प्रदेश १ मा कोभिड १९ संक्रमणबारे सर्वदलीय छलफल
प्रदेश १ सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा शुक्रबार प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना गरिएको हो ।
छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे ।
‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्,’ मुख्यमन्त्री राईले भने । उनले प्रदेश १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउनेको संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन अपिलसमेत गरे । कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउनेगरी सामना गर्नुपर्नेमा जोड दिँदै उनले पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार समवेदनशील रहेको बताए ।
छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार मिलेर लड्नुपर्ने बताए । उनले रोगविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले रोगको संक्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि मिलेर अघि बढ्न आग्रह गरे ।
सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भिडभाड हुने खालको कार्यक्रम नगरिदिन अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोग स्मरण गराउँदै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे ।
छलफल कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस प्रदेश १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ सचिव वासुदेव भट्टराईलगायतले दलका तर्फबाट धारणा राखेका थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पारेका थिए । छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन