शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमिशनको गोलचक्करमा डीडीसी : आफ्नो मिल बिगारेर निजी मिल चहार्दै

शुक्रबार, ३० पुस २०७८, १६ : ३७
शुक्रबार, ३० पुस २०७८

दुग्ध विकास संस्थान (डीडीसी) ले विराटनगरस्थित आफ्नो मिल्क पाउडर प्लान्ट बिगारेर निजी क्षेत्रको प्लान्ट प्रयोगमा ल्याइरहेको छ । डीडीसीको ६० हजार लिटरको ६ मेट्रिकटन धुलो दूध उत्पादन गर्ने पाउडर प्लान्ट (मिल) कात्तिक ३० देखि बन्द छ । साता दिनमा बन्न सक्ने मिल बिग्रेको दुइ महिना बितिसक्दा पनि डीडीसीका व्यवस्थापनले यसमा चासो लिएको छैन । 

मर्मतको क्रममा मिलमा लाग्ने पार्टस तथा इन्जिनियरका लागि अग्रिम रकम भारत पठाउनुपर्ने हुन्छ तर डीडीसीले प्रक्रिया अगाडि बढाएको छैन । उता निमित्त उपमहानिर्देशक समेत रहेका डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारी  १५–२० दिनदेखि मात्र मिल बन्द रहेकोमा यसलाई प्राविधिक समस्या ठान्छन् । उनका अनुसार यसअघि दूध नपाएर मिल बन्द थियो तर अहिले आएर भ्याकुममा खराबी आएर बिग्रेको हो । भारतीय कम्पनीले टर्कीबाट समान ल्याउनुपर्ने भन्दै ढिलो गरिरहेको उनको जिकिर छ । 

हाल डीडीसीले चितवन र पोखरामा रहेको निजी क्षेत्रको प्लान्टमा दैनिक २० हजार लिटर दूध लगेर कन्भर्जन गरी धुलो दूध (एसएमपी) बनाइरहेको छ । निजी मिलमा दूध पुर्याएवापत डीडीसीका महाप्रबन्धकदेखि अन्य निकायसम्म कमिशन पुग्छ ।  

विराटनगरको मिलमा संघीय सरकार र प्रदेश सरकारको लगानी छ । प्रदेश १ को दूध संकलन गरेर सोही मिलमा कन्भर्जन गराउने उद्देश्यले प्रदेश १ सरकारले पाँच करोड रुपियाँमा सो मिलमा लगानी गरेको छ । तर डीडीसी व्यवस्थापनले सो मिल बिगारेर निजी क्षेत्रसँग कारोबार गरिरहेको छ । 

हाल डीडीसीले चितवन र पोखरामा रहेको निजी क्षेत्रको प्लान्टमा दैनिक २० हजार लिटर दूध लगेर कन्भर्जन गरी धुलो दूध (एसएमपी) बनाइरहेको छ । निजी मिलमा दूध पुर्याएवापत डीडीसीका महाप्रबन्धकदेखि अन्य निकायसम्म कमिशन पुग्छ ।  

स्मरण रहोस्, उपमहानिर्देशक अधिकारी भ्रष्टाचार मुद्दामा मुछिएर उनीमाथि कारवाहीका लागि सिफारिस पनि गरिएको छ । तर व्यवस्थापनले कारवाही नगर्दा त्यहाँका कर्मचारीले आन्दोलन पनि गरेका थिए ।  डीडीसीका एक अधिकारीका अनुसार यसमा ठूलो कमिसनको चलखेल छ, नभए आफ्नो मिल बिगारेर अर्काको मिलमा किन जानु ? डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलको आगामी फागुनमा म्याद सकिदैछ ।

‘जाँदा जाँदै केही कमाई हालौँ भन्ने चाहना महाप्रबन्धक पौडेलको रहेको देखिन्छ । नभए एक हप्तामा बन्ने मिल हालसम्म किन बनेन ?’ त्यहाँका एक कर्मचारीले रातोपाटीसँग भने, ‘अन्य कर्मचारीहरुले मिल बनाउन दबाब दिएपनि महाप्रबन्धकले त्यसमा चासो देखाउनु भएको छैन ।’

डीडीसीले विराटनगरमा आफ्नै मिल स्थापना गर्दा निजी क्षेत्रका मिल मालिकहरु खुशी थिएन । प्रदेश १ लगायत पूर्वका सबै दूध उतै होल्ड भएपछि निजी क्षेत्रका मिल चलाउन गाह्रो हुन्छ भन्दै निजी क्षेत्रका मिलवालाहरु त्यसबेलै बन्द गराउन चाहेका थिए ।

२०५१ सालमा स्थापना भएको मिल पटक पटक बन्द हुँदै आइरहेको छ । गत वर्ष पनि प्लान्टका लागि चाहिने केमिकल नभएको बहानामा लामो समय मिल बन्द गरिएको थियो । मिल बन्द भएको कारण डीडीसीले दूध खरिद गर्न छाडेको थियो । यसले मोरङ, सुनसरी, झापा, पाँचथर, धनकुटा, इलामलगायत जिल्लाका किसान मर्कामा परेका थिए । 

२०७७ बैशाख, २०७६ भदौ, २०७५ जेठमा पनि मिल बन्द भएको थियो । त्यतिबेला पनि किसानले दूध बेच्न सास्ती भोग्नु परेको थियो । दूधमा आत्मनिर्भर रहेको प्रदेश १ मा रहेको एक मात्र प्लान्ट पटक पटक बन्द हुँदा किसानले सास्ती खेप्दै आएका छन् भने यसले डीडीसीका व्यवस्थापन मालामाल भएका छन् । 

अहिले काठमाडौंदेखि पूर्वका बढी भएका सबै दूध चितवन र पोखरा पुर्याउनु पर्छ । यसले ढुवानी खर्च बढ्नुको साथै दूध कन्भर्जन खर्च पनि उच्च रहेको छ । किनकि अरु मिलमा कन्भर्जन गराउँदा रकममा दोब्बरले फरक पर्ने गरेको छ । 

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादव मिल बनाउने प्रक्रिया सुरु भएको, अब केही दिनमा मर्मत भइ पुनः सञ्चालनमा आउने बताउँछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप