नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारणसभा सम्पन्न
नेपाल क्लियरिङ हाउस लिमिटेडको १० औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैठकले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुको साथै अधिकृत पुँजी रु.१ अर्ब पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ति २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचअन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने निर्णय गरेको छ ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरूको कारोबार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य बृद्धि भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७/७८ मा कम्पनीको खुदनाफा ३८% ले बृद्धि भएको छ । त्यसै गरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ % बराबरको नाफा प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २% ले मात्र बृद्धि भएको छ ।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधिहरु रहेका छन् ।