बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : लिपुलेक प्रकरणमा बोल्यो काँग्रेस, भारतलाई ‘प्रोटेस्ट नोट’ पठाउने सरकारको तयारी

शुक्रबार, ३० पुस २०७८, २१ : ४७
शुक्रबार, ३० पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको ३० गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

१. भारतलाई प्रोटेस्ट नोट पठाउने तयारी

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति विरोध गरेका छन् । यसअघि मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि आपत्तिजनक भएको बताएका हुन् ।

विज्ञप्ति जारी गर्नुअघि उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने विज्ञप्ति सही भएको बताएपछि आज सार्वजनिक गरिएको हो । उनीहरुले विज्ञप्ति ड्राफ्ट भने दुई दिनअघि नै गरेका थिए । तर कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा देउवा परेपछि देउवासँग भेट पाएका थिएनन् ।

आज बिहान देउवालाई भेटेपछि उनीहरूले विज्ञप्ति सार्वजनिक गरेको एक नेताले बताए । देउवाले परराष्ट्रमन्त्री नारायण खड्कालाई यस प्रकरणमा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका छन् भने देउवाकै सहमतिमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की समेतलाई सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न महामन्त्रीद्वयले निर्देशन दिएका छन् । सरकारले लिपुलेकबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी थालेको बताइएको छ । यसअघि यो प्रकरणमा काँग्रेस र सरकार नबोलेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् ।

शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए ।

बितेको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो ।

चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको छ ।

शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतको कार्यक्रमका लागि यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने निर्णय भएको हो ।

नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ । यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बिहान १० बजे बालुवाटारमा पुगेर एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो ।

आजै बैंकले राष्ट्र बैंकमा डीमर्जरका लागि पत्र पठाएको छ ।

​७. साताको शेयर

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ । गत साताको विहिबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ ।

​८. भारतीय हस्तक्षेपको माओवादीद्वारा विरोध

नेकपा (माओवादी केन्द्र)ले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका हुन् ।

​९. यो पनि...

सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

​नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप