शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्सबेरीको दुई महिने ‘मेड इन नेपाल’ अभियान, २० स्टलमा नेपाली उत्पादनमात्रै

शुक्रबार, ३० पुस २०७८, २० : ३१
शुक्रबार, ३० पुस २०७८

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म ‘मेड इन नेपाल अभियान’ चलाउने भएको छ । ग्रुपले नेपाली ब्राण्ड र उत्पादनमात्रै बिक्री वितरण गर्न स्टोरहरूमा कम्तिमा २० स्टल तयार गरेको छ । फरक क्याटागोरीका २० कम्पनीले स्टलमार्फत आफ्ना उत्पादन बेच्नेछन् । 

किनमेल गर्ने ग्राहकमाझ नेपाली उत्पादन अझ बढी चिनाउने, प्रयोग निम्ति प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादकसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्न लागिएको सेल्सबेरीले जानकारी दिएको छ । सेल्सबेरीका अध्यक्ष सुशीलमान प्रधानाङ्गले स्टोरहरूमा नेपाली उत्पादनका स्टल राख्न तीन महिनादेखि गृहकार्य गरेको र अब कार्यान्वयन गर्न लागिएको जानकारी दिए । 

ग्रुपका प्रमुख व्यापार अधिकृत (सीबीओ) चेतनारायण पौडेलले देशको बढ्दो व्यापार घाटा न्यूनीकरणमा सकेको सहयोग गर्न स्टोरले यो अभियान थालेको बताए । ‘आन्तरिक उत्पादन बढाउँदै बजारमा स्थापित हुन खोजेका स्वदेशी ब्राण्डहरूलाई सेल्सबेरीले बिक्री मञ्च उपलब्ध गराएको हो, विदेशी उत्पादन बेच्दा बढी नाफा भएपनि हामीले स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्नैपर्छ,’ उनले भने, ‘विदेशी ब्राण्डका उत्पादनहरू नेपालमा सजिलै आउँछन्, नेपाली ब्राण्डले बजार लिन सकेको छैन । त्यसैले हामीले हरेक नेपाली ब्राण्डलाई माथि उठाउन स्टोरमार्फत प्रयास गरेका हौं ।’

नेपाल निर्मित उत्पादन बिक्री गर्न सेल्सबेरीले यसबीच ३५ देखि ४० वटा कम्पनीसँग छलफल गरेको थियो । अन्ततः २० कम्पनीले सेल्सबेरीका स्टोरमा स्टल राख्ने भएका हुन् । ती स्टलमा राखिएका नेपाली उत्पादन उपभोग निम्तिसेल्सबेरीले उपभोक्तालाई प्रोत्साहन गर्ने पनि जनाएको छ । स्टोरले अहिले बढीमा १० प्रतिशतसम्म नेपाली उत्पादन बिक्री गरिरहेको छ । यसबीच कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिए अनलाइनबाटै नेपाली उत्पादन बिक्री गर्ने सेल्सबेरीका अधिकारीहरूले जानकारी दिएका छन् । 

पोखराको चिप्लेढुङ्गामा सेल्सवेज नामक स्टोर खोलेर सन् १९९३ देखि यो कम्पनीले सामान बिक्रीवितरण थालेको थियो । व्यवसाय विस्तार क्रममा सन् २०१४ मा सेल्सबेरी नामबाट कारोबार थालेको सेल्सबेरीले हाल देशका विभिन्न स्थानमा सेल्सबेरीका ३० शाखा विस्तार गरिसकेको छ । आगामी पाँच वर्षभित्र देशभर १०० स्टोर पु¥याउने र कम्तिमा तीन हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने सेल्सबेरीले लक्ष्य राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप