शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘त्यो समय विद्रोही साहित्य प्रकाशन सहज थिएन’

शनिबार, ०१ माघ २०७८, १२ : ४८
शनिबार, ०१ माघ २०७८

साहित्यिक पत्रकारिताको अर्को नाम हो, रोचक घिमिरे । भैरव अर्याल र रमेश विकल जस्ता दिग्गज साहित्यकारका साथले साहित्यिक पत्रकारिता सुरु गरेका उनी ८० वर्षको उमेरमा पनि अझै सक्रिय छन् । नेपाली भाषाका साहित्यिक पत्रिका अत्यन्त न्यून रहेको समयमा, साहित्यिक प्रतिभाहरूले आफ्ना सिर्जना पोख्ने ठाउँको अभाव हुँदा उनले आफ्नै प्रकाशन र सम्पादनमा २०१८ सालमा ‘रचना’ चौमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरेका थिए, जुन यात्रा आज ६ दशकसम्म पनि जारी छ । हाल द्वैमासिकको रुपमा पत्रिका प्रकाशन भइरहेको छ ।

सत्ताको सेन्सरको समयमा पनि वाक् स्वतन्त्रताको पक्षमा र पञ्चायती शासन विरुद्ध उनले साहित्य प्रकाशन, प्रसारण गरेको थिए । पत्रिका प्रकाशनकै कारण उनले कैयौँ पटक अञ्चलाधीशको कार्यालयमा गएर स्पष्टीकरण दिनु परेको थियो । अहिलेका विख्यात लेखक तुलसी दिवस, भैरव अर्याल, रमेश विकल, जगदीश घिमिरे, मनु ब्राजाकी, ध्रुवचन्द्र गौतम, शैलेन्द्र साकार जस्ता प्रतिभाका सुरुका सिर्जना यस पत्रिकाले प्रकाशन गरेकाे हो । पारिजातको मैले नजन्माएको छोरो रचनामै छापिएको हो । त्यहीबाट पारिजात कथाकार भएकी हुन् । भूपि शेरचनको ‘हुँदै बिहान मिर्मिरे तारा झरेर नगए...’ कविता रचनामै निस्किएको हो । प्रस्तुत छ, इतिहास कायम गरेका रोचक घिमिरेसँग पहिले र अहिलेको साहित्यिक पत्रकारिताको विविध विषयमा रहेर रातोपाटीले गरेको अन्तरङ्ग कुराकानी :

–पछिल्लो समय केमा अलमलिनु भएको छ ?

करिब दुई वर्षदेखि बाहिर जाने, साहित्यिक कार्यक्रममा भाग लिने सबै बन्द छ । पत्रपत्रिका, पुस्तक अध्ययन गर्ने, टेलिभिजन हेर्ने, फोनमा कुराकानी गर्छु, खास अरू गतिविधि छैनन् । हार्नै नसक्ने ठाउँमा कार्यक्रम पर्यो भने जान्छु । भेटघाट जस्ता कार्यक्रम प्रायः बन्द गरेको छु ।

रचना पत्रिका निजी क्षेत्रबाट निस्किएको छ, यसमा कोही बाहिरको स्टाफ संलग्न छैन । आफ्नै परिवारबाट चलाइएको छ । यिनीहरूलाई तलब दिएको, पत्रिकाबाट कमाएको बैङ्क ब्यालेन्स कहाँबाट देखाउने ? रचना पत्रिकालाई पनि विभिन्न किसिमले दुःख दिएको अवस्था छ ।

–अझै रचना द्वैमासिकको काम गर्दै हुनुहुन्छ ?

अहिले मभन्दा पनि छोराहरु सुधीर र प्रतीकले गर्दै आएका छन् । प्रतीकले विशेष ध्यान दिएको छ । कानुनी क्षेत्रको भए पनि उसलाई साहित्यमा रुचि छ, लेख्ने पनि गर्छ । उसकै अभिरुचि र सहयोगमा निस्किरहेको छ । मैले अलिअलि हेर्ने गरेको छु ।

– के यसलाई पुस्तान्तरण गर्न खोज्नु भएको हो ?

अब के गर्ने ? उनीहरूले पनि सिकून्, जानून्, पुर्खाले गरेका काममा चाख छ भने राम्रै हो । अभिरुचि बढ्दै जाओस् भनेर छोड्दै गएको छु । व्यवस्थापन जेठो छोरा सुधीर घिमिरेले गर्दै आएको छ । सम्पादन चाहिँ प्रतीक घिमिरेले हेर्छ ।

–यो पत्रिका हालसम्म कहिल्यै बन्द भएन त ?

२०१८ सालमा पहिलो पटक चौमासिक भएर प्रकाशनमा आयो । पछि त्रैमासिक भयो, अनि द्वैमासिक भयो तर बहुदलीय व्यवस्था आएपछि भने करिब चार वर्ष निस्किएन । त्यसका पनि विभिन्न कारण छन् । त्यसपछि निरन्तर प्रकाशन हुँदै आएको छ ।

–साहित्यिक पत्रकारिता नै किन रोज्नुभयो ?

मेरा बुवा सोमनाथ घिमिरे ‘व्यास’ लेखक–साहित्यकार हुनुहुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, योगी नरहरि नाथ, जनकलाल शर्मा, बदरीनाथ भट्टराई, माधवलाल कर्माचार्यलगायत उहाँका मित्र थिए । उहाँहरू घरमा आउने, जमघट गर्ने, साहित्यिक सिर्जना सुन्ने, सुनाउने गर्नुहुन्थ्यो । बुवाका कोठामा त्योबेलाका साहित्यिक पत्रिका, नेपाल, भारतका दार्जिलिङ, कालिङ्पोङबाट पत्रपत्रिकाहरू आउँथे । ती पत्रिका हेर्थें । बुबाले लेख, कविता, निबन्ध, नाटक चिनाउँदै पढ्ने कुरा भन्नुभयो । अनि विस्तारै पत्रिका पढ्नतिर चाख जाग्यो ।

२०१६ सालको अन्त्यतिर भैरव अर्यालसँग मेरो चिनजान भयो । त्यतिबेला उनले हास्यव्यङ्ग्य लेख्न सुरु गरेका थिए । उनी हाम्रोमा आउने जाने भयो, रमेश विकललाई पनि चिनाए । भैरव अर्याल र रमेश विकल मेरो साथी भए । तिनले पत्रिका प्रकाशनमा हौसला दिए ।

–रचना प्रकाशन चाहिँ किन ?

त्यतिबेला मलाई नेपाली भाषामा निस्किएका पुस्तक र पत्रपत्रिका सबै मसँग हुन् भन्ने लाग्थ्यो । सबै किनेर ल्याऊँ, पढूँ भन्ने लाग्थ्यो । मैले आफ्नै घरमा ‘रोचक पुस्तक सदन’ खोलेको थिएँ । त्यो देखेर एक दिन भैरव अर्यालले मलाई “यो सबै किन्छौ, राख्छौ, पढ्छौ । यो किन गर्नु ? यत्रो खर्च नगरौँ । पत्रिका किन्ने यो पैसाले त हामी नै पत्रिका निकाल्न सकिहाल्छौँ नि, कुनै एउटा पत्रिका निकालौँ,” भने । मैले कोरा पाठक मात्रै हुँ म, लेख्ने, सम्पादन गर्ने कार्य मबाट सम्भव छैन भनेँ । उनले तिमी हुन्छ मात्र भन र प्रकाशन चाहिँ गर न, पछाडि त हामी छँदै छौँ नि, म गरिहाल्छु, रमेश विकलले पनि गरिहाल्छन् भने । अनि सहयोग गर्ने भए म निकाल्छु भनेँ ।

२०१८ साल मङ्सिर महिनामा चौमासिक प्रकाशनका रूपमा रचना पत्रिका निस्कियो । त्यसको सम्पादक र प्रकाशक म नै भएँ । व्यवस्थापकमा पुरु रिसाल र सरोज घिमिरे थिए ।

भैरव अर्याल र रमेश विकलले साहित्यकारहरूसँग लेख रचना मागेर ल्याउने, सम्पादन गरिदिने गरे । भैरव अर्यालले एक वर्ष बढी गरे । त्यो अवधिमा मैले उनीहरूसँग सिकेँ । दोस्रो वर्षदेखि मैले आफै गर्न थालेँ । सुरुका सम्पादकीय भैरवले नै लेखेका हुन् । दोस्रो वर्षबाट निरन्तर मैले नै लेखें ।

–त्यतिबेला तपाईंका प्रतिस्पर्धी साहित्यिक पत्रिका पनि थिए त ?

२०१७ बाट रूपरेखा द्वैमासिक प्रकाशन भएको थियो । यो स्तरीय रूपमा आएको थियो । कसले उत्कृष्ट रचना छाप्ने, ल्याउने भनेर प्रतिस्पर्धा हुन्थ्यो । ‘शारदा’ पत्रिका त त्यतिबेला बन्द नै भएको थियो । ‘इन्दु’ पत्रिका थियो । श्यामप्रसाद शर्माले निकालेको ‘साहित्य’ भन्ने पत्रिका पनि थियो । त्यति धेरै पत्रिका थिएनन् । ४, ५ वटा थिए ।

सूचना विभागले व्यापार हो कि भाषा साहित्यको सेवा हो हेर्दैन । कान्तिपुर, नयाँ पत्रिकासँग यी साहित्यिक पत्रिकालाई मूल्याङ्कन गर्नुहुँदैन । यिनीहरूले त भाषा साहित्यको सेवा गरेका हुन् । यसबाट धेरै प्रतिभा जन्मिएका छन् । रचनाकै कुरा गर्ने हो भने अहिलेका विख्यात तुलसी दिवस, भैरव अर्याल, रमेश विकल, जगदीश घिमिरे, मनु ब्राजाकी, ध्रवचन्द्र गौतम, शैलेन्द्र साकार जस्ता प्रतिभा जन्माएको हो ।

–पत्रिकाको बिक्रीले नाफा घाटा के हुन्थ्यो ?

त्योबेलाका बिक्रेता इमानदार थिए, बिक्री पनि मज्जाले हुन्थ्यो । पत्रिका बेचेको पैसा पनि पाइन्थ्यो ।

रचनाको पहिलो अङ्क निस्किएको पाठकहरूले थाहा पाएपछि पढ्नका लागि उपत्यका बाहिरबाट चिठी आउन थाले । भारतको सिलोङ, आसामबाट हरिभक्त कटुवाल, दार्जिलिङबाट गुमानसिङ चाम्लिङ, कालिङ्पोङबाट लोकेशसिंह प्रधान, भोजपुरबाट परशु प्रधान, धनकुटाबाट तुलसी दिवस, तेह्रथुमबाट वसन्त सिटौला लगायतले चिठी पठाए । उनीहरूले यो अङ्क र ग्राहक बन्ने रसिद पठाइदिनु भनेर चिठी लेखे । त्यो रसिद र पत्रिका पठायौँ पनि । धमाधम ग्राहक बनाइदिए । सबैभन्दा बढी तेह्रथुम, भोजपुर, धनकुटा, विराटनगरबाट ग्राहक बने । ग्राहकलाई हुलाकबाट पत्रिका पठाउँथ्यौँ । उताबाट बैङ्क ड्रफ्टबाट पैसा आउँथ्यो । खर्चको चाँजो मिलाउन गाह्रो भएन ।

अहिलेको सूचना विभाग जस्तै त्योबेला प्रचार विभाग थियो । त्यसको डाइरेक्टर नारायणप्रसाद बाँस्कोटा थिए । उनले रूपरेखा पत्रिकाका हरेक अङ्कलाई ३, ३ सय रुपियाँको विज्ञापन दिन्थे । हामीले पनि रचना साहित्यिक पत्रिका निकाल्दैछौँ, सहयोग चाहियो भन्न गयौँ । पहिलो अङ्क हेरेर मात्र गरौँला भने तर पहिलो अङ्क नछापिँदै १५० रुपियाँको विज्ञापन दिए । किनभने उनले पनि ‘प्रगति’ पत्रिका निकाल्थे तर त्यो बेलामा बन्द भइसकेको थियो ।

पहिलो अङ्क निकालेपछि रचनाको प्रशंसा गरे अनि दोस्रो अङ्कदेखि रूपरेखाले पाएसरह नै ३ सय रुपियाँको विज्ञापन दिए । त्यो विज्ञापन कभरको पछिल्लो पेजमा छापिन्थ्यो । पूर्व–पश्चिम राजमार्गको विज्ञापन हुन्थ्यो, कहिले राजा महेन्द्रका वाणी हुन्थ्यो । यसरी २०२५, २६ सालसम्म प्रचार विभागबाट नियमित विज्ञापन पायौँ ।

त्यो बेला ५ सय प्रति निकाल्न करिब ५ सय रुपियाँ भए प्रेस खर्च पुग्थ्यो । त्योमध्ये ३ सय प्रचार विभागबाट पाउँथ्यौँ, अरू विज्ञापनबाट पनि आउँथ्यो, नपुगे गोजीबाट पनि हाल्थ्यौँ ।

–रचनालाई विद्रोही साहित्यिक पत्रिका भनिन्थ्यो, त्यसमा केकस्ता विद्रोही सिर्जना छापिएका थिए ?

त्योबेला अभिव्यक्ति स्वतन्त्रताविरोधी पञ्चायती सत्ता थियो । व्यवस्था विरोधी व्यङ्ग्य र गाली गर्नसक्ने अवस्था थिएन । तर साहित्यकारहरूले विम्ब, प्रतीक अनेक आवरणमा गाली त गरिहाल्थे । हरेक अङ्क निस्किनुअघि पत्रिका अञ्चलाधीशलाई देखाएर पास गर्नुपथ्र्यो, अनि मात्र प्रकाशन गर्न पाइन्थ्यो । त्यो अफिसको फाँटवाला कर्मचारीलाई आपत्तिजनक लाग्यो भने लाइन लाइन कालोले पोतिदिन्थ्यो । यो राख्न पाइँदैन, हटाउनुपर्छ भन्थ्यो । कुनै कुनै त लेख नै हटाउनुपथ्र्यो । त्यसपछि मात्र पास गरेर दिन्थे ।

एक पटक जगदीश घिमिरेले आफ्नो साविती उपन्यास प्रकाशन गर्न पाण्डुलिपि रत्न पुस्तक भण्डारलाई र अरू प्रकाशन गृहमा दिए । तर त्यसको कथावस्तु हेरेर सरकारविरोधी छ, छाप्दैनौँ भने । नेपालबाट नभएपछि दार्जिलिङमा श्याम ब्रदर्स प्रकाशनमा पुर्याए । त्यसले पनि छाप्न मानेन ।

त्यो पाण्डुलिपि पढेपछि मलाई जसरी पनि प्रकाशनमा ल्याउनुपर्छ भन्ने लाग्यो । अनि जगदीशलाई रचनाको एउटा अङ्कमा म निकाल्छु भनेँ । त्यो  आँट किन गरेँ भने त्योबेला मेरो आफ्नै व्यास प्रेस थियो । त्यो प्रेस मेरो बुबा सोमनाथ घिमिरे ‘व्यास’ले कलकत्ताबाट २०२४ सालतिर किनेर ल्याउनुभएको थियो । आफ्नै प्रेसमा छाप्ने, जे पर्ला भनेर आँट गरेँ ।

साविती उपन्यास छाप्दा मैले एउटा बठ्याइँ गरेँ । क्षेत्रप्रताप अधिकारी त्योबेलाका राजावादी कविमा गनिन्थे । उनका गीतहरू पनि थिए, ‘चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिइन्’ जस्ता प्रकारका । उनैको एउटा कविता मागेँ र त्यो रचनाको पहिलो पेजमा कविता छापेँ । त्यसपछि त्यस्तै खालका एक दुईवटा कविता छापेँ । अनि मात्रै साविती भनेर जगदीशको उपन्यास छापेँ ।

त्यसपछि अञ्चलाधीशकहाँ पास गर्न एकप्रति लगेँ । त्यहाँको कर्मचारीले हेर्यो । सुरुमै राजावादी कवि क्षेत्रप्रताप अधिकारीको कविता देखेपछि राजावादी कविको रहेछ, यसमा के आपत्ति जनाउनु भनेर आँखा चिम्लिएर उसले स्वीकृत गरिदियो । पास गरेको प्रमाण लिएँ । अनि छापियो, बिक्रीवितरणका लागि सबैतिर पठाइयो । त्यसले अत्यधिक चर्चा पायो ।

यसपछि जगदीश र मैले साविती उपन्यासबारे परिचर्चा गर्ने भनेर स्विस रेस्टुराँमा गएर गोष्ठी गर्यौँ । नेपालका प्रबुद्ध पत्रकार, साहित्यकार ३०, ४० जना भेला भयौँ । समाचार त्योबेलाका समीक्षा, मरुभूमि लगायतका साप्ताहिक पत्रिकाहरूले ब्यानरमा सबै वक्ताका नामसहित छापे । अभिव्यक्ति स्वतन्त्रताविरोधी सत्तामाथि पनि प्रहार गरिएको भनेर आयो ।

त्यसपछि पञ्चायती सत्ताका माथिमाथि कुरा पुग्यो । त्यस्तोलाई पनि किन छोडिदियो भनेर अञ्चलाधीशकहाँ खबर पुगेछ । अनि मलाई स्पष्टीकरणको पुर्जी काट्यो । म पनि अञ्चलाधीशले पास गरिदिएको पत्र बोकेर गएँ ।

त्यतिबेला विष्णुप्रताप शाह सहअञ्चलाधीश, सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश थिए । विष्णुप्रतापको कोठामा मलाई लगियो । मदन रेग्मीमार्फत् उनलाई मैले पहिले नै चिनेको थिएँ । अनि उनले यस्तो आपत्तिजनक किन छापेको भने । ती कर्मचारीको अगाडि चाहिँ व्यवस्थाविरोधी उपन्यास किन छापेको, यस्तो छाप्नुहुँदैन भन्ने थाहा छैन भनेर गाली गरेजस्तो गरे । मैले पनि यस कार्यालयबाट पास गराएर नै छापेको हुँ, अटेर गरेर होइन भनेर पत्र पनि देखाएँ । रचनाको वर्ष, अङ्क उल्लेख गरी छाप्न स्वीकृत गरिएको चिठी थियो त्यो ।

उनले बचेर काम गर्नु भनेर मलाई जोगाए । अलिअलि मैले पनि बठ्याइँ गरेँ, विष्णुप्रताप शाहले पनि सहयोग गरे र बचेको हुँ । त्योबेलामा पत्रिका निकाल्न साह्रै जोखिम मोल्नुपथ्र्यो ।

–नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्ष पनि हुनुभयो, तपाईंको कार्यकालका उल्लेखनीय उपलब्धि केके देख्नुहुन्छ ?

साहित्यिक पत्रकार सङ्घ भन्ने भवानी घिमिरेले २०२९ सालमा नै खोलेका थिए । उनी पहिलो संस्थापक अध्यक्ष हुन् । त्यसपछि अच्युतरमण अधिकारी, नगेन्द्रराज शर्मा, विश्वविमोहनहरू अध्यक्ष भए । त्यो संस्थाले पछिपछि साहित्य पत्रकारितामा खास केही गरेन, गैरसाहित्यिक व्यक्तिहरूलाई सदस्य बनायो, साहित्यिक पत्रकारिताभन्दा अरू गतिविधिमा लाग्यो भनेर धेरै साहित्यिक पत्रकारहरू त्यसबाट अलग भएर अर्को संस्था खोलौँ भनेर लागेछन् । विशेष गरेर नकुल सिलवाल, मातृका पोखरेल, मोहन दुवाल, चेतनाथ धमला यसमा लागेका थिए । उनीहरूले नै पहिले नै एउटा कमिटी बनाएछन् । त्यसपछि मलाई अध्यक्ष बनिदिनुपर्यो, तपाईं अध्यक्ष भएपछि धेरै साहित्यकार समेटिने भए, हामीले मात्र गरेर भएन भनेर मकहाँ आउनुभयो । यति समय साहित्य पत्रकारितामै लागेकाले बाध्य भएर साहित्यिक पत्रकार सङ्घको अध्यक्ष बनेँ । त्यसमा प्रायः सबै नै साहित्यिक पत्रिका निकाल्नेहरू र साहित्यिक पत्रकारहरू सामेल भए ।

त्यतिबेला साहित्यिक पत्रिकाहरूलाई सूचना विभागले विज्ञापन दिँदैन थियो । त्यसका लागि धेरै सङ्घर्ष गर्यौँ । म साहित्यिक पत्रकारिताको प्रतिनिधि भएर प्रेस काउन्सिल गएपछि साहित्यिक पत्रकारहरूलाई पुरस्कार दिने, साहित्यिक पत्रकारिताबारे ठाउँ ठाउँमा गोष्ठी गर्ने, जति साहित्यिक पत्रिका आउँछन्, त्यसको अभिलेखको व्यवस्थापन गर्ने, प्रेस काउन्सिलको वार्षिक प्रतिवेदनमा एक च्याप्टर साहित्यिक पत्रकारिताका गतिविधि राख्ने जस्ता काम गरेँ । साहित्यिक पत्रिकालाई वर्गीकरणमा पार्न प्रयास गर्यौँ । वर्गीकरणमा पर्यो, सूचना विभागले विज्ञापन पनि दिन थाल्यो । साहित्यिक पत्रकारिताबारे आलेखन भन्ने एउटा वार्षिक पत्रिका पनि निकाल्न थाल्यौँ । यस्तै विविध काम मैले २ कार्यकालमा गरेँ अनि नगेन्द्रराज शर्मा हुनुभयो । अहिले मोहन दुवाल अध्यक्ष हुनुहुन्छ ।

–पहिलेको तुलनामा साहित्यिक पत्रिका निकाल्न अहिले सहज हो ?

वर्गीकरणमा परेका, सूचना विभागबाट विज्ञापन पाउने केही पत्रिकाहरूलाई सहज छ । तर त्यो विज्ञापन पाउन साहित्यिक पत्रिकालाई पनि श्रमजीवी पत्रकारिता ऐन लागू गर्नुपर्छ भनिरहेको छ । श्रमजीवी पत्रकारहरूले तलब बुझेको देखाउनुपर्ने, बैङ्क ब्यालेन्स देखाउनुपर्ने लगायत अनेक झन्झट ल्याइएको छ । रचना पत्रिका निजी क्षेत्रबाट निस्किएको छ, यसमा कोही बाहिरको स्टाफ संलग्न छैन । आफ्नै परिवारबाट चलाइएको छ । यिनीहरूलाई तलब दिएको, पत्रिकाबाट कमाएको बैङ्क ब्यालेन्स कहाँबाट देखाउने ? रचना पत्रिकालाई पनि विभिन्न किसिमले दुःख दिएको अवस्था छ । यो ५ सय प्रति प्रिन्ट हुन्छ, हरेक अङ्क काउन्सिललाई पीडीएफ पठाउनुपर्छ । वेभमा पनि राखिएको छ । वेभबाट संसारका मानिसले पढिरहेका छन् । अनि ५ सय प्रति नै छापिएको, कहाँकहाँ जान्छ भनेर उसले बुझ्नुपर्ने जस्ता नचाहिने झन्झट काउन्सिलले दिइरहेको छ । लोककल्याणकारी विज्ञापनवापत २० हजार दिने भन्छ, केके काटेर १६ हजार दिन्छ । त्यो लिनलाई महाभारत पर्छ ।

तर सूचना विभागले व्यापार हो कि भाषा साहित्यको सेवा हो हेर्दैन । कान्तिपुर, नयाँ पत्रिकासँग यी साहित्यिक पत्रिकालाई मूल्याङ्कन गर्नुहुँदैन । यिनीहरूले त भाषा साहित्यको सेवा गरेका हुन् । यसबाट धेरै प्रतिभा जन्मिएका छन् । रचनाकै कुरा गर्ने हो भने अहिलेका विख्यात तुलसी दिवस, भैरव अर्याल, रमेश विकल, जगदीश घिमिरे, मनु ब्राजाकी, ध्रवचन्द्र गौतम, शैलेन्द्र साकार जस्ता प्रतिभा जन्माएको हो । पारिजातको मैले नजन्माएको छोरो रचनामै छापिएको हो । त्यहीबाट पारिजात कथाकार भएकी हुन् । भूपि शेरचनको ‘हुँदै बिहान मिर्मिरे तारा झरेर नगए...’ कविता रचनामै निस्किएको हो । त्यो योगदानको मूल्याङ्कन चाहिँ नहुने, यति प्रसिद्ध पत्रिकालाई पनि त्यो झन्झट र दुःख दिइरहेको अवस्था छ ।

तर साथीहरूको लहलहैमा र आफूले दुःख गरेर गरेको काम अहिले इतिहास बनेछ । अहिले चाहिँ रमाइलो लाग्दो रहेछ । आनन्द आउँछ, सन्तोष लागेको छ । त्यो दुःख अहिले सुखैजस्तो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप