मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित बढेसँगै विराटनगरमा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

बिहीबार, २९ पुस २०७८, १६ : ५९
बिहीबार, २९ पुस २०७८

 प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि विराटनगरको रानीस्थित होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि तयारी थालिएको छ । प्रदेश सरकारले संक्रमितको व्यवस्थापनका लागि भन्दै तत्काल होल्डिङ सेन्टरको एक सय बेड सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

एक हजार क्षमताको होल्डिङ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ महिना लाग्ने बताइएको छ । तत्काललाई संक्रमितको व्यवस्थापनका लागि एक सय बेडको व्यवस्थापन गरी होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए ।

मुख्यमन्त्री राईसहित मन्त्री र सचिवको टोलीले बिहीबार होल्डिङ सेन्टर निरीक्षण गरी तत्काल एक सय बेड सञ्चालन गर्ने निर्णय गरेको हो । निरीक्षण पश्चात मुख्यमन्त्री राईले भने, ‘पूर्णकालीन रुपमा होल्डिङ सेन्टर सञ्चालनका लागि दुई महिनासम्म कुर्ने अवस्था छैन, जे जति निर्माण पूरा भएको छ, त्यसैमा पाँच दिनभित्र १ सय बेड सञ्चालनको तयारीमा जुट्नुहोस् ।’

उनले यसका लागि आवश्यक विद्युत र खानेपानीको तत्काल व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पाँच दिनभित्रै एक सय बेडको होल्डिङ सेन्टर सञ्चालनको व्यवस्थापन मिलाउने तयारी भइरहेको बताए । उनले होल्डिङ सेन्टर तत्काल आंशिक रुपमा सञ्चालन गर्न खानेपानीको धारा जडान गर्ने जिम्मा विराटनगर महानगरपालिका र विद्युत सप्लाईका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिईसकिएको बताए ।

प्रदेश सरकारले रानी सीमा नाका क्षेत्र भएर नेपाल भित्रिने संक्रमितहरुलाई उसको कोरोना परीक्षण रिपोर्ट नआएसम्मका लागि सो होल्डिङ सेन्टरमा राख्ने तयारी गरेको हो । तर दुई महिनामै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत असारमा निर्माण कार्य सुरु गरिएको होल्डिङ सेन्टर अहिलेसम्म अधुरै छ ।

होल्डिङ सेन्टरको अभावमा अहिले संक्रमितलाई आफन्तको जिम्मा लगाएर घर पठाउने गरिएको छ । प्रदेशमा केही दिन यता संक्रमितको संख्या लगातार तीव्र गतिमा उकालो लाग्न थालेपछि निर्माणाधीन होल्डिङ सेन्टरलाई आंशिक रुपमा सञ्चालन गरिने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप