ७ मत कम हुन्छ ।
प्रदेशसभामा भएको छलफलमा प्रदेशसभा सदस्य रानीकुमारी शर्माले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निर्क्यौल लगाउने विषयमा गम्भीर नरहेको आरोप लगाइन् ।
प्रदेशको नाम र राजधानीको विषयमा छलफल चलिरहँदा कयौँ प्रदेशसभा सदस्य गम्भीर नभएको पनि देखियो । प्रदेशसभा बैठकमा रोष्टमबाट बोलिरहेकै क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले फोन रिसिभ गरे ।
प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा आफ्नो मोबाइलमा फोन आउँदा उनले बीचमै फोन उठाउन पुगे । फोन उठाएर उनले ‘ए भाइ’ भन्दै फेरि फोन काटे । प्रदेशसभा सदस्य यादवले फोन काटेर गोजीमा राखे लगत्तै प्रदेशसभा सदस्यहरूबीच हाँसोको माहोल थियो । छलफलमा प्रदेशसभा सदस्यहरु प्रह्लाद गिरी, करिमा बेगम लगायतका प्रदेशसभा सदस्यहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा