ad
x
साहित्य

निबन्ध : जीवनको उद्दाम वेग

person explore access_timeमाघ १, २०७८ chat_bubble_outline0

वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको संगम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको आवेग हेर्न पनि म औधी लोभिन्छु । निलसागरमा बेगिँदै बटारिँदै उर्लिने सामुद्रिक ज्वारभाटाले मनमा आनन्दको ज्वार पलाउँछ । छाँगाबाट बेग हान्दै झर्ने भर्नाले हृदय विमोहित गर्छ ।


प्रकृतिका हर वेगहरूमा आवेगहरूमा आफ्नै जीवनको उद्याम वेग देख्छु म । यी वेगहरूले मभित्र जीवनको उत्कट आशावाद अभिसञ्चार गर्दछन् । भर्खरै गगनपथबाट बेगिँदै बटारिँदै रौद्र गर्जना ओकल्दै आएको कालो बादलले एक झर पानी झार्यो । खङ्ग्रङ्ग सुकेको धर्तीवीच जीवनका अङ्कुरण पलाउन थाले । वर्षात् छर्नुअघि वेग हेर्न ल्याएको थियो । हुलका हुल बादलहरू एक अविराम वेगमा पूर्वबाट पश्चिम दौडिरहेथे । धुनियाले पल्लामाथि रुवा फिँजाएझैँ छिनभरिमा आकाशको पल्लाभरि मेघजाल फिँजियो । र, निमेषभरमै पानीका दानाहरू ओइरिन थाले । 



प्रकृतिका यिनै वेगले मलाई भित्रबाट छुन्छन् । भित्रका मेरा कोमल तन्तुहरूलाई स्पर्श गर्छन् । कम्प दिन्छन्, साथै मभित्रका जड यवयवहरूलाई पनि यिनले छुन्छन् र मलाई तरङ्गित बनाउँछन् । यिनले गतिशील जीवनका लागि उद्वैलित पार्छन् । जीवन यात्रामा एक अभिनव रोमाञ्च थाप्छन् ।



मलाई जडताको जकडबन्दीबाट माथि उकासेर अविराम दौडाउन थाल्छन् । जीवनहीन रुग्ण अवस्थालाई तोडेर जाग्रत उज्यालोतिर अभिमुख गराउँछन् । मलाई हरदम उज्यालोको उपासक बन्न प्रेरित गर्छन् । मलाई हरदम गत्यात्मक जीवनको अथक गायक बनिरहन निर्देश गर्छन् । यसरी प्रकृतिका हर वेगहरूले जीवनहीन अवस्थाबाट जीवनशील पदमार्गको गोरेटोमा मलाई हिँडाइ रहन्छन् ।



मानिस प्रकृतिका हर अवयवबाट प्रेरित छ, पल्लवित छ, पुष्पित छ । प्रकृतिबाटै मानिस उदे्रक आनन्द प्राप्त गर्छ । सुख, दुःख, आँसु, हाँसो सबै प्राकृत तवरले निसृत छन् । यसले मानिसलाई जडताबाट माथि उठ्न कुत्कुत्याउँछ । मूढताबाट मुक्त हुन बल पुर्याउँछ । सुस्तताबाट तीव्रतातर्फ त्वरित उचाइ हासिल गर्न ऊर्जा थप्छ ।



प्रकृतिको सत्ताले मानवीय चेतन–सत्तालाई परोक्ष–अपरोक्ष रुपमा प्रवावित मात्र गर्दैन, पुनर्सिर्जन र परिष्कारतर्फ पनि डोर्याउँदछ । कविले फूल हेरेर फूलजस्तै सुन्दर कविता रच्न सक्छ । हिमाल हेरेर आफ्नो स्वाभिमानलाई हिमालझैँ अटल र उच्च बन्न प्रेरित गर्छ । नदीबाट जीवनको अविरल प्रवाहमा पौडिने प्रेरणा सँगाल्छ । चराको वेग देखेर आकाशमा उडान भर्ने सपना सँगाल्छ ।



प्रकृतिका विम्वबाट मानिसले आफ्नै जीवनका विम्वहरू कुँद्न सक्छ । प्रकृतिका लयबाट मानिसले आफ्नै जीवनमा लयविधान उमार्न सक्छ ।



प्रकृतिकै अनुप्रेरणाले जीवनका उत्कर्षहरू छुँदै आएको छ मानिसले । चराकै वेग हेरेर जेट–विमान उडाउने कला जान्यो भन्छन् विचारकहरू । आँधीको वेग देखेर सुपरसोनिक रेलको वेग झिक्यो भन्छन् चिन्तकहरू । समुद्रको अतल गहिराइमा माछीगणको बाँकटे वेग देखेर पन्डुब्बीमा पौडीकला थप्यो भन्छन् मर्मज्ञहरू ।



नदीको वेगमा जीवनको अनमोल स्पन्दन छ । जलराशीको प्रवाहमा जीवनको गति सल्वलाइरहेको छ । समुद्रमा मात्रै कहाँ उठ्छ र ज्वारभाटा ? मानिसको हृदयमा पनि ज्वारभाटा उठ्ने गर्छ । अनेक आलोडन–विलोडन मच्चिने गर्छ ।

प्रकृतिको झञ्झावातले हृदयमा पनि विचारको भावको झञ्जा पैदा हुन्छ । जसले मानिसलाई ऊध्र्वगामी बनाउँछ । जसले जमिनबाट मानिसलाई आकाशगामी बनाउँछ । जमिनको घस्रिने अवस्थाबाट वायविक उडान भर्ने बनाउँछ । कस्मिक उडानमा लैजान्छ ।

कुवाको पानीमा कुनै वेग हुन्न । पोखरीको पानीमा कुनै वेग हुन्न । आफैँभित्र कुहेर कीटाणुमय बनेको हुन्छ पोखरी । यसको अन्तरगर्भमा दुर्गन्धको कालो लेदो जमेको हुन्छ । जसले गर्दा झरनाको वेगमा जुन कञ्चन स्फटिकको आभा तैरिन्छ, कुवाको पानीमा त्यसको अभाव रहन्छ ।

वेगमा त सौन्दर्यको अनौठो जादू खुल्दछ । यसमा जीवनका अद्वितीय स्पन्दनहरू चल्मलाइ रहेका हुन्छन् । वेगहीन, गतिहीन चिजहरूमा त्यो सौन्दर्य देख्न सकिन्न । आकाशमा उँगेको सूर्यलाई सुन्तलाको दानो ठानेर टिप्न उडेको पवनपुत्र हनुमानको वेगले सानैमा लोभ्याएको थियो मलाई । बाज बेगिएझँै आकाशमा बेग हानेर समुद्र माथि उडेको हनुमान लंका पुगेर एक झमटमा नै सीता भेटी अशोक वाटिका विनाश गरेको मिथकले मलाई मोहनी लाइरहेको छ । 

सुरुमा हनुमानलाई आफ्नो वेग कति हो ? थाहै थिएन । आफू कति उड्न सक्छु, पत्तै थिएन । आफ्नो सामथ्र्यको कुनै इन्तिजाम थिएन । हनुमानपनि अरु बाँदरकै हुलमा मिसिएर रोइरहेथ्यो । सीताजीलाई लंकापति रावणले हरेर समुद्र पारी पुर्याएको रहेछ, अव कसरी लंका पुग्ने ? निरीह बाँदर सेना समुद्र किनारमा बसी आलाप–विलाप गर्न थाले । रामजीका सामु कसरी मुख देखाउने विलखवन्दमा परे । हनुमान पनि अरु सरदर बाँदरजस्तै रुन थालेपछि अङ्गद अघि सरेर हनुमानको वेग वर्णन गरिदिए– तिमीले हामीजस्तो रुन मिल्छ; तिमीले हामीजस्तो काँतर स्वभाव देखाउन मिल्छ ? तिमी त जन्मिदै सूर्य छुन उडेका वीर पवनपुत्र हनुमन्त हौ । तिमीले आँट्ता यो समुद्र सहजै पार गर्न सक्छौ, तिमीमा त्यो वल छ, त्यो सामथ्र्य छ, त्यो शक्ति छ । तिमी चानचुने बाँदर होइनौ । साक्षात् वायुपुत्र हौ । तिमीभित्र वायुवेग छ । तिमीबाट मात्र रघुनाथले सुम्पिएको जिम्मेवारी हल हुन सक्छ ।

अङ्गदले ऊ भित्रको वायुुवेग चिनाइ दिएपछि हनुमान यसरी उड्यो, क्षणभरमै लंका पुग्यो । सीता भेट्यो, रामको औंठी दियो । रावणको वगैँचा मात्र सोत्तर बनाएन कि एकसरो लंका जलाएर पञ्चवटी फक्र्याे ।

उ वेलाको हनुमन्त मिथकीय एक प्रतीक हो । अहिलेका मान्छेका लागि एक शिक्षा हो । एक संकेत हो । यस प्रतीकले प्रत्येक व्यक्तिभित्र एक वायु वेग छ भन्ने कुरा उद्घोष गर्छ । प्रत्येक व्यक्तिभित्र वायविक उडानको क्षमता छ भन्ने कुरा अभिव्यञ्जित गर्छ । तर, व्यक्तिभित्र विन्यस्त वायविक वेग चिनाइदिने अङ्गदहरूको जरुरी हुन्छ क्यारे ।

आदिमकालको मानुष वेगले उडेका चरी पक्रिने सामथ्र्य राख्थ्यो । भीमकाय जन्तुजनावरलाई ढुंगा, भाला, वर्छाको वेगले तितरवितर पार्ने मात्र होइन, तिनलाई मारेर मासु भक्षण गथ्र्यो । जंगली कविला युगमा एक अर्कालाई लखेटालखेटको क्रम चलिरहन्थ्यो । कहिले जनावरबाट लखेटिइन्थ्यो मानिस, कहिले जनावरलाई लखेट्थ्यो मानिस ।

जनावरले लखेट्ता पनि जीवन रक्षाको सीमान्त विन्दुमा वेग हानेरै बँच्तथे । वेग हानेर भागेन भने जनावरले शिकार बनाइहाल्थ्यो । मान्छे र जनावर बीचको भीषण द्वन्द्वमा मान्छेले जित्दा जनावरको शिकार गर्थ्यो । जनावरले जित्दा उसले शिकार गर्थ्यो । आदिम शिकारी युगमा जो वेगिलो बन्यो, सो बँच्यो । जो वेगिलो बन्न सकेन, ऊ मर्यो । वेगमा अडिएको थियो जीवन । 

लाखौँ किलोमिटर टाढाबाट वेग हानी आउने रविरश्मिले मेरो धरा आलोकित छ । घामका किरणहरूको वेगमा जुन आतुरता छ, त्यो आतुरता अन्य कुनै चिजको वेगमा छैन । त्यति टाढाबाट केही मिनेटमा केही सेकेन्डमा किरण धर्ती ओर्लिनु एक चमत्कार ठान्छु म । जीवनलाई पोषण दिन र परिताप दिनकै लागि वेग मारी आएको हो कि त घाम । यसकै ऊष्मामा जाडो र अँध्यारोले विदा लिन्छन् । 

दिनमा रविरश्मि वेग हानी आएझैँ रातमा चाँदरोशनी वेग मारेर धर्ती ओर्लिन्छ । रातको घनघटालाई शीतल उज्यालो पोतेर धर्तीमा माधुर्य मग्मगाउँछ । बादलबाट वेग हानी झर्ने वर्षात्का बुँदले धरणी हराभरा भई तरुणी बन्दछिन् । यिनै बाछिटाका वेगले मरुभूमितुल्य माटोमा अनन्त जीवन तृणका अङ्कुरण लहलहाउँछन् । केही दिनमा फ्रुस्रो माटोबीच पनि घाँसका लहलह तरेलीहरू झुल्न थाल्दछन् र सन्ध्यामा त्यहाँ किरीहरूको गीत उठ्छ, जुनकुरीहरूको नृत्य छुट्छ ।

धर्तीलाई शश्यश्यामल र मनमोहक बनाउनमा बादलको यो सानो वेगले कति अहम् भूमिका खेलिरहेको छ ? धर्तीमा जीवनका अनन्त अनुराग उमार्न कति ठूलो भूमिका खेलिरहेको छ ? त्यसलाई नजर अन्दाज गरिरहेछु । 

एक साँझ मेरो घरको बार्दलीमा एउटा सेतो रङको परेवी वेग हानी आई । धर्तीमा कालो अँध्यारो पोखिइसकेको थियो । कुखुरा, परेवा आफ्नो आलयभित्र पसेर निदाउने सुरमा थिए । तर, त्यो परेवा निकै विचलित अवस्थामा थियो । निकै हतास मुद्रामा थियो त्यो । मानौं ऊ जीवनरक्षाको याचनाका साथ मेरो टाङमुनि घुस्रेको थियो । केही सेकेण्डमै एउटा कालो बाज घरको धुरी चक्कर मारेर पश्चिम क्षितिजतर्फ लापत्ता भयो ।

मलाई अनुमान लगाउन गाह्रो भएन अव, त्यो आतुर मुद्रामा आएको परेवालाई बाजले लखेटेको लख काटेँ । वेग हानी आएको परेवाले मभित्र अनेकन संवेगहरू जन्माइदियो ।

मलाई गहिरो अनुभूति भयो, वेगले संवेग पनि जन्माउँदो रहेछ । जीवन मरणको दोसाँधमा वेग हानी आउने परेवाले मभित्र करुणा जन्मायो । त्यसलाई बडो माया गरेर, जतन गरेर पुरानो गुँडमा राखेँ । त्यो एकदमै आतंकित मुद्रामा थियो । कहाँबाट कसरी लखेटिएर यहाँ आइपुग्यो, मैले कुनै अन्दाज गर्न सकिराखेको थिइनँ । यति सानो पंक्षीलाई पनि मानव चरीको कति ठूलो भरोसा छ ? नत्र किन मेरो बार्दलीमा घुस्रिन आउँथ्यो ।

मलाई भित्रबाट एक सान्त्वना मिल्यो, कम्तिमा अव यो परेवाको जीवन बाँच्यो । मेरो पासमा अव यो सुरक्षित छ । तर एकाध घण्टामै स्थिति उल्टो भयो । गाउँकी एक महिला आएर मेरो हराएको परेवा यहाँ आएको छ रे ! लिन आएकी भनिन् । मैले लाचारीका साथ परेवा देखाइदिएँ । उनले परेवा लगेर राति नै काटि खाइछिन् ।

यस कुराले मलाई नराम्रो पीडा दियो । परेवा वास्तविक रूपमा उनको थियो थिएन, म पर्गेल्न पट्टि पनि लागिनँ । परेवा उनले लगेपछि त्यो अझ सुरक्षित हुने भयो भन्ने थियो । तर बाजको मुखबाट त बँच्यो, उनको मुखबाट बँच्न सकेन । 

जीवन रक्षाको निम्ति उद्दाम वेगमा बतास्सिएर आएको परेवालाई बचाउन नसकेकोमा अपराधबोध भयो । त्यसकै वेगले संवेग जन्माइदिएको थियो मभित्र । त्यसकै वेगले संवेदना उमारिदिएको थियो मभित्र । तर त्यो संवेदन संवेदनाहीन मानिसको व्यवहारले घाइते भयो । जीवनमा यस्ता अनन्त विरोधाभासहरू सामना गर्नुपर्छ मानव भएपछि, यसै भनेर चित्त बुझाएँ ।

जीवनमा सास रहुन्जेल, धुकधुकी चलुन्जेल र नसामा रगत बगुन्जेल एक त्वरित वेगमै वेगिने अभिप्सा जागिरहेको छ । विना वेगको गतिहीन जीवन स्वीकार्य छैन मलाई । विना वेगको सुस्त, पंगु र जडवत् जीवन किमार्थ ग्राह्य छैन मलाई । जय त्वरित वेग !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।