ad
x

कश्यपको कथा : खानामा लोभ गर्दा जीवन जान सक्छ

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

 कतिपय मानिस खानाका सौखिन हुन्छन् । उनीहरूलाई शरीरभन्दा खाना प्यारो लाग्छ र बिरामी हुँदासमेत खानपानमा परिवर्तन गर्न चाहँदैनन्, जसले गर्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ । तलको कथाले पनि यस्तै सन्देश दिन्छ ।   


एकादेशमा एक जना खानाका निकै सौखिन राजा थिए । उनलाई चिसो, पीरो र अमिलो खूब मन पथ्र्यो । दही त प्रिय खाना नै मानिन्थ्यो । रुघाखोजी, ज्वरोमा समेत त्यसलाई छाड्न चाहँदैनथे ।  



एकपटक उनी नराम्ररी बिरामी परे । ज्वरो सय डिग्रीभन्दा बढी थियो, खोकी त्यस्तै । एकसेएक चिकित्सकहरू उपचारमा संलग्न थिए तर बेथा बीसको उन्नाइस भएन । त्यसैले वैद्यहरूले सम्झाउँदै भने–



‘सरकार ! बेथा निकै चर्को छ । औषधीले काम गरेको छैन । त्यसैले केही दिन मुख बार्नुप¥यो ताकी औषधीले काम गर्न पाओस् ।’



‘ए !  हो र ?, त्यसो भए भो तपार्ईँहरूको औषधी चाहिन्न ।’ राजाले मुख बिगार्दै भने–



‘त्यस्तो औषधीको के काम ? जसले मुख बारेन भन्दैमा ठीक गर्न सक्दैन । तपाईँहरू जेसुकै भन्नुस् खाँदै आएको चीज छाड्न सक्दिन । बेथा ठीक पार्ने औषधी छ भने ल्याउनुस्, होइन भने तपाईँहरूका औषधी आफैँसित राख्नुस् । मेरा निम्ति त्यस्ता औषधीभन्दा खाना नै प्रिय छ ।’



राजाका कुरा सुनेर उनीहरू हैरान भए । घरपरिवारले पनि सम्झाउने प्रयास नगरेका होइन तर केही लागेन । खानुपर्ने बिरामीले हो, उसैले नमानेपछि के गर्ने । अरूले त खोलासम्म पु¥याउन सक्ने हो । पानी खुवाउन सक्ने होइन । पानी उसैले खानुपर्छ, जसलाई तिर्खा लागेको छ । तिर्खा लागेको मानिस नै खान चाँहदैन भने न खोलाले काम गर्न सक्छ न खोलासम्म पु¥याउने मानिसले । यहाँ पनि यस्तै भएको थियो ।



आफ्ना प्रयासले काम नगरेपछि चिकित्सकहरूले तैपनि कुनै उपाय लाग्छ भन्ने आशले (चतुरे) चतुर्भुज शर्मा समक्ष गएर राजालाई सम्झाउन आग्रह गर्दैै भने–



‘शर्माजी ! हाम्रा महाराज खानाको कति सौखिन हुनुहुन्छ भन्ने थाहै छ । यसैका कारण उहाँलाई बेथाले नराम्ररी गालेको छ । तैपनि खाने बानीमा सुधार गर्न चाहनुहुन्न । खाने बानी सुधार्नुपर्छ भने बरू औषधी खान्न भन्नुहुन्छ, जसले गर्दा बेथा असह्यै जस्तै बन्न पुगेको छ । त्यसैले उहाँलाई सम्झाई दिनुहुन्छ कि भनेर आएका हौँ । आशा छ निराश पार्नुहुने छैन ।’

उनीहरूको आग्रह सुनेपछि चतुरेले लामो सास फेर्दैै भने–

‘कुरा त्यत्ति हो भने तपाईँहरू जान सक्नुहुन्छ । चाँडै नै यथासक्य प्रयास गर्नेछु ।’ 

चतुरेको आश्वासनपछि उनीहरू घरतिर लागे, चतुरे दरवारतिर । 

चतुरेलाई देख्नेबित्तिकै राजाले भने–

‘स्वागत छ शर्माजी ! भन्नुस् कति कामले आउनुभो ।’

‘खासै केही छैन सरकार ! यसो भेटौँ कि भनेर आएको हुँ ।’ चतुरेले आशय बुझ्ने प्रयास गर्दै भने–

‘स्वास्थ्य निकै बिग्रेजस्तो छ । उपचार नै भएको छैन होला भन्न त सक्दिन । त्यति धेरै चिकित्सक यसैका लागि बसेका छन् तर औषधीको मात्रा भने मिलो जस्तो लागेन । अनुमति पाउँछु भने आफ्नैतर्फबाट उपचार अघि बढाउन चाहन्छु ।’

‘के भनौँ शर्माजी ।’ राजाले खुय्य गर्दै भने–

‘हेरर्नुस् न दरबारका वैद्यहरू कुनै कामकै छैनन् भन्या । दवाइ खाँदा मुख बार्नुपर्छ रे । त्यस्तो पनि हुन्छ ? मुखबारेपछि मात्र ठीक हुने भए त्यस्तो औषधीको के काम ? त्यसैले उनीहरूले दिएका औषधी नै खान छाडिदिएको छु ।’

‘ए त्यसो पो भने ?’ चतुरेले एउटा औषधीको पुडिया दिँदै भने–

‘केही छैन सरकार ! अहिलेलाई यो औषधी दिएको छु । दिनको दुईपटक खानुहोला ।’

‘यो खाएपछि मुख बार्न पर्दैन होइन ?’

‘पर्दैन सरकार !’

‘दही, आइस्क्रिम, पीरो, अमिलो सबै खान सक्छु नि ?’

‘अवश्य सरकार ! यसमा त्यस्तै रसायन मिलाएको छु ।’

यति भनेर चतुरे घरतिर लागे । राजाले पनि नियमितरूपमा औषधी थाले । एक हप्तापछि उनले पुनः आएर सोधे–

‘अहिले कस्तो छ सरकार ! स्वास्थ्यमा केही सुधार भयो होइन ?’

‘छैन शर्माजी !’ राजाले मलीन अनुहार लगाउँदै भने–

‘पहिलेभन्दा झन् बिग्रिदै गएको छ ।’

त्यसपछि चतुरेले मुसुक्क हाँस्दै भने–

‘केही छैन सरकार ! केही दिन अरू खानुस् अवश्य ठीक हुनेछ । यसबाट एकैसाथ तीनवटा थप फाइदा पाउनुहुनेछ ।’

‘तीनवटा फाइदा ?’

‘हो सरकार तीनवटा फाइदा ।’

‘के हुन् नि ती भनेका ?’

‘पहिलो सरकारको दरवारमा आइन्दा चोरी हुने हुने छैन ।’

‘दोस्रो ?’

‘दोस्रो यही कि सरकारलाई कुकुरले सताउने छैनन् ।’

‘तेस्रो नि ?’

‘सरकारलाई कहिल्यै बुढो हुनुहुने छैन ।’

लौ ! के कुरा हो यो ?’

‘हो सरकार कुरै त्यही हो ।’

‘औषधीसित यसको के सम्बन्ध छ र ?’

‘छ सरकार ! गहिरो सम्बन्ध छ ।’

‘जस्तै ?’

‘जस्तै यही कि पहिलो कुरा सरकार रातभर खोकिरहनुहुन्छ र चोरहरूलाई मानिस जागा रहेछ भन्ने पर्नेछ र चोर्ने हिम्मत गर्ने छैनन् । दोस्रो कुरा रोगले सरकारलाई यति कमजोर पार्ने छ कि लौरो नटेकी हिडनै सक्नुहुनछैन । लौरो टेकेपछि कुकुरले सताउने कुरै भएन । तेस्रो कुुरा यही अवस्था रहेमा सरकारको मृत्यु चाडै नै हुनेछ, जसले गर्दा बुढो हुनैपर्दैन ।’

चतुरेको कुरा सुनेर राजाको आँखा खुल्यो । उनले चतुरेलाई धन्यवाद दिँदै बिदा गरे र त्यसै दिनदेखि खानपानमा सुधार गरी औषधी खान थाले, जसले गर्दा राजा चाडै नै ठीक भए । 

भनाइको अर्थ रोग बाहिरबाट आउने होइन शरीरभित्रै हुन्छ र खानपान बिग्रेपछि टाउको उठाउने गर्छ । खानपानमा सुधार गर्ने बित्तिकै प्राय रोग आँफैँ ठीक हुन्छ । बाँकी रोगमा पनि उपचार सम्भव हुन्छ । होइन भने कतिबेला मृत्युको मुखमा पर्नुपर्ने हो पत्तै हुँदैन ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X