बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी

शुक्रबार, ३० पुस २०७८, १६ : ५६
शुक्रबार, ३० पुस २०७८

नेकपा (माओवादी केन्द्र)ले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भर्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका हुन् ।

माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा आपत्ति जनाउँदै भर्त्सना समेत गरेको छ । ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं । शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं’, प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख लागेको जनाएको छ । ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कुटनैतिक पहल गरोस्’, माओवादी केन्द्रले भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप