शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव अगाडि के–के गर्ने रणनीति छ विप्लव पार्टीको ?

मङ्गलबार, २८ कात्तिक २०७४, १२ : २०
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ– चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिरहेको सरकारी दाबीलाई कमजोर पार्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी विरोधी गतिविधि बढाइरहेको छ ।

मङ्गलबार बिहान भोजपुरमा एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमाथि बम प्रहार भयो । आक्रमणबाट राईका अङ्गरक्षक असई डिल्ली देवकोटा सामन्य घाइते भएका छन् । अन्य सकुशल छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, सुई नेकपातिर सोझिएको छ । यसअघि रोल्पा र रुकुममा भएका घटनाको कसैले औपचारिक जिम्मा लिएको छैन ।
 
स्थानीय तहको चुनावमा कालिकोटलगायतका केही जिल्लामा तनाव बनाएको विप्लवको पार्टीले मङ्सिर १० र २१ गते दुई चरणमा हुन थालेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा के–के गर्ला ? यसलाई सरकारी सुरक्षा निकाय, राजनीतिक दल र नेपालमा रहेका अन्तर्राष्ट्रिय नियोगले पनि चासोका साथ हेरेका छन् ।

चुनाव खारेजको नारा दिएको नेकपाले के चुनाव भाँड्न सक्ने हैसियत राख्छ ? यदि चुनाव भाड्ने हैसियत राख्दैन भने नेकपाले के–के गर्न सक्छ ? रातोपाटीले यस विषयमा राज्यको सुरक्षा संयन्त्र र नेकपाका नेता–कार्यकर्तासँग कुराकानी गरेको छ ।

यी कुराकानीलाई आधार मान्ने हो भने नेकपाले आफ्नो उपस्थिति जनाउनका लागि अहिले भइरहेका जस्ता गतिविधि बढाउन सक्छ । नेकपाका एक केन्द्रीय नेताका अनुसार सङ्गठनको शक्ति हेरेर त्यही स्तरको गतिविधि गर्ने पार्टी नीति रहेको बताए । उम्मेदवारविरुद्ध आक्रमणका घटना बढेपछि उम्मेदवारले पनि सुरक्षा माग्न थालेका छन् ।

रुकुम र रोल्पामा बिनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनमाथि बम आक्रमण गरेपछि विप्लवको पार्टी फेरि एकपटक चर्चामा आएको हो । यद्यपि यो पार्टीले घटनाको जिम्मेवारी लिएको छैन ।
 
रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पुनमाथि र शर्मालाई निर्वाचन प्रसारप्रसारका क्रममा आफ्नो गृह जिल्ला रुकुममा आक्रमण गरिएको थियो । पुनमाथि २४ घण्टामा दुई पटक आक्रमण भएको थियो । विप्लव पार्टीका एक केन्द्रीय नेता भन्छन्, ‘घटना दोहोरिन सक्छन् ।’
केही ठाउँमा चुनाव स्थगित गराउनेतहसम्मको घटना अगाडि बढाउने तयारी भइरहेको नेकपाका एक नेताको दाबी छ ।
 
एकातिर उम्मेदवार तर्साउने नीति र अर्कोतिर उम्मेदवारका घरजग्गा नियन्त्रणमा लिने र झन्डा गाड्ने कामलाई यो पार्टीले तीव्रता दिएको छ । खोटाङमा मात्र काङ्ग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको थियो ।
 
वाम गठबन्धनलाई ‘दाम गठबन्धन’ भनेर खुलामञ्चबाट विप्लवले भाषण गरेका थिए । सूत्रका अनुसार विप्लव माअ‍ोवादीको पहिलो निशानामा वाम गठबन्धनका उम्मेदवार हुनेछन् । त्यसपछि मात्र काङ्ग्रेसका उम्मेदवार आउनेछन् । यसैको सङ्केत पाएर हुन सक्छ प्रचण्डले रोल्पा–रुकुममा मन्त्रीको संरक्षणमा विप्लवका कार्यकर्ताले आफ्ना पार्टीका नेतामाथि आक्रमण गरेको आरोप लगाएका थिए ।
 
नेकपाले चुनाव विरोधी घटनामार्फत केही सन्देश दिन खोजेको छ । पहिलो सन्देश, देशमा आफू पनि एउटा राजनीतिक शक्ति रहेको जानकारी दिन खोजिएको छ । आफ्ना गतिविधिका कारण सरकार र दलहरूमाथि दबाब बनाउन सके यो सन्देश दिन सकिने नेकपाको बुझाइ छ ।
 
यसबाहेक नेकपाले नेपालको चुनावमाथि चासो राखेको अन्तर्राष्ट्रिय समुदायलाई पनि सन्देश दिन खोजेको छ । नेपालमा एउटा विद्रोही तप्का रहेको र उसको शक्ति राज्यले चुनौती दिन सक्ने रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गए त्यसले राजनीतिमा सहयोग पुग्ने नेकपाको बुझाइ छ ।


 
यसबाहेक नेकपाले चुनावमा बलियो उपस्थिति देखाएर आर्थिक सङ्कलन गर्ने बाटो खुला राख्न चाहेको छ । चुनावमा शक्ति प्रदर्शन गर्दा उद्योगी–व्यापारीकहाँ सन्देश जाने र त्यसको जगमा पार्टीलाई चाहिने आर्थिक सहायता जुटाउन सहज हुने नेकपाको बुझाइ छ ।

रोल्पा रुकुममा गतिविधि बढी केन्द्रित गरेर नेकपाले जनयुद्धको मूलधार आफूमै रहेको सन्देश दिन खोजेको छ । त्यहाँको माओवादी केन्द्रको नेतृत्वलाई चुनौती रहेको सन्देश दिन खोजेको छ ।
 
सरकारले पनि देशभर विप्लव पार्टीका कार्यकर्ता पक्राउ गरिरहेको छ । चुनावलाई ध्यान दिएर उनीहरूलाई प्रक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि देशभर स्थानीय प्रशासनले तदारुकता देखाएको थियो ।
 
सोमबार मात्र जिल्ला प्रहरी कार्यालय, कास्कीले नेकपा १२ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रशासनले चुनाव विरोधी गतिविधि हुनसक्ने भन्दै उनीहरूलाई समातेको हो । देशभर यस्ता पक्राउ भइरहेको स्थानीय तहको समाचारहरू प्राप्त भएका छन् । गृह मन्त्रालयले नेकपाका कार्यकर्ता विरुद्ध कठोर भएर लाग्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
 
राज्य संयन्त्रले पनि पहाडी जिल्लामा विप्लवको पार्टीलाई सुरक्षा चुनौती ठानेको छ । तराईमा भने जातीय राजनीतिलाई चुनावी चुनौती मानिएको छ । चुनावमा दुई लाख ६७ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्, जसमा प्रहरी ६० हजार, सेना ६४ हजार, सशस्त्र ३० हजार, अनुसन्धानका १५ सय र म्यादी प्रहरी ९८ हजार छन् ।

पहिलो चरणको चुनावका लागि सुरक्षाकर्मी परिचालन भइसकेको छन् । पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्लामा चुनाव हुँदैछ । गृहमन्त्रालयले संवेदनशील, अति संवेदनशील र सामान्य संवेदनशील गरी तीन वर्गम मतदानस्थललाई वर्गीकरण गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।
 
केही दिन अगाडि रातोपाटीलाई दिएको एक अन्तर्वार्तामा विप्लवले आफूले राज्यसँग टकराव गर्न खोजेको बताएका थिए । ‘हामीले सीधा र स्पष्ट शब्दमा राज्यसँग लड्ने हो भनेका छौँ । यो कुरा हामीले बाहिरै भनेका छौँ र यो कुरा म यहाँ पनि भन्छु । यो राज्यलाई हामी मान्दैनौँ । यो जनविरोधी, प्रगतिविरोधी पुँजीवादी राज्य हो । पुँजीवादी पनि कस्तो भने दलाल पुँजीवादी राज्य । दिमागमा कमिसन खाने र भोगविलास गर्नेबाहेक केही छैन । त्यसैले हामी यसको विरुद्ध लड्छौँ । लड्दा घटनाक्रम कसरी जान्छ, त्यो राज्यसँग सम्बन्धित कुरा हो ।’ उनले भनेका थिए ।

अन्तर्वार्ताका लागि यहाँ जानुहोस्

निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता

 विप्लवको पार्टीले एकीकृत क्रान्तिको नारा अगाडि सारेको छ ।
 
गत फागुनमा विप्लवले आफूले नेतृत्व गरेको पार्टीको नाम पनि बदलेका थिए । काठमाडौंमा उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र गत फागुन पहिलो साता रोल्पाको थवाङमा भएको थियो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यही प्रतिवेदनमा उनले पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखेका थिए । पछि यसलाई अनुमोदन गरिएको थियो । त्यसपछि यो पार्टीको नाम नेकपा मात्र रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप