ad
x
अन्तरवार्ता

जनअपेक्षा अनुसार नै प्रदेश २ को नामकरण हुनु सबैको हितमा

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

प्रदेश २ को नामकरणका बारेमा प्रदेशसभामा फेरि प्रक्रिया सुरु भएको छ । राजनीतिक दलहरुले प्रदेशसभामा नाम सम्बन्धी प्रस्ताव प्रस्तुत गरिसकेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको नाम सम्बन्धमा ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएका छन् ।


प्रदेश २ मा गठबन्धनको सरकार भए पनि सत्तारुढ दलहरु नै प्रदेशको नामका सम्बन्धमा एकमत छैनन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ । जसपा नेपाल र माओवादीले पेस गरेको प्रस्तावलाई विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गरेको छ ।



अर्को सत्तारुढ दल नेपाली काँग्रेसले भने प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ भने काँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्यमधेस’ प्रस्ताव गरेका छन् ।  त्यस्तै, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रदेशको नाम ‘जानकी’ राख्न प्रस्ताव पेस गरेको छ, जसलाई विपक्षी दल नेकपा एमालेले समर्थन गरेको छ ।



प्रदेशको नामकरणका विभिन्न प्रस्ताव आए पनि मुख्य रुपमा मधेस र मिथिलामध्ये नै कुन राख्ने भन्नेमा विवाद छ । मधेस प्रदेशको पक्षमा उभिएका दलहरु प्रदेशको नाम मिथिला स्वीकार्नै नसक्ने अडानमा छन् भने मिथिलाको पक्षमा वकालत गर्नेहरु प्रदेशको नाम प्राचीनता तथा भाषा संस्कृतिलाई टेकेर मिथिला नै राख्नुपर्ने अडानमा छन् ।



मधेस र मिथिलाको अन्तरविरोधका बीच प्रदेश २ को नामकरण विगत ४ वर्षदेखि अड्किएको छ । एक पटक त प्रदेशसभामा नाम र राजधानीका लागि भएको मतदान गरेर टुंगो लगाउने प्रयास पनि विफल भइसकेको छ । एकपटक फेरि प्रदेशसभामा प्रयास सुरु भएको छ तर पुरानै अन्तरविरोधहरु अझै कायम छन् ।



यसै अन्तरविरोधका बीचमा माघ ३ गते प्रदेशसभाको बैठकबाट प्रदेशको नामकरणका बारेमा हुने प्रवल सम्भावना देखिन्छ । यही सेरोफेरोमा रहेर वाम राजनीतिक विश्लेषक रोशनजनकपुरीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–



प्रदेश २ को नामका लागि दलहरुबीच मतभिन्नता देखिएको छ, यसलाई कसरी हेरिरहनु भएको छ ?



प्राचीनताभन्दा पनि वर्तमानका समस्याहरु महत्वपूर्ण भएर आउँछ । प्राचीनताहरु ऐतिहासिक शृंखला, अभ्यासहरू इतिहासका समस्याहरु जे जस्ता भए पनि वर्तमान समस्यालाई ध्यान दिनुपर्छ । यस समस्यालाई हल नगर्ने हो भने नयाँ समस्या बल्झिन्छ । मधेस एउटा ठोस वास्तविकता हो । मधेसले सबै ठाउँलाई जोडेको छ । मधेसले आन्दोलनको विकास गरेको छ । मधेसको विकास मधेसवादी दलहरुले गरेको र माओवादी भित्र पनि मधेसको आवाज उठ्दै गयो । माओवादीले पनि सशस्त्र विद्रोह क्रान्तिद्वारा हल गर्न चाहन्थ्यो । पछि त्यही धार समातेर उपेन्द्र यादव, विजय गच्छदार र महन्थ ठाकुर लगायतले मधेस आन्दोलनको विकास गरे । अब त्यसपछि हामीकहाँ संघीयता लोकतान्त्रिक गणतन्त्र छ । जनतासँग जोडिएका राजनीतिक इच्छाहरू, नामको प्रश्न लगायत अभिभारा पनि छ । राजनीतिक, सांस्कृतिक चेतना, अस्तित्व, राजनीतिक प्रश्नहरु अहिले पनि छन् ।



मधेसवादी दलहरुमा एक खालको उन्माद देखिएको छ । उनीहरुलाई के लागेको छ भने हामीमात्रै आन्दोलन गरेर यहाँसम्म आएका हौँ । जबकि उनीहरुले के बुझ्नु पर्छ भने मधेस आन्दोलनभित्र भाषाहरु, विभिन्न सम्प्रदायहरु, सामाजिक सामुदायहरु समेत आफ्नो अस्तित्वको सवालमा आन्दोलनमै थिए । उनीहरु पनि केन्द्रीय शासनबाट उत्पीडित भएका हुन्, जसले गर्दा उनीहरु पनि आन्दोलनमै थिए । मधेसवादी दलले बुझ्नुपर्ने कुरा के छ भने यसअघि माओवादीले पनि मधेसका लागि आन्दोलन गरेकै हो । मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल गठन गरेर आन्दोलनमा यहाँका जनतालाई एकजुट पार्ने र मधेस आन्दोलनको विकास गर्ने काम गरेकै हो । गणतन्त्र स्थापनापछि मधेसवादी दलहरुले प्रत्यक्षरुपमा मधेस आन्दोलन गरे ।

अहिले व्यक्तिको नाम झैँ उनीहरुले यस प्रदेशको नाम राख्न खोजेको देखिन्छ । उनीहरुले प्रदेशको नाम मधेस नभए नाम नै राख्न नदिने जस्ता धम्की दिनु गलत हो । जसरी मधेस नै नाम रहनुपर्छ भन्ने अडान लिएको छ, त्यो गलत हो । यसले सही समाधान गर्दैन । यसरी निष्कर्ष निकालेमा नाम नामका लागि मात्र होइन, यसले जनतालाई एकअर्कासँग जुधाउनेबाहेक केही हुँदैन ।

प्रदेशको नामकरणबारे तपाईंको भनाइ के हो त ?

मधेस एउटा एलिमेन्टस् हो । प्रदशेको नामकै लागि जनता र जनसमुदायबीच विवाद देखिएको छ । मधेस राष्ट्र होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । मधेस देश पनि होइन । यो एउटा भू–खण्ड हो । यहाँ थुप्रै देश, जनपथहरु थिए । यो भौगोलिक पहिचानको रुपमा आएको हो । मध्यदेश भनेर आएका त्यतिबेलाका शासन मैथिली ब्राह्मण, कपिलवस्तु क्षेत्रबाट आएका मध्यदेशीय ब्राह्मणहरु जो नवपरासीलगायतका क्षेत्रका मैथिल ब्राह्मणहरुमध्ये मिश्रहरुले शासन गर्दै आएका थिए । तिनीहरुले शासनमा भूमिका निर्वाह गर्दै थिए । जब पृथ्वीनारायण शाहले शासन कब्जा गरे, तब तलबाट आएका सबैलाई मधेसी देखे । जबकी गंगा नदीको पूर्वतर्फको भागलाई मिथिला, तिरहुत, विदेह भनिन्थ्यो र उता गण्डकी नदीको पश्चिम भागलाई त्यतिबेला अन्य राज्य भनिन्थ्यो । त्यतिबेला कौशलहरुले शासन गर्दथे ।

यसको समाधान खोज्ने हो भने मधेस स्वीकार्नै पर्छ । यस मातहतका अरु विषय पनि छन् । मिथिलाको कुरा उठेको छ, मिथिलाको नाममा पनि पाँच जना मारिएका छन् । एक मन्त्रीले मिथिलावासीलाई मधेस नस्वीकारे प्रदेशको राजधानी अरु ठाउँमा लग्ने भनेर चेतावनी दिँदै थिए । त्यो सोचमा पनि क्षेत्रीयता बसेको छ । मधेसको नाममा ऊभित्र उन्माद छ । रौतहट, वीरगंजमा बसेकाहरुको भावना भित्रपनि भोजपुरालगायतका कुरा छन् । अरु ठाउँमा पनि स–साना आन्दोलन छ । असन्तुष्ट पक्षको इच्छा पूरा गरिएन भने आज मधेस नाम राखे पनि असन्तुष्ट तप्काहरुले फेरि आन्दोलनलाई अगाडि बढाउने खालका कुराहरु देखिँदैछ । यसरी नयाँ आन्दोलन हुने देखिन्छ ।

एक तप्का मधेस र मिथिलाको स्वामित्व लिन नचाहेको देखिन्छ, यसले त झनै समस्या बल्झिन्छ नि, होइन र ?

त्यही त यो संकिर्णता सबैले हटाउनुपर्छ । यसरी मैले चार वटा एजेण्डा हेरिरहेको छु । एकातिर मधेस केन्द्रित दल, यसमा माओवादी पनि जोडिए । उनीहरुले मधेस प्रदेश, कसैले जनक प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश भन्दैछन् । यसमा एउटा मिलनबिन्दु बनाउनुपर्ने हो तर यिनीहरुले भोट बैंकको राजनीति गरेको देखिन्छ । सबैले आ–आफ्ना कोण समातेर समस्या हलभन्दा पनि भोट बैंकको निर्माण गर्दैछन् । यी सबै अन्तरविरोधलाई एक ठाउँमा राखेर समस्या समाधान गरेमा नयाँ चिज आउँछ । यसरी हेर्दै जाँदा मधेस, मिथिला भोजपुरा वा अन्य नाम पनि राख्न सकिन्छ । मिथिलाको ठाउँमा तिरहुत राखौँ भने कुरा गर्न पनि सकिन्छ, यो एउटा बहसको विषय बन्न सक्छ ।

हाम्रो राजनीतिक अभ्यासले के देखाएको छ भने समस्या हल नभएपछि कुनै अर्को धूर्त राजनीति गर्नेले नयाँ आन्दोलन खडा गरिदिन्छ । भारत कै उदाहरण हेरौं, भारत स्वतन्त्र हुँदै गर्दा संघीयता आयो । प्रान्तीय शासन सत्ता स्थापना भयो । तर त्यो जनताले इच्छा अनुसार भएन । त्यतिबेला १३ वटा राज्य स्थापना गरिएको थियो । जनताको इच्छाको सम्मान नभएपछि अहिले भारतमा २९ वटा राज्य भइसकेको छ भने अझै पनि राज्यहरु बढ्नसक्ने अवस्था देखिन्छ ।

यो सरकारको पालामै प्रदेशले नाम पाउन सक्छ त ?

यो सरकार जनता र देशप्रति गम्भीर छैन । उनीहरु आफ्नो वर्चश्व स्थापना गर्न लागिपरेका छन् । आफूले चाहेको नाम राखेमा मात्र आफू विजयी हुने भन्ने बुझाइ छ । जनतामा प्रभाव पार्न खोजिरहेका छन् । जनताप्रतिको लापरवाही र गैरजिम्मेवारीपन हो यो । काँग्रेसले मधेस शब्द सुन्नै चाहेको छैन, जुन गलत हो । सबैले एक अर्काको भावना बुझ्न जरुरी छ । भोलिको दिनमा कमजोरहरु बलियो भएमा उनीहरुले पनि दुई तिहाईको बलमा नाम परिवर्तन गरेर आफ्नो अनुकूलको नाम राख्लान्, जुन गलत हो । कोही मधेस सुन्नै नचाहने र कोही मिथिला सुन्नै नचाहने हो भने निकास निस्कन सक्दैन । सबै पक्ष लचक हुन जरुरी छ । भारतमै मिथिला सांस्कृतिक एजेण्डा थियो । तर अब मिथिलाको नाममा राजनीतिक सुरु भएको छ । त्यहाँ पनि मिथिला राज्यको माग उठ्न थालेको छ । यसबाट पनि शिक्षा लिनु जरुरी छ ।

नेपालमा मधेसमात्र राजनीतिक विषय हो, मिथिला होइन ?

नेपालमा त अब मिथिलाको नाममा पनि राजनीति सुरु भएको छ । मिथिला एजेण्डा बनिसकेको छ । जनअपेक्षा अनुसार एजेण्डा निर्धारण हुने हो । गजेन्द्र नारायण सिंहहरूले त पञ्चायत शासनकालमै मधेस खोज्दै थिए ।

आधुनिक नेपालमा मधेसको सुरुवात कसरी भयो ?

पहिले पनि मैले भनिसकेँ, त्यतिबेला मिथिला र कपिलवस्तुलगायत क्षेत्रबाट गएका मध्यदेशीय ब्राह्मणहरुले मल्लकालमा सल्लाहकारको भूमिका निर्वाह गर्दथे । त्यतिबेला सम्मानको दृष्टि र उपेक्षा गर्ने खालका दृष्टि पनि थियो । त्यतिबेला काशी, बनारसलगायत क्षेत्रबाट ब्राह्मणहरु आउन थालेका थिए । पृथ्वीनारायण शाह आए । उनले सबैको अनुहारको हिसाबमा सबैलाई मधेसी भनेर छुट्याए । त्यतिबेला काठमाडौँमा कुमारी चोक अड्डा कार्यालय थियो । त्यहाँ उनले प्रशासनिक कामकाजको हिसाबमा पूर्वी मधेस र पश्चिमी मधेस भन्ने गरिन्थ्यो । सांस्कृतिक रुपमा मिथिलालगायतका संस्कृति जीवितै थियो । पश्चिम नेपालगञ्ज क्षेत्रतर्फ मधेसीलाई देशी भन्ने र पूर्व तर्फका मानिसलाई मधेसी भनेर उनीहरुले छुट्याएर हेप्न थाले ।

अहिले मधेसको वकालत गर्नेहरुले मिथिलाको क्षेत्र ठुलो भएकाले ८ वटा जिल्लालाई मात्रै मिथिला भन्नु ठिक होइन भन्ने गरेका छन् र मिथिलाको वकालत गर्नेहरुले पनि मधेसको २२ वटा जिल्लालाई छाडेर ८ वटा जिल्लालाई मात्र मधेस भन्नु ठिक होइन भन्ने खालका तर्क गरिरहेका छन् नि ?

यसलाई सांस्कृतिक राष्ट्रियताको समस्या भन्न सकिन्छ । मिथिलाको लडाइँ नेपाल र भारतमा पनि छ । यो सांस्कृतिक हो । जनकको समाप्तिपछि मिथिलाको पनि समाप्त भयो ।

मिथिला कुनै समयमा देश थियो । बुद्धकालमा पनि सानो जनपथ थियो मिथिला भनेर । त्यतिबेला बज्जी संघ थियो । तर त्यो पनि जनस्तरमा थिएन । ८ वटा राष्ट्र मिलेर बनेको थियो । मगध ठुलो साम्राज्यको रुपमा विकास भई राजतन्त्रको रुपमा विकसित भइरहेको थियो । साना सना राष्ट्रहरुमा मल्ल, वैशाली, बृज्जि, मिथिला, सिबीलगायत थिए । यसमा पालैपालो सबैले अध्यक्षता गर्थे ।

जनकको समाप्तिसँगै मिथिला कमजोर हुँदै गयो । मिथिलाको काशी, कौशललगायतका क्षेत्रसँग झगडा हुने गर्थ्यो, तर मिथिलाको सानै जनपथ भए पनि प्रतिष्ठा निकै थियो । मिथिला राज्यको रुपमा सानो भए पनि सांस्कृतिकरुपमा भने यसको उच्च महत्व थियो इतिहासकालमा ।

अहिलेको समस्या हल गर्नका लागि अहिलेका जनताको मनमा के छ, त्यसलाई ध्यान दिने हो । किनभने इतिहास हेर्ने हो भने नेपाल देश थिएन । तर अहिले नेपाल छ । हामी वर्तमानमा बाँच्दैछौँ । आजको समस्यालाई समाधान गर्नका लागि इतिहासको अध्ययन गर्ने हो र समस्या समाधान गर्नतर्फ सानादेखि ठुला अन्तरविरोधलाई एकत्रित गर्दै निकास खोज्ने हो । आज मधेससँग बहुमत छ भने उसले प्रदेशको नाम बदलिने हो, भोलि मधेस विरोधीहरु हावी भए भने उनीहरुले नाम बदल्ने हो । त्यसैले एउटा मिलन बिन्दुमा आएर प्रदेशको नाम मिथिला भोजपुरा, मधेस वा यस्तै कुनै सबैलाई जोड्ने खालको नाम राख्नुपर्दछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।