शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसान बन्यो देवघाट

शनिबार, ०१ माघ २०७८, ०९ : ३६
शनिबार, ०१ माघ २०७८

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उहाँले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गरे । उनले भने, “सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।”

बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको बताए । उनले भने, “रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।” स्थानीय प्रशासनले विहानबाट हिड्न दिएपछि भने केही भक्तजन सो क्षेत्रमा पुगेका छन् । यद्यपि विगत वर्षको तुलनामा भने यहाँ भक्तजन निकै न्यून देखिएका छन् ।  देवघाट मेला भर्न झण्डै पाँचलाख भक्तजन आउने अपेक्षा गरिएको थियो । मेलाको औपचारिकरुपमा शुक्रबार बिहान बेनीमा लिङ्गो गाढेर शुभारम्भ गरिएको थियो । गएका वर्षहरुमा भक्तजनको ठूलो सङ्ख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो ।
 
सङ्क्रान्तिको अघिल्लो रात शुक्रबार धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप