शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको देहावसानको खबर सुनेर पनि, जब गाइरहे शिशिर योगी...

बिहीबार, २९ पुस २०७८, १६ : ५६
बिहीबार, २९ पुस २०७८

   जीवनका हर क्षण एकनाश हुँदैन । कहिले हसाउँछ, कहिले रुवाउँछ । यही पुस २१ गते काठमाडौंबाट सुर्खेतका लागि प्लेन चढ्न एनाउन्स गरेको सुनेर लाग्यो, समयमै उडान हुने भो । प्लेनसम्म पुग्न बसमा चढिसकेपछि हवाई सेवाका एकजना कर्मचारी बसमा आएर सुनाए, ‘सुर्खेत एयरपोर्ट भर्खरै बन्द भएको छ, केही क्षण प्रतीक्षा गर्नुपर्ने भयो । कृपया बसभित्रै बसिदिनुहोला ।’

सो बसमा छेवैमा बसेका एकजना भलादमी मोबाइलबाट कसैसंग गफिंदै थिए । करिव ४५ मिनेटको पट्यारलाग्दो प्रतिक्षाको सदुपयोग गर्दै उनी अलि ठूलै स्वरमा गफ गरेको सुनेर ध्यान केन्द्रित भयो । उनका कुरामा संगीत, गायन र त्यसका विधासम्वन्धि कुराहरु सुनिन्थ्यो । त्यसबाट लाग्यो, उनी कुनै गायक नै हुन् क्यारे । कोरोना कहरका कारण मास्क सबैको अनिवार्य पोशाक भैसकेका कारण बाहिरबाट चिन्न नसकिने कुरा जगजाहेर नै छ ।

उनको कुरा सकिने र बस ड्राइभरले गाडी स्टार्ट गर्ने क्रम संगै भयो । प्लेनको नजिक पुग्नै लाग्दा मेरो कौतुहलताले घच्घच्यायो । र, सोधें, ‘यहाँको शुभनाम के होला ?’

उनले भने, ‘शिशिर योगी हजुर ।’

मैले केही वर्ष पहिले कुनै ठाउँमा उनीसंग परिचय भइसकेको स्मरण गराएँ । योगी आफूलाई मनपर्ने गायक भएको र गीत संगीतमा अभिरुचि भएका कारण प्लेनको करिव १ घण्टाको समय सदुपयोग गर्न संगै बस्ने सल्लाह गर्यौं । एउटै लाईनको फरक सिटलाई साटेर संगै बसियो । भलाकुसारी, पारिवारिक अवस्थादेखि संगीत यात्राका कुरामा केन्द्रित भए ।

मैले सोेधें, ‘बुवा आमा हुनुहुन्छ ?’

गायक योगीको जवाफ थियो, ‘आमा हुनुहुन्छ तर गाउँमै बस्न मन पराउनु हुन्छ । लमहीबाट कोईलाबास जाने बाटोमा बलरामपुर गाउँमा घर छ, त्यहीं वस्नुहुन्छ ।’

आमाप्रति उनको स्नेहभाव र प्रेम उक्त भनाईमा झल्किन्थ्यो । मलाई पनि आफ्नो आमाको याद आयो, सम्झें सुर्खेतको पिपिरास्थित हाम्रो घरमा आमा रहनुभएको अनि हामी त्यहाँ पुग्दा उहाँको काखको न्यानोपन अनि वात्सल्य । लाग्यो, मेरी पनि आमा जीवित रहनुभएको भए मैले पनि भन्ने थिएँ होला, मेरो पनि आमा हुनुहुन्छ । तर २०५७ सालमै संसाररुपी भवसागरबाट गैसक्नुभएको थियो उहाँ । आँखा रसाए, यसो छलेर प्लेनको झ्यालबाट हिमालतिर हेरिरहें र मनमनै भने, ‘शिशिर तिमी कति भाग्यमानी छौ । तिम्रो आमा जीवित हुनुहुन्छ ।’

       गफैगफको सिलसिलामा मैले मेरो संगीतप्रतिको रुचिको पुरानो पोका गायक योगीसामु खोलें । २०३५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेको तर त्यहाँका संगीतकारहरुको लतपते व्यवहारका कारण गीत रेकर्ड गर्न मन नलागेर हिँडेको थिएँ । गायन रुचिलाई पछि गीत कविता लेखनमा ढालें । गायत उदित नारायण, मधु क्षेत्रीहरु साथी भएका कारण काठमाडौंमा पढने क्रममा कोठामा आउने क्रम हुन्थ्यो । पछि मेरा केही गीत रेकर्ड भएर जगदीश समाल र कृष्णभक्त राई लगायतले गाए । मैले यी जानकारी पस्किदा शिशिरले मेरो मोवाइलबाट ती गीत सुन्न रुचि गरे र सुने । उनको प्रतिक्रिया थियो, ‘ओहो, तपाईंका सारै गहकिला शब्द रहेछन् ।’

लगत्तै उनले पनि आफ्नो मोवाइलबाट केही गीतका हरफ सुनाए, जो देशको वर्तमान परिस्थितिप्रति लक्षित थियो । देशको वर्तमानबाट मुक्ति दिलाएर जनता र देशलाई न्याय दिलाउन सकिन्छ कि भन्ने मेरो कोसिस र उनका गीतको तादाम्यता मिलेको जस्तो लाग्यो । यसरी फोन नम्वर साटासाटसंगै संझनाका लागि एउटा फोटो पनि लियौं ।

    यत्तिकैमा परिचारिकाको सुरिलो आवाज सुनियो, ‘केही बेरमा प्लेन सुर्खेत विमानस्थलमा अवतर गर्दैछ । कृपया आफ्नो सिटको पेटी बाँधी राख्नुहोला ।’ गायक योगीले सुर्खेत सम्मको यात्राको कारण खोले, ‘मेरो एकल गायन कार्यक्रम छ, होटेल अशोकामा आजै साँझ । हजुर पनि पाल्नुहोस् है ?’

‘मैले समय मिले पक्का आउँछु भने ।’ उनलाई लिन सुर्खेतका चिरपरिचित व्यवसायी चिन्तामणि शर्मा आउने कुरा रहेछ । उनी बिदा भए । म सामानका लागि पर्खिएँ ।

     मलाई लिन आएका हाम्रो पार्टीका प्रदेश उपाध्यक्ष सूर्य खत्रीसंग घर पुगियो । पार्टी अफिस जानुपर्ने, विस्तारित बैठक र आमसभाका लागि तयारी बारेमा सल्लाह गर्नुपर्ने आदि कामको चटारो थियो । बेलुका करिब साढे ७ जति बजिसकेका कारण शिशिरको एकल साँझमा पुग्न सकिएन । जबकि उनको कार्यक्रम ६ बजे नै रहेको भनेका थिए । उनको प्रत्यक्ष गीत सुन्ने रहर हुँदाहुँदै कार्यक्रम छुटाएकोमा म साह्रै दुःखी थिएँ ।

     व्यस्तताका कारण फेसबुक हेर्न भ्याएको थिइनँ । दुइ दिनपछि मोबाइल हेर्दा चिन्तामणि शर्माको स्टाटस देखियो, ‘आमाको देहावसानको खबर सुनेर पनि आफ्नो कर्तव्यपथबाट नडग्मगाएर ३ घण्टा गीत गाइराखे शिशिर योगीले । र, गीतबाट दर्शकहरुलाई नचाए ।’  आफ्नो पेशाप्रति कति इमान्दारी र जिम्मेवारी प्रकट गरे गायक शिशिर योगीले । यो स्टाटस पढेर अत्यन्त दुःखी र भावविह्वल भएँ म ।

  प्लेनमा उनकी जन्मदाता आमाको बारेमा कुरा गरेको र आफूले आफ्नो आमालाई सम्झेको झलझली याद आएको छ । आमा शब्द नै त्यस्तो छ, जसको कुनै परिपूर्ति नै हुन सक्दैन । देशकै गहना स्वरका धनी महान गायक  शिशिर योगीकी जन्मदाता आमा, जसले यो संसार छाड्दा सायद गीत गाउँदै गरेको प्यारो छोरालाई याद गर्दै संसार छाड्नुभयो होला । उहाँ महान आमा हुनुहुन्छ, जसले शिशिरजस्ता देशका सपूतलाई जन्म दिनुभयो । उहाँको स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछु । साथै जाँदाजाँदै शिशिर योगीको गीतको एउटा गीत पंक्तिसंगै उनी र उनको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

छोडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप