बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माघी पर्वका अवसरमा गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना

शनिबार, ०१ माघ २०७८, ११ : ४५
शनिबार, ०१ माघ २०७८

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।  प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा समुदायहरूले मनाउने चाड माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले जारी गरेको शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुक नेपालमा माघ १ गते थारु समुदायले माघी पर्वका रुपमा मनाउने र त्यस समुदायले नयाँ वर्ष समेत मान्ने गरेको उल्लेख गरेका छन् ।

उनले मगर समुदायले पनि माघे संक्रान्तिलाई मुख्य चाडको रुपमा धुमधामका साथ मनाउने गरेको उल्लेख गर्दै हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई मनाउने गरेको बताएका छन् । 

प्रदेश प्रमुख गुरुङले तरुल, कन्दमूल, घिउ, चाकु, तिलको लड्डु खिचडी लगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण फैलिएकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन् । उनले माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे संक्रान्ति अर्थात माघी ठूलो पर्व हो ।’

मुख्यमन्त्री पोखरेलले यस्तै पर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास ब्यक्त गरेका छन् । उनले यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप