आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा समुदायसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याइने

बिहीबार, २९ पुस २०७८, २० : ५९
बिहीबार, २९ पुस २०७८

बागमती प्रदेश सरकारले कोरोना खोप अभियानलाई तिव्र रुपमा विस्तार गर्दै समुदायस्तर सम्म पुर्याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार हेटौंडामा बसेको बैठकले कोरोना विरुद्धको खोप अभियानलाई तिव्रता दिँदै समुदायस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।

समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदायस्तरसम्म कोभिड विरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने निर्णय गरेको  प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बताए । बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको तथ्याङ्कले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको उनको भनाई छ ।

उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ । कतिपय स्थानीय तहका नागरिकहरु खोपसम्बन्धी ज्ञान अभाव र गलत प्रचारका कारण खोप नलगाइ बसेको पाइएका कारण यस सम्बन्धमा पनि उचित प्रकारको प्रचारप्रसार गर्न सम्बन्धित निकायलाई निर्देशन दिने पनि उनले बताए । उनले खोप सेवालाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्न र जनशक्ति व्यवस्थापनमा लाग्न पनि सम्बन्धित निकायलाई आग्रह गरे ।

कोरोना संक्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्ने–गराउने, २५ जनाभन्दा बढि सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिकस्थलमा हुने नियमित पुजाबाहेकका गतिविधिलाई नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोना विरुद्धको अभियानमा सक्रियहरुलाई प्रोत्साहनको काम गर्ने, फ्रन्टलाईनरहरुलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ ।

बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि नीजि क्षेत्रसहित सबै पक्षसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप