थारूहरूमा माघीको महत्व
माघे संक्रान्ति भन्नाले माघ महिनाको पहिलो दिनलाई बुझाउँछ । विक्रम संवतको गणनाअनुसार माघ बर्षको दसौँ महिना हो । संक्रान्ति संस्कृत शब्द हो र पूर्वीय दर्शनअनुसार संक्रान्ति भन्नाले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको दिन भन्ने बुझिन्छ । एकदमै सामान्य अर्थमा भन्ने हो भने नेपाली पात्रोअनुसार प्रत्येक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । त्यसैले स्वाभाविक रूपमा वर्षमा बाह्रवटा संक्रान्ति हुन्छन् । माघे संक्रान्ति भनेको धनु राशिबाट मकर राशिमा सूर्यको प्रवेश भन्ने बुझिन्छ ।
थारू दर्शनअनुसार सूर्यको स्थितिलाई एक वर्षमा बाह्र राशिमा विभाजन गरिएको छ । तथापि विक्रम संवत, राशी र नक्षत्र पात्रोलाई भिडाएर हेर्न निकै कठिन छ । परम्परागत पात्रोहरू नक्षेत्रका आधारमा गणना हुन्छन् । संक्रान्तिलाई एक सौर्य मण्डलको घटनाका रूपमा लिइन्छ । त्यसैले, नेपाली पात्रोहरू ग्रह र नक्षत्रका आधारमा तयार हुन्छन् र माघे संक्रान्ति पनि त्यस्तै हो, जुन कुरा थारूहरूले माघीमा गाइने ढुमरु गीतबाट पनि प्रष्ट हुन्छ ।
माघे संक्रान्तिबाट पुण्य तिथिको प्रारम्भ हुने थारूहरूको विश्वास छ, जुन दिन जाडोको अन्त्य र गर्मी मौसमको सुरुवातको रूपमा पनि लिइन्छ । अर्को अर्थमा यस दिनलाई कष्टकर दिनको अन्त्य र रमाईला तथा पुण्य हुने चाडपर्व प्रारम्भ हुने पर्वको रूपमा पनि लिइन्छ । सामान्य अर्थमा माघीलाई जाडोको अन्त र बसन्त ऋतुको प्रारम्भका रूपमा पनि लिने गरिन्छ । माघीलाई प्रत्यक्ष रूपमा सूर्यदेवसँग सम्वन्धित पर्वको रूपमा पनि लिइन्छ । भगवान सूर्यलाई शक्ति, अस्तित्व, बुद्धि र स्वाभिमानको प्रतीकको रूपमा थारूहरूले आराधना गर्ने प्रचलन छ । विहान स्नान गर्न जानेबेला थारूहरूले यस्तो भाकामा गीत गाउँछन् “सुरुजमा लागे गहनवा रे चोलो, कासी रे लहान” यसको अर्थ हुन्छ कि आजको स्नान भनेको सूर्यग्रहण लाग्दा काशीमा स्नान गर्नुभन्दा पुण्य हुन्छ । थारूहरूको धार्मिक पात्रोअनुसार सूर्यले आजको दिनदेखि उत्तरी ध्रुवको यात्रा गर्छ । माघबाट नै नयाँ वर्षको सुरुवात हुन्छ । २०७८ माघ १ बाट थारू संवत २६४५ लाग्दैछ ।
विहान सूर्य उदय हुनुभन्दा पहिले नदी र कुण्डमा स्नान गरिन्छ । स्नान गर्दा प्रायः त्रिवेणी, दोभान वा पुण्य कहलिएका नदी र ताल तलैयाहरूमा स्नान गर्ने चलन छ । दाङको रिहार कुण्ड र लरैना कुण्ड, पाटनको शंखमुल, काभे्रको दोलालघाट र त्रिवेणी घाट, मुस्ताङको बराह क्षेत्र आदि स्थान माघी स्नानको लागि पुण्यस्थल मानिन्छन् । यी स्थलमा स्वदेशी तथा भारतबाट पनि ठूलो संख्यमा श्रद्धालुहरू माघीमा स्नान गर्न आउँछन् । काठमाडौंमा स्नानपछि अजिमा माता र रातो मछिन्द्रनाथको पूजा गर्ने चलन छ । निपुत्र दम्पतिहरूको लागि माघी स्नानले विशेष महत्व राख्छ । यसबेला उनीहरूले ब्रह्मसँग पुत्रलाभको कामना गर्दै भाकल गर्ने र सन्तान प्राप्तीपछि बली दिने चलन छ । माघीमा थारूहरूको घरघरमा धुनी बाल्ने चलन छ र रातभरी बुढापाकाहरूले ढुमरु गीत गाउने चलन छ । त्यस्तै नदी किनारमा पनि धुनी बाल्ने चलन छ ।
माघी नेपालीहरूको ठूलो पर्वहरूमध्ये एक हो भने थारूहरूको सबैभन्दा ठूलो पर्व हो । थारूहरूले हप्ता दिनसम्म यस पर्वलाई धुमधाम साथ मनाउँछन् । २०५९ सालमा नेपाल सकारले माघीलाई राष्ट्रिय पर्व घोषणा गर्यो । खास गरी थारू जातिमा यस पर्वलाई विगत वर्षको समीक्षा र आउने नयाँ वर्षको योजना तथा तद्अनुरूपको नेतृत्व चयन गर्ने पर्वको रूपमा लिइन्छ । यस पर्वसँगै जाडो हटेर जान्छ र नेपालको तराई क्षेत्र खासगरी थरुहट क्षेत्र गीत र संगीतले गुञ्जायमान हुन थाल्दछ ।
माघीको लागि पुस मसान्तको दिन नै मासु, माछा र अन्य परिकारको जोहो गरी पकाईन्छ, किनकि संक्रान्तिको दिन काटमार निषेध हुन्छ । त्यसैले, पुस पकावा, माघ खावा भन्ने चलन पनि छ । यस पर्वमा बखेरी बस्ने र गएको वर्षमा भएका झैझगडा, भएका मनमुटावलाई फुक्का गरी एकापसमा क्षमादान माग्ने, दिने तथा सुमधुर सम्वन्ध नविकरण गर्ने चलन पनि छ । त्यसैले यसलाई हँसीखुशीको पर्व पनि भनिन्छ । यस पर्वमा संयुक्त रूपमा मघौटा नाच नाच्ने पनि चलन छ, जुन हिजोका दुःखसुखप्रति विलौना र सुन्दर भविष्यको कल्पना तथा रोमान्सले भरिपूर्ण हुन्छ ।
खास गरी संक्रान्तिको विहान नजिकैको नदीमा स्नान गरी फर्केर आई त्यस वर्षमा उत्पादन भएका चामल, दाल, गेडागुडी तथा नुन निस्राउको नाममा छुट्टयाउने चलन छ । निस्राउ विवाहित चेलीलाई दिने चलन छ । यस प्रचलनले दाजुभाइ र दिदी बहिनीबीच पनि प्रगाढ र सुमधुर सम्बन्धलाई अझ निख्खर पार्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख