बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शनिबारदेखि कास्कीमा ‘स्मार्ट लकडाउन’

शुक्रबार, ३० पुस २०७८, २२ : ०५
शुक्रबार, ३० पुस २०७८

गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि तीव्र रुपमा कोभिड–१९ संक्रमण वृद्धि भएपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । यसअघि मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको जानकारी दिए । 
प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको बताउँदै शनिबारदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने बताए । 

प्रजिअ आचार्यले जारी गरेको आदेशमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनैतिक, सामाजिक तथा साँस्कृतिक लगायतका भेला, महोत्सव, मेला सभा सम्मेलन गर्न रोक लगाएको उल्लेख छ । आदेशमा सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्नेमा जोड दिइएको छ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिड खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ ।

जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अुनमति दिएको छ । औषधि लगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानुन बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।

प्रशासनले धार्मिक, पारम्परिक, साँस्कृतिक कार्य गर्दा/गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरुले खुल्ला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरेको आदेशको पालना भए/नभएको अनुगमन गरि उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप