बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशन : ओली पक्षको 'पेलान'ले कतै सन्यास, कतै विश्राम !

शुक्रबार, ३० पुस २०७८, १६ : ५७
शुक्रबार, ३० पुस २०७८

 नेकपा एमालेको जिल्ला अधिवेशनबाट सहमतिका नाममा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् ।  यस्तो असन्तुष्टिसँगै केही पुराना र त्यागी नेताहरुले सक्रिय राजनीतिबाटै सन्यास र विश्रामको घोषणा गरेका छन् । यसरी सन्यास र विश्रामको घोषणा गर्ने नेताहरुमा नवलपुर र दाङका पुराना नेताहरु अग्रपंक्तिमा रहेका छन् ।  नवलपुर जिल्लाका पुराना नेता जीवन श्रेष्ठलाई संस्थापन पक्षले पाखा लगाएपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । त्यस्तै दाङका नेता टीकाराम खड्काले पनि नेतृत्वबाट सही मूल्यांकन नहुँदा विश्राम लिने घोषणा गरेका छन् । उनीहरु दुबै जिल्ला अध्यक्षको दावेदार थिए । 

किन गरे श्रेष्ठले सन्यासको घोषणा ?

नवलपुरमा एमाले जिल्ला अधिवेशनका क्रममा ५ दिन बन्दसत्र चलेपछि इन्चार्ज तिलक महतले सहमति जुटाउने नाममा चुनावी प्रक्रिया नै स्थगित गर्न पुगे । चुनावी प्रक्रिया स्थगित गरेर महतले अध्यक्षका आकांक्षी जीवन श्रेष्ठलाई ‘बाइपास’ गरेर मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरे ।

जबकी यो जिल्लामा श्रेष्ठको पक्षमा ८० प्रतिशत मतदाता रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यसरी पाण्डेलाई एमालेको अध्यक्ष घोषणा गरेपछि मतदातामा लोकप्रिय रहेका र अध्यक्षमा दाबी गरेका नेता श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यासको घोषणा गर्न बाध्य भए । श्रेष्ठ यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष समेत भइसकेका हुन् । संविधानसभा सदस्य समेत भइसकेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत अब सक्रिय राजनीतिमा नआउने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

उनले लेखेका छन्-

म जीवन श्रेष्ठ २०२९ साल देखि झापा विद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (केर के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाह गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटीको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटीको सदस्य, २०६३ मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाह गर्दै आइरहेको र पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुदृढ गर्दै “सम्मृद्ध नेपाल सुखि नेपाली” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अभिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।

मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिक शिक्षा(दीक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एक्यबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैव सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।

जीवन श्रेष्ठ, कावासोती ३, नवलपुर, गण्डकी प्रदेश ।

खड्काद्वारा विश्राम घोषणा

नवलपुरका श्रेष्ठपछि सक्रिय राजनीतिबाट विश्रामको घोषणा गर्ने अर्का पात्र हुन्, दाङ एमालेका निवर्तमान अध्यक्ष टीकाराम खड्का । पुराना कम्युनिष्ट नेता खड्कामाथि नेतृत्वले न्याय गरेको भए उनी यतिवेला एमालेको स्थायी समिति सदस्य बनिसकेका हुने थिए । तर, नेतृत्वले पछिल्लो समय उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिन उचित ठानेन र महासचिव शंकर पोखरेलका विश्वासपात्र हुकुम बस्नेतलाई अध्यक्ष घोषणा गर्यो ।

आफूभन्दा धेरै जुनियरलाई अध्यक्ष बनाएपछि अन्ततः उनले सक्रिय राजनीतिबाटै विश्राम लिने घोषणा गर्न पुगे । पुस २३ गते सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत खड्का पुन जिल्ला अध्यक्ष बन्न चाहन्थे । तर, उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्ष बनाउने संकेत सम्म देखाएन । कारण थियो खड्का विगतमा माधव नेपाल निकट भनेर चिनिन्थे । यद्यपी माधव नेपालले पार्टी विभाजन गर्दा उनी पार्टी विभाजनको विपक्षमा उभिदै एमालेमै रहेका थिए ।

यति हुँदा हुदै पनि नेतृत्वले आफूमाथि न्याय नगरेपछि उनले कुनै औपचारिक दावी विरोध गर्नुभन्दा, बरु सहजै राजनीतिबाट विश्राम लिने बाटो रोज्न पुगे । २० वर्षको उमेरदेखि नै विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील खड्काले राजनीतिक आन्दोलनका क्रममा ८ महिना जेल जीवन समेत बिताएका थिए ।

खड्काको प्रश्न ः जताततै सिन्डिकेट भएपछि किन बस्ने ?

खड्कालाई कसरी यस्तो निर्णयमा पुग्नुभयो ? भनेर रातोपाटीले राखेको जिज्ञासामा ‘नेतृत्वको एकाधिकारवादी निर्णय’ नै प्रमुख कारण रहेको बताए ।

‘नेतृत्वको एकाधिकारवादी निर्णय पहिलो कारण हो’, खड्काको भनाइ छ । उनले आफु केपी ओली र वामदेव गौतमसँगै पार्टीमा केन्द्रीय सदस्य भएर लामो समय काम गरेपनि त्यसको मुल्यांकन नहुँदा सक्रिय राजनीतिमा रहिरहनु उचित नहुने ठानेर विश्रामको घोषणा गर्न पुगेको बताए । उनले आफु घनश्याम भुसाल, दलबहादुर राना, खगराज अधिकारी, भीम आचार्य र प्रकाश ज्वालाको व्याजी भएपनि जिल्ला कमिटीमा समेत आफूलाई स्थान नदिएकोमा स्वभाविक रुपमा चित्त दुखेको बताए ।

‘जिल्ला कमिटीमा पनि सिन्डिकेट, प्रदेश कमिटीमा पनि सिन्डिकेट हुन्छ भने किन बस्नुपर्यो ?’, खड्काको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप