शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघे संक्रान्ति आज्ञाकारी बनाउने पर्व

शनिबार, ०१ माघ २०७८, १७ : ४१
शनिबार, ०१ माघ २०७८

तराई मधेशमा एउटा भनाई खुब प्रचलित छ ‘कि तोहर हम तिल धार्ने छियौं ?’ अर्थात ‘के तिम्रो तिल खाएको छु वा लिएको छु ?’ कसैले कसैलाई कुनै काम अह्राएमा वा कसलाई कुनै काम गर्न भन्दा गर्न मन नलागेमा रिसाएर वा मजाकमा यो कुरा भन्ने आमचलन छ । 

यो भनाई माघे संक्रान्तिसँग जोडिएको विषय हो । यसलाई तिला सकराइ अर्थात तिला संक्रान्ति पनि भनिन्छ । आजको दिन आमा–बुवा वा ठूलाबडाले आफूभन्दा सानालाई चामल, तिल र सख्खर (गुँर) मिसाइएको प्रसाद खान दिँदै सोध्छन् ‘हमर तु तिल बहबिही’ अर्थात तिमीले भनेको काम मान्छौ वा गर्छौ ?’ चामल, तिल, सक्खर मिलाइएको प्रसाद लिनेले ‘हो’ भनेपछि मात्र त्यो दिने चलन रहेको मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रले बताए ।
तिल खाएपछि भनेको कुरा मान्नुपर्छ, कसैको भनाई अनुसार चल्नुपर्छ अर्थात अज्ञाकारी हुनुपर्ने चलन गाउँमा रहेको उनले बताए । यो चलनको किंवदन्ती माघे संक्रान्तिसँग जोडिएको छ । ‘अहिले त त्यो चलन हराउँदै गइरहेको छ नत्र पहिला पहिला बुढापाकाहरुले तिल, चाउर (चामल) लिएर आफ्ना टोलमा बाँड्दै हिँड्नुहुन्थ्यो । तिल, चामल, सक्खर मिसिएको प्रसाद दिँदै सबैलाई मेरो भनाई मान्छु, मेरो सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो, अहिले त्यो चलन हराई सकेको छ तर घरघरमा अझै पनि भइरहेको छ’ उनले भने, ‘मैले हिजै आफ्नो आमाबुबाबाट तिल चामल खाइसके । हरेकको आमा–बुवाले छोराछोरीलाई तिल, चामल खुवाउँदै सेवा सत्कार गर्न प्रतिबद्धता गराउँछन् ।’

तिल खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको उनले बताए । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिल अनिवार्य जस्तै भएको छ । तिल दान गर्नु आफैमा पुन्यको काम हो । त्यसैले तिला संक्रान्तिको दिन तिल खानुलाई विशेष रुपमा लिने गरिएको उनले बताए । 

आजको दिन घरको देवता (घर गोसाँई) लाई नयाँ धानको चामल, तिल र सक्खर मिसाइएको प्रसाद चढाउने गरिन्छ । घर देवताको विशेष पूजा सम्पन्न भएपछि त्यसलाई प्रसादको रुपमा घरका कुनै अग्रजले आफूभन्दा सानालाई दिने गरिन्छ । 

दिदी बहिनीलाई सम्झने दिन

तराई मधेशमा आजको दिन दिदी बहिनीलाई सम्झने दिन पनि हो । आजैको दिन दाजुभाइहरु च्युरा, मुरही (भुजा) लाई (च्युरा, भुजा, तिलको लडु), दही कोशेली (भार) लिएर दिदी बहिनीको घरमा जाने चलन छ । तराई मधेशमा यो अनिवार्य जस्तै भएको छ । 

सङ्क्रान्तिभन्दा अघिपछि दिने पनि गरिन्छ तर संक्रान्तिको दिन दिँदा झन राम्रो मानिन्छ । संक्रान्तिको दिनभन्दा पहिलादेखि नै दिदी बहिनीको घरमा कोसेली लिएर जान सुरु हुन्छ । एक हप्तासम्म पनि कोसेली लिएर जाने चलन छ ।

यसको तयारी एक दुई हप्ता अगाडिदेखि नै सुरु हुन्छ । पहिला पहिला किसानले धान काटेपछि सुरुमै मुरही (भुजा) र च्युराको लागि धान तयार पर्थे । धान कुटाएर किसानले आफै भुजा बनाउँथे आफै ढिकीमा च्युरा कुट्थे ।

त्यस्तै आफ्नै खेतको तिल पनि प्रयोगमा ल्याउथे । आफ्नै खेतको उखुबाट बनेको सक्खर प्रयोगमा ल्याउथे तर आधुनिकतासँगै सबै कुरा ‘रेडिमेट’ पाउन थालेपछि किसानले सबै कुरा बजारबाट नै खरिद गरि ल्याएर पर्व मनाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप