प्रदेश २ मा बढ्न थाल्यो कोरोना संक्रमण, आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए ।
कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए ।
त्यसैगरि, प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।
यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड –१९ जाँच हुँदै आएको जनाएको छ । मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ । बिहीबार मात्रै प्रदेश २ का आठवटै जिल्ला गरेर ११२ जना कोरोना संक्रमित पाइएको छ ।
यसअघिका कोरोना भाइरससंक्रमणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् भने ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि प्रदेश २ मा त्यो अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले खोपको अभाव नरहेको र लगाउने आउने सर्वसधारणको संख्या निकै कम रहेको बताए । रेडियो, पत्रपत्रिका लगायतबाट खोप सम्बन्धि जानकारी गराएपनि ग्रामिण क्षेत्रमा अझै सर्वसधारणले खोप लगाउन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन