बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारततर्फको निर्यात १२८ प्रतिशतले बढ्यो, भटमास र पाम तेलले सुधार्‍यो

बिहीबार, २९ पुस २०७८, १६ : ४७
बिहीबार, २९ पुस २०७८

चालू आर्थिक वर्ष २०७८/७९ मा भारततर्फको निर्यात १३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेको देखाएको हो ।
चालू वर्षको पाँच महिना (साउन–मंसिर)मा निर्यात १०५ प्रतिशतले बढेको छ । समग्र निर्यात सुधारिँदा सबैभन्दा बढी भारततर्फको निर्यात सुधारिएको केन्द्रीय बैंकले जानकारी दिएको हो । भारततर्फको निर्यात १३८ प्रतिशतले बढ्दा अन्य मुलुकतर्फको निर्यात भने जम्मा २८ प्रतिशतले बढेको छ । 

चालू वर्षको यस अवधिमा नेपालले १ खर्ब २ अर्बको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को यही अवधिमा नेपालको निर्यात जम्मा ५० अर्ब रुपैयाँ थियो । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ५.१ प्रतिशतको सुधार थियो ।

यो अवधिमा नेपालबाट भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको निर्यात बढेको छ । चालू वर्षको मंसिरसम्म नेपालबाट ३० अर्ब ५५ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । यस्तै, २७ अर्ब १८ करोडको पाम तेल र २ अर्ब २८ करोडको सूर्यमुखि तेल निर्यात भएको छ । यी तीन वस्तुको निर्यात बढ्दा भारततर्फको समग्र निर्यात बढेको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी, यो अवधिमा नेपालबाट धागोको निर्यात बढेको छ । टर्की र भारततर्फ धागोको निर्यात बढ्दा समग्र निर्यात नै सुधारिएको केन्द्रीय बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । यो अवधिमा नेपालबाट ४ अर्ब ७४ करोड रुपैयाँको धागो निर्यात भएको छ । यसका साथै, पाँच महिनाको अवधिमा अलैँची, चिया, जस्तापाता, तार र तामाको तार लगायतका वस्तुको निर्यात भने खुम्चिएको छ ।

निर्यात १०५ प्रतिशतले बढेको समयमा ५९.५ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९.६ प्रतिशतले आयात खुम्चिएको थियो । यस अवधिमा भारतबाट ४४ प्रतिशत, चीनबाट ५७ प्रतिशत र अन्य मुलुकबाट १११ प्रतिशतले आयात बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पाटपुर्जा र कच्चा भटमास तेलको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सूर्ती लगायतका वस्तुको आयात घटेको छ । केन्द्रीय बैंकले कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट निर्यात बढेको जनाएको छ ।

पाँच महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले बढेर ६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा आयात–निर्यात अनुपात १२ः३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो अनुपात ९.५ अनुपातमा थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप