शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा सुख्खा पहिरो : सेनाका मेजरको कमाण्डमा ३६ सुरक्षाकर्मी उद्धारमा, हराएका मानिसहरु अझै भेटिएनन्

बिहीबार, २९ पुस २०७८, १८ : २८
बिहीबार, २९ पुस २०७८

उत्तरी धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् । 

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बिहीबार साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको र शुक्रबार बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने प्रजिअ लम्सालले रातोपाटीलाई बताए । 

प्रजिअ लम्सालका अनुसार हाल उद्धार कार्यका लागि नेपाली सेनाको मेजरको कमाण्डमा २० जना सेना, शसस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा ११ जना शसस्त्र प्रहरी र जनपथ प्रहरीका इन्सपेक्टरको कमाण्डमा ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो । 

बिहीबार दिनभर उद्धारको प्रयास गरिएपनि माथिबाट सुख्खा पहिरो खसिरहेको कारण उद्धारमा कठिनाई भएको प्रजिअ लम्सालले बताए । उद्धारका खटिएका सुरक्षाकर्मीहरु यतिबेला तिप्लिङको लाथुङ कार्बो प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । 

बिहीबार बिहान डोजरबाट बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा उत्तरी धादिङको तिप्लिङमा डोजरसहित तीनजना वेपत्ता भएका थिए । वेपत्ता हुनेहरुमा डोजरचालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय सहचालक राजु तामाङ र उनीहरुलाई सहयोग गरिरहेका स्थानीय २५ वर्षीय अनिश तामाङ पनि पहिरोमा परी वेपत्ता भएका थिए । बिहीबार बिहानैबाट खोजी र उद्धार कार्य सुरु गरिएको भएपनि उनीहरुलाई फेला पार्न सकिएको छैन । 

प्रजिअ लम्सालका अनुसार खोजीका क्रममा डोजरको आधा भाग देखिएपनि हराएका व्यक्तिहरु फेला पार्न सकिएको छैन । धादिङका प्रजिअ कृष्णप्रसाद लम्सालका अनुसार उक्त स्थान भौगोलिक दृष्टकोणले कमजोर रहेको रिपोर्ट पहिले नै आएको थियो । पहिले पनि उक्त स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो । भूकम्पपछि उक्त स्थान अझै कमजोर बनेको भएपनि उचित सतर्कता अपनाउन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप