शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तान भएनन् ? कुन अवस्थामा आईभीएफ गर्ने ? (भिडियोसहित)

शुक्रबार, ३० पुस २०७८, १३ : ४४
शुक्रबार, ३० पुस २०७८

सन्तान जन्मिएन भने परिवारसँगै समाजले पहिला महिलाकै स्वास्थ्य कमजोर हो कि भन्दै आशङ्का गर्छ । जबकि बाँझोपनको समस्या पुरुष या महिला दुवैलाई  हुन सक्छ । परिवार योजना बनाएर श्रीमान श्रीमती एक वर्षसम्म सँगै बस्दा पनि गर्भ नबस्नुलाई बाँझोपन भनिन्छ । 

श्रीमान अनि श्रीमतीमध्ये जसमा स्वास्थ्य समस्या भएपनि पत्ता लगाएर निदान गर्न सकिने अल्का अस्पताल आइभीएफ सेन्टरकी स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा.नेहा मैनाली (हुमागाईं) बताउँछिन् । परिवार योजना बनाएको एक वर्ष बितिसक्दा पनि सन्तान भएन भने विशेषज्ञहरुसँग सल्लाह लिनुपर्ने उनको सुझाव छ ।  

विश्वमा सन्तान प्राप्तिका लागि विभिन्न विधिहरु अपनाइएको छ ।  पछिल्लो समय नेपालमा निःसन्तान दम्पत्तिका लागि आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) अर्थात् टेस्टटयुव बेबी अवधारणा आएको छ । १२/१३ अस्पतालले यस्तो सेवा दिइरहेका छन् ।

परिवार योजना बनाएर सन्तान प्राप्ति नहुँदा आईभीएफ सेन्टर पुगेको खण्डमा सिधै आईभीएफ गर्नुपर्छ भन्ने गलत धारणा धेरैको रहेको पाइन्छ । तर, आईभीएफ सेन्टर पुग्ने सबैलाई आईभीएफको आवश्यकता नपर्ने डा. मैनालीको भनाइ छ ।

उपचार विधि
परिवार योजना बनाएर सन्तान प्राप्ति नगरेका दुवै जनाले परामर्श तथा जाँच गर्नुपर्ने हुन्छ । डा मैनालीका अनुसार यदि श्रीमानको वीर्यमा समस्या देखियो भने सङ्कलित वीर्यमध्ये राम्रो वीर्यलाई समय मिलाएर निकाली श्रीमतीको पाठेघरमा पठाइन्छ । त्यसपछि गर्भवती भए नभएको जाँच गरिन्छ । यस विधिलाई महिनावारी भएको ३ देखि ६ साइकलसम्म गरिन्छ ।

यस्तै, महिलाहरुमा पाठेघरमा टयूमरहरु छ कि भनेर अल्ट्रा साउण्ड गरेर हेर्ने, हर्मोन अवस्था जाँच गर्ने, टयूब ब्लक भए नभएको पत्ता लगाएर समस्या निक्र्यौल गरेर उपचार गर्ने औषधि उपचार गरिन्छ ।  
यदि श्रीमान श्रीमतीको स्वास्थ्य अवस्था राम्रो छ । तर, गर्भ बसेको छैन भने सुरुमा अण्डालाई ठूलो बनाएर सो अण्डा फुट्न लायक बनाइन्छ । महिलालाई औषधि दिएर अन्डा ठूलो बनाउने, अल्ट्रासाउण्डले अण्डाको बेलाबेलामा मोनिटरिङ गरिन्छ । अण्डा १८÷२० एमएमको साइजको भएपछि इन्जेक्सन दिएर फुटाइन्छ । 

आईभीएफ कुन अवस्थामा गर्ने ?
कहिलेकाहिँ श्रीमान श्रीमती दुवैको बच्चा जन्माउनका लागि स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै पनि बच्चा नजन्मन सक्छ । यदि ३ देखि ६ साइकलसम्म बच्चा बसेन भने आइभीएफ प्रविधितर्फ लाग्नुपर्ने डा. मैनाली बताउँछन् । आइभीएफ भनेको इन भिट्रो फर्टिलाइजेसन  अर्थात् टेस्टट्युब बेबी अवधारणा हो । श्रीमतीको अण्डा र श्रीमानको शुक्राणु बाहिर निकालेर त्यसलाई बाहिरै फर्टिलाइजेसन गर्नुलाई ‘इन भिट्रो’ भनिन्छ । 

यसमा स्वस्थ्य परीक्षण गरेर महिलालाई दुई तीन दिन अघि नै अण्डा वृद्धि हुने हर्मोन दिइन्छ । अण्डा वृद्धि भएपछि अल्ट्रासाउड र सिरिन्जको विधिबाट १२÷१३ दिनपछि निकालिन्छ । त्यसपछि श्रीमानको शुक्राणुबाट बाहिर नै फर्टिलाइजेसन गरी पाठेघरमा राखिन्छ । त्यसको करिब दुइ सातापछि गर्भ बसेको नबसेको परीक्षण गरिन्छ ।  

सन्तान प्राप्तिको लागि आइभीएफ गर्न अस्पताल पुगेका दम्पती सधैं सँगै बस्न नमिल्न पनि सक्छ । डा. मैनालीका अनुसार उपचारको क्रममा श्रीमान भौतिक रुपमा उपस्थित हुने अवस्था नभएमाउनको स्पर्मलाई फ्रिजिङ गरी स्टोरमा राख्न सकिन्छ । र, चाहेको बेला प्रयोग गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप