बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

लघुकथा : निःशुल्क डेरा

शुक्रबार, ३० पुस २०७८, ११ : २१
शुक्रबार, ३० पुस २०७८

तीन महिना अगाडि मात्र चेक रिपब्लिकबाट मगाएको ‘म्याक्स’ बिरामी पर्न थालेर निकै तनावमा थिएँ । त्यसमाथि काठमाडौंको जाम र पार्किङको असुविधाजनक अवस्था । बरु मानिसको डाक्टर घरमा नै बोलाउन सकिने तर कुकुरको राम्रो डाक्टर खोज्न क्लिनिक नै धाउनु पर्ने । 

करिव दुई सय मिटर पर कार पार्क गरेर काखमा म्याक्सलाई  लिएर क्लिनिकतर्फ जाँदै थिएँ । अकस्मात पछाडिबाट कसैले बोलाएजस्तो मानें तर कसलाई बोलाएको हो थाहा भएन । 
“कमरेड् उत्साह !” पछाडि फर्केर हेरेँ । मलाई नै बोलाएको रहेछ । 

राजधानी आएपछि मैले मेरो भूमिगत नाम पनि बिर्सेको थिएँ । उसले  भन्यो “कमरेड चिन्नु भएन, म कमरेड् चट्याङ् । हामी एउटै कमिटीमा कमिटेड थियौँ नि कुनै बेला ।” 
उसको कुराले मलाई पुरानो दिनको याद आयो । पार्टीमा म बुद्धिजीवि भनिएकोलाई कसरी कमरेड् चट्याङले खोल्सा खोल्सै बोकेर दौडेर सेनाबाट जोगाउँदै सुरक्षित स्थानमा पुर्याएका थिए । 

अहिले सन्त नेता किशुनजीको याद आउने गरी एउटा बेरिएको बिस्तारा बोकेर मेरो अगाडि उनी उभिएका थिए तर छाता र सुराही भने थिएन । 
“ओहो कमरेड् धेरैपछि भेट भयो नि । कता हुनुहुन्छ आजभोलि । राजधानीमा के गर्दै हुनुहुन्छ ?” 

मैले औपचारिकता देखाउन बोलेँ तर काखको म्याक्सलाई भने झिजो लागेको थियो र उ कुइँकुइँ गर्दै थियो । 
उनले भने, “म पनि राजधानीमा नै बस्ने विचार गरेको । बस्ने ठाउँ खोज्नु पर्यो कमरेड् ।’ 

अब यस्तो महँगो ठाउँमा कसरी खोज्ने यस्तालाई डेरा । 

मैले भनें, “काठमाडौंमा बसेर साध्य छैन कमरेड, घरभाडा त छोई नसक्नु छ । ” 

उ हल्का मुस्कुरायो र भन्यो, “म डेरा भाडा तिरेर बस्छु भनेको कहाँ हो र । म त भाडा तिर्नु नपर्ने ठाउँ पो खोजेको ।” 

मैले उसको कुरा बुझ्न सकिनँ, उसलाई हेरी रहेँ । उसले अझ बिस्तारमा बतायो “सुप्रिमोले भनेजस्तै पार्टीको कुनै निर्माण ब्यावसायीको घर छैन ?” 
पार्टीको परिभाषामा राष्ट्रिय पुँजीपतिमा परेको एक जना  ब्यापारीको गाडीमा हिँड्ने म उसको कुराले स्तब्ध भएँ । म्याक्स पनि मेरो काखबाटै उसलाई भुक्न थाल्यो । म पनि फुर्सदमा भेटेर कुरा गर्ने झुटो आश्वासन दिँदै हतार हतार क्लिनिकतिर लागें ।

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप