बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेम टुटाएको रिसमा खुकुरीले हिर्काएर हत्या

१७ वर्षपछि एकजना पक्राउ, मुख्य योजनाकार अझै फरार
बिहीबार, २९ पुस २०७८, १५ : २१
बिहीबार, २९ पुस २०७८

उदयपुरको साविक ववला गाविस–७ स्थित कात्तिकेमा २०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मान बहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मान बहादुरको धरान स्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १७ मा मृत्यु भएको थियो ।

त्यसदिन उनलाई आक्रमण गर्ने मध्येका थिए, अहिलेको बेलका नगरपालिका–६ कात्तिके घर भएका गोबिन्द मगर र जयवीर राई उर्फ ‘विजय’ । मान बहादुरलाई ढालेपछि ‘परिवार सखाप पार्छौँ’ भनेर खुकुरी नचाउँदै भागेका उनीहरु मध्येका गोविन्द मगरलाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर बुधवार काठमाडौं ल्याएको छ । हत्या आरोपी मगर अहिले ४० वर्ष भएका छन् ।

हत्यामा संलग्न मुख्य योजनाकार जयवीर अझै फरार छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा मगरलाई पक्रेर काठमाडौंमा ल्याएको नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए ।
उदयपुरस्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा मार्फत इन्टरपोलबाट २०७७ माघ २६ मा उनीविरुद्ध रेड नोटिश जारी भएको थियो ।

प्रेम टुटाउँदा हत्या
मानबहादुर तामाङको छोरी र जयवीर प्रेम सम्बन्धमा थिए । त्यतिबेला छोरीको उमेर थियो–‘१६ वर्ष ।’ २०६१ मंसिर १३ भन्दा केही दिनअघि जयवीरले फकाएर प्रेमिकालाई भगाउने प्रयास गरे । सो कुरा थाहा पाएपछि मानबहादुर र उनकी पत्नीले प्रेम टुटाएर छोरीलाई अर्कैसँग विवाह गरिदिने तयारी गरेका थिए । सो रिसमा जयवीर आफ्ना साथी गोविन्द मगरलाई लिएर साँझ ८ बजेतिर प्रेमिकाको घरमा पुगे । अनि, मानबहादुर तामाङलाई सोधे– ‘तैंले छोरी किन अर्कैलाई दिइस् ?’

जयवीर प्रेमिकाको बुवासँग निहुँ खोज्दै गर्दा गोविन्द मगरले लुकाएर ल्याएको खुकुरी झिकेर मान बहादुरको टाउकोमा हिर्काए । मृतकका छोरा जितबहादुरले प्रहरीलाई बताएअनुसार त्यसपछि जयवीरले गोविन्दको हातको खुकुरी लिएर मान बहादुरको गर्धनमा हिर्काए । तान्दै घरबाट बाहिर निकालेर निर्मम प्रहार गरिरहे । जितबहादुरलाई पनि खुकुरीले हिर्काएर घाइते बनाएपछि उनीहरुले खुकुरी नचाउँदै भने– ‘अब, परिवार सखाप पार्छौँ ।’ त्यसपछि भागाभाग भयो । गाउँलेहरु जम्मा हुँदा आरोपीहरु त्यहाँबाट भागिसकेका थिए ।

भोलिपल्ट उज्यालो भएपछि अस्पताल लैजाँदा मानबहादुर बाँचेनन् । हत्यामा संलग्न मुख्य योजनाकार जयवीरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । घटनाबारे शुरुमा जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको थियो । तर, २०७५ पछि सो अनुसन्धान फाइल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा पठाइएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप